मेरो माइक्रोफाइनान्सको २५ लाख सहयोग «

मेरो माइक्रोफाइनान्सको २५ लाख सहयोग

नुवाकोट- कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सहयोग प्रदान गरेको छ । माइक्रोफाइनान्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम संघीय सरकारलाई हस्तान्तरण गरेको हो ।
कम्पनीले २५ लाख ६० हजार ७ सय १९ रुपैयाँको चेक राष्ट्रिय वाणिज्य बैंकमा रहेको उपचार कोषको खातामा बिहीवार नै जम्मा गरेको जनाएको छ ।
उक्त रकममा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वसँगै कार्यरत कर्मचारीको ३ दिनको पारिश्रमिकसमेत समावेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जानकारी दिए ।
यससँगै कोरोना पीडित एवम् विपन्न वर्गलाई राहत पु-याउन विभिन्न स्थानीय तहमार्फत् १० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराइसकेको दाहालले जानकारी दिए ।
समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले चालेको पहलमा सहयोग पु-याउन पाउँदा आफूहरुका लागि गर्वको कुरा भएको सीईओ दाहालले बताए । उनले आफूहरु कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक तथा नेपाल सरकारसँग एकजुट भएर काम गर्न प्रतिवद्ध रहेको बताए ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले देशका ५९ जिल्लमा १२० शाखामार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्