निर्यात बढाउन व्यवसायीलाई तालिम

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोंगलले नेपालले बर्सेनि उच्चदरमा वैदेशिक व्यापार घाटा बेहोर्दै आएकाले निर्यातलाई बढावा दिन व्यवसायीहरूलाई आग्रह गरेका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना तथा झापा उद्योग वाणिज्य संघको व्यवस्थापनमा ‘एक्सपर्ट प्रोसुडर मार्केट रिसर्च एन्ड एनालाइसीस’ विषयक तालिमको झापाको बिर्तामोडमा उद्घाटन गर्दै उनले निर्यातलाई बढावा दिन व्यवसायीहरूलाई आग्रह गरेका हुन् ।
निर्यातजन्य नेपाली वस्तुको उत्पादन, प्रशोधन, प्रवद्र्धन एवं बजारीकरणका लागि विविध क्रियाकलाप गर्दै आएको सरकारी निकाय व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको आयोजना तथा झापा उद्योग वाणिज्य संघको व्यवस्थापनमा ‘एक्सपर्ट प्रोसुडर मार्केट रिसर्च एन्ड एनालाइसीस’ विषयक तालिम बिर्तामोडमा आइतबार सुरु गरिएको हो ।
केन्द्रका उपनिर्देशक सिद्धिचरण दाहालले अन्तर्राष्ट्रिय बजारमा कुन उत्पादनको माग छ भन्ने कुरा प्रविधि प्रयोग गरी आफ्नै ठाउँबाट जानकारी लिई आफ्नो उत्पादनको बजार विस्तार गर्न व्यवसायीलाई सक्षम बनाउने र त्यसबाट निर्यात व्यापार वृद्धि गर्ने उद्देश्यले सो तालिम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रमका झापा उद्योग वाणिज्य संघका उपाध्यक्ष बुद्धिप्रसाद घिमिरेले नेपालको वैदेशिक व्यापार घाटाको अवस्था भयावह रहेको बताए । उनले कतिपय अवस्थामा प्रविधिमा पहुँच पुग्न नसक्दा नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुग्न नसकिरहेका बेला व्यवसायीलाई दिइएको तालिम उपयोगी हुने बताए । “नेपालको निर्यात व्यापार घाटा ७ खर्ब नाघिसकेको छ,” उनले भने, “तालिममा सहभागी व्यवसायीहरूले लाभ लिनुपर्छ ।”
उपनिर्देशक दाहालले निकै महत्वपूर्ण मानिएको यस्तो तालिम यसअघि काठमाडौं, नेपालगन्ज, विगराटनगर, वीरगन्ज, भैरहवा, धनकुटा र इलाममा दिइएको बताए । उनले झापापछि कञ्चनपुरका व्यवसायीलाई पनि तालिम दिने तयारी भइरहेको जानकारी दिए ।