लमजुङका लागि २० करोड बजेट विनियोजन «

लमजुङका लागि २० करोड बजेट विनियोजन

लमजुङ-गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार लमजुङका स्थानीय तहका लागि २० करोड भन्दा बढि रकम अनुदान प्राप्त हुने भएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले प्रदेश संसदमा पेश गरेको बजेटअनुसार लमजुङलाई २० करोड ६९ लाख १७ हजार रुपैयाँ विनियोजन भएको हो ।
आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेट अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये मस्र्याङ्दी गाउँपालिकाले सबैभन्दा धेरै दुई करोड ७१ लाख ९२ हजार रुपैयाँ बजेट पाउने भएको छ । गाउँपालिकाले प्राप्त गर्ने बजेट मध्ये समानिकरण अनुदानतर्फ एक करोड २१ लाख ९२ हजार, विशेष अनुदान तर्फ ५० लाख र समपुरकतर्फ एक करोड रुपैयाँ विनियोजन भएको छ ।
यस्तै जिल्लाको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले दुई करोड २३ लाख ८९ हजार बजेट पाउने भएको छ । नगरपालिकाले प्राप्त गर्ने बजेटमध्ये समानिकरण अनुदानतर्फ एक करोड २३ लाख ८९ हजार, विशेष अनुदानतर्फ एक करोड विनियोजन भएको छ ।
जिल्लाको राईनास नगरपालिले भने दुई करोड ६९ लाख ४३ हजार रुपैयाँ पाउने भएको छ । जसमध्ये एक करोड १९ लाख ४३ हजार रुपैयाँ समानिकरण र ५० लाख रुपैयाँ सशर्त अनुदानतर्फ रहेको छ भने विशेष अनुदानतर्फ एक करोड रहेको छ । यसैगरी जिल्लाको सुन्दरबजार नगरपालिकाले पाउने दुई करोड ७० लाख ७२ हजार मध्ये एक करोड २० लाख ७२ हजार समानिकरणतर्फ र ५० लाख रुपैयाँ विशेष अनुदान रहेको छ । सुन्दरबजारले समपुरकतर्फ पनि एक करोड पाउने भएको छ ।
यसैगरी मध्यनेपाल नगरपालिकालाई विनियोजित दुई करोड १८ लाख ७१ हजारमध्ये समानिकरण तर्फ एक करोड १८ लाख ७१ हजार रहेको छ । नगरपालिकाले विशेष अनुदानमा एक करोड पाउने भएको छ ।
दोर्दी गाउँपालिकाले दुई करोड ७१ लाख ७७ हजार रुपैयाँ बजेट पाएको छ । जसमध्ये समानिकरणतर्फ एक करोड २१ लाख ७७ हजार, सशर्ततर्फ ५० लाख, विशेषतर्फ ५० लाख र समपुरकतर्फ पनि ५० लाख रुपैयाँ विनियोजन भएको छ ।
जिल्लाको विकट मध्येको दूधपोखरी गाउँपालिकाले भने दुई करोड ७१ लाख २६ हजार रुपैयाँ बजेट पाएको छ । जसमध्ये समानिकरणतर्फ एक करोड २१ लाख २६ हजार, सशर्ततर्फ ५० लाख र समपुरकतर्फ एक करोड रुपैयाँ पाउने भएको छ ।
क्होलासोँथार गाउँपालिकाका लागि दुई करोड ७१ लाख ४७ हजार रुपैयाँ विनियोजन भएको छ । जसमध्ये समानिकरणतर्फ एक करोड २१ लाख ४७ हजार, विशेषतर्फ ५० लाख र समपुरकतर्फ एक करोड रुपैयाँ विनियोजन भएको छ ।
चार वटा नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा नगरपालिकाका लागि मात्रै नौ करोड ८२ लाख ७५ हजार रुपैयाँ विनियोजन भएको छ भने गाउँपालिकाका लागि १० करोड ८६ लाख ४२ रुपैयाँ विनियोजन भएको छ ।
गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट ल्याएको छ । संघीय र अन्य प्रदेशहरुले आउँदो आर्थिक वर्षका लागि बजेटको आकार घटाएका बेला गण्डकी प्रदेशले भने चालू आर्थिक वर्षभन्दा झण्डै २ अर्ब ७१ करोडले वृद्धि गरी बजेट ल्याएको छ । चालू आर्थिक वर्षमा गण्डकीले ३२ अर्ब १३ करोडको बजेट ल्याएको थियो ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्