एनआईसी एसिया बैंकको मलेसियाबाट रेमिटेन्स सुरु

एनआईसी एसिया बैंकले म्याक्स मनीसँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट फागुन २७ मा स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सूचना अधिकारी) सुधीर नाथ पाण्डेले बताए । उक्त सम्झौताअनुसार म्याक्स मनीको मलेसियामा अवस्थित २१ वटा शाखाबाट नेपालमा रहेका आफन्तहरू वा अन्य व्यक्तिहरूले भुक्तानी पाउने गरी एनआईसी एसिया रेमिटमार्फत पठाएको विप्रेषण रकम बैंकका मुलुकभर फैलिएको १ सय ८४ वटा शाखा र ४ हजार ६ सयभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत सरल र सुलभ रूपमा भुक्तानी पाउन सकिनेछ ।
साथै, पाण्डेका अनुसार एनआईसी एसिया बैंक र एमएन्डएम रेमिटबीच पनि रेमिटेन्स सम्झौता भएको छ । एनआईसी एसिया बैंक र एमएन्डएम मौरिससबीच कतार, यूएई, साउदी अरब र मौरिससबाट एमएन्डएम रेमिटमार्फत नेपालमा रहेका आफन्तहरू वा अन्य व्यक्तिहरूले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । बैंकले यस सम्बन्धमा एमएन्डएम रेमिटसँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै यी देशहरूबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको उनले बताए ।