चीनमा रोकिएका सामान ल्याउन प्रकृया सुरु «

चीनमा रोकिएका सामान ल्याउन प्रकृया सुरु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा-कोरोना भाइरसका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका उपकरण तथा सामान चीनमा नै रोकिएपछि नेपालमा ल्याउन प्रकृया सुरु भएको छ ।
सामान नेपाल पठाउने तयारी हुँदा चीनमा कोरोना भाइरसको जोखिम बढेसँगै यातायात रोकिँदा सामान पनि रोकिएको थियो । तर अहिले चीनमा यातायात सहज भएसँगै त्यहाँबाट विभिन्न सामान तथा उपकरण नेपाल ल्याउने तयारी भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयका प्रमुख प्रवेश अधिकारीले जानकारी ।
“पहिलो चरणमा यसै साता एक्सरे मेसिन र एअर कन्डिसनका उपकरण आउँछन्, ति उपकरण करिब १० कन्टेनर जति हुनेछन्, अहिले प्याकिंग गर्ने काम भइरहेको छ,” आयोजना प्रमुख अधिकारीले भने । कम्पनीले जुन २० मा पठाउने भनेको छ, तर पनि हामीहरू यसै साताभित्र त्यहाँबाट सामान नेपाल पठाउने काम हुनेमा विस्वस्त छौ,” उनले भने । ति सामानहरू बेइजिंगलगायतका स्थानबाट आउनेछन् । चीनमा कोरोना भाइरसका कारण जोखिम बढ्दै जाँदा त्यतिबेला आयात हुन सकेन भने चीनमा सहज हँुदा नेपालमा असहज भइरहेको थियो, त्यसैले उपकरण समयमा आउन सकेन ।
स्थलमार्ग तातोपानी नाका हुँदै ति उपकरण आउने र भैरहवा आयोजना स्थलसम्म आउँदा कम्तिमा पनि ३ साताभित्र सामान आइपुग्नेछन् । कोरोना भाइरस संक्रमणबाट जोगिन सुरु भएको लकडाउनका कारण प्रभावित विमानस्थलको पूर्वाधारको काम त्यहाँ कार्यरत मजदुरलाई बाहिर आउजाउ गर्न नदिई कार्यक्षेत्रलाई नै क्वारेन्टाइन बनाई भइरहेको छ ।
चीनबाट प्रथम चरणमा केही सामान आएपछि टर्मिनल बिल्डिंगमा एक्सरे मेसिन र एसी जडानलाई पूर्णता दिने काम हुनेछ भने दोस्रो चरणमा धावनमार्गको लाइट र ब्यागेज ह्यान्डेलिंग सिस्टमका बाँकी सामान ल्याउने तयारी भइरहेको आयोजना प्रमुख अधिकारीले बताए । “अहिलेसम्म भौतिक पूर्वाधारका काम ९०.५ प्रतिशत सम्पन्न भइसकेको र बाँकी मुख्य काम भनेको पेरिमिटर सडक निर्माण छ,” आयोजना प्रमुख अधिकारीले भने । विमानस्थलमा अहिले भौतिक पूर्वाधारको काम अन्तिमतिर रहेको र बाँकी काम सम्पन्न विभिन्न उपकरण जडान भइसकेपछि हुने प्रकृतिका छन् । अब बाँकी काम भनेको केही पूर्वाधारका र आईसीबी २ अन्तर्गतका उपकरण जडान गर्ने रहेका छन् । आयोजनाको कार्यालय अहिले चीनलगायतका देशमा रहेका बाँकी उपकरण छिटोभन्दा छिटो ल्याउने प्रकृयामा लागेको अधिकारीले बताए ।
आईसीबी २ अन्तर्गतको काम थाईल्याण्डका एरोथाई कम्पनीको हो । यो कम्पनीले आवश्यक मुख्य सामग्री उपकरण कन्ट्रोल टावरको उपकरण, जहाज र ग्राउन्डबीचको समन्वय गर्ने उपकरणलगायतका प्रायः सबै सामान आइसकेको छ । आईसीबी २ का सामान अमेरिका अष्ट्रिया, थाइल्याण्ड, चीन, भारतलगायतबाट आएकोमा केहीमात्र बाँकी छन् । अहिले मुख्य समस्या भनेको भौतिक पूर्वाधार निर्माण र संरचनाभन्दा पनि आईसीबी २ अन्तर्गतका उपकरण जडानका लागि आवश्यक दक्ष प्राविधिकको हो । ति उपकरणमध्ये केही उपकरण जडानका लागि विदेशबाटै दक्ष प्राविधिक ल्याउनु पर्नेछ । तर अहिले कोरोना भाइरसको जोखिमका कारण विदेशबाट दक्ष प्राविधिक आउने सम्भावना छैन र अन्तर्राष्ट्रिय उडान पनि बन्दाबन्दीको अवस्थामा छ । त्यसैले विमानस्थल निर्माण सम्पन्नताका लागि अन्तर्राष्ट्रिय उडान सुरु भएर दक्ष प्राविधिक आउन जरुरी छ, आयोजना प्रमुखले भने ।
कोरोना भाइरस जोखिम कम भई अन्तर्राष्ट्रिय उडान सुरु भएपछिको ६ महिनाभित्रमा सबै काम सम्पन्न भई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य हुनेछ । त्यसपछि परीक्षण उडान गर्न सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्