अशोक लेल्यान्डका थप २० बस साझाले किन्ने

आईएमई ग्रुपअन्तर्गतको आईएमई मोटर्स प्रालिले अशोक लेल्यान्डका २० वटा बस साझा यातायातलाई उपलब्ध गराउने भएको छ । आइएमइ मोटर्स अशोक लेल्यान्डका गाडीहरुको नेपालका आधिकारिक बिक्रेता हो । अशोक लेल्यान्डका २० थान सिटी बस खरिदका सम्बन्धमा साझा यातायातसँग गत शुक्रबार सम्झौता भएको हो ।
भारतको चेन्नईस्थित अशोक लेल्यान्डले साझा यातायातले खोलेको टेन्डर प्राप्त गरी नेपालमा सिटी बस सप्लाइ गर्ने भएको छ । अशोक लेल्यान्ड भारतको १ नम्बर बस बनाउने कम्पनी मध्ये एक हो । भारतका साथसाथै अशोक लेल्यान्डको बाहुल्यता श्रीलंका र बंगलादेशमा पनि राम्रो उपस्थितिका साथ रहेको छ । अशोक लेल्यान्डका बसहरु वातावरणमैत्री तथा अपांगमैत्री रहनेछन् ।
सम्झौतामा साझा यातायातका तर्फबाट निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेय र आइएमइ मोटर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले हस्ताक्षर गरेका हुन् । सो अवसरमा अशोक लेल्यान्ड, इन्डियाका प्रतिनिधि कन्ट्री मेनेजर टोनी गुइनको समेत उपस्थित थए । यो अवसरमा आइएमइ मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेल्यान्डका सिटी बसहरु नेपाली बाटोमा सहरी बाटोको कोशेढुंगा साबित हुने बताए । साझा यातायातद्वारा आयात गरिने बसहरु काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन गरिनेछन् जसका कारण निजी सवारी साधन प्रयोग घट्ने उनको विश्वास छ । सय जनाभन्दा बढी मान्छे बोकेर हिँड्ने साझा यातायातअन्र्तगतको अशोक लेल्यान्डका सिटी बसहरु काठमाडौं भित्रिएपश्चात् अफिस टाइममा हुने जामको समस्या पनि कम हुनेछ र सिट नपाएर दुःख भोग्दै, उभिएर अफिस जानुपर्ने बाध्यता कम हुने शिवाकोटीको भनाइ छ ।
अशोक लेल्यान्डको नेपालका लागि अधिकारिक बिक्रेता आइएमइ मोटर्सले उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गर्ने प्रतिबद्वता जनाएको छ । यस प्रकारको सुविधासम्पन्न र अपांग तथा वातावरणमैत्री बस काठमाडौं महानगरपालिकाको सहयोगमा साझा यातायातले भित्र्याउने भएको छ ।