नबिलको प्रादेशिक कार्यालय «

नबिलको प्रादेशिक कार्यालय

देशको आर्थिक विकास र समृद्धिको नारा चर्की राखेको अवस्थामा अझै पनि धेरै निजी क्षेत्रका बैंक तथा वित्तीय क्षेत्रहरूको आर्थिक कारोबार केन्द्र वा संघ राज्यबाटै हुने गरेको अवस्थामा नबिल बैंकले नयाँढंगले सुरुवात गरेको छ । नबिल बैंकले प्रदेश नम्बर ४ मा पहिलो पटक आफ्नो प्रादेशिक कार्यालय स्थापना गरेर यहाँको आर्थिक विकास समृद्धिमा टेवा पुराउने उद्देश्यले उक्त कार्यालय स्थापना गरिएको बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बताए ।
आवश्यक बैंकिङ सुविधाहरू व्यावसायिक एवं प्रभावकारी रूपमा प्रदान गर्न र समाजका बृहत् एवं छरिएर बसेका समुदायको बैंकिङ आवश्यक्ता घरदैलोमै परिपूर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले आफूहरू प्रादेशिक संरचनामा गएको अध्यक्ष पौड्यालले बताए । अब यहाँको आर्थिक विकास र समृद्धि तथा पर्यटन पूर्वाधारमा आवश्यक वित्तीय सेवा सुविधा पोखराबाटै लागू हुने भएकाले यसले धेरैलाई फाइदा पुग्ने उनले दाबी गरे । उनले भने, “पोखरामा योग्यता देखाउन सक्ने, क्षमता भएका योग्य मान्छेहरू भएकाले गर्दा हामीले यहाँको सीपकलालाई प्रोत्साहन गर्न पनि प्रादेशिक रूपमा पहिलो पटक पोखरा आएकाहौं ।”

यसैबीच, पोखराको न्युरोडमा स्थापना भएको उक्त प्रादेशिक शाखाको एक समारोहबीच बिहीबार पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मेयर जिसीले पोखरामा लगानी मैत्रीवातावरण तयार गर्न उक्त बैंकलाई आग्रह गरे । उनले भने, “संघीयतालाई कार्यान्वयन गर्न आर्थिक समृद्धि र विकास गर्नुपर्छ, यसमा अब बैंकहरूले आर्थिक विकास समृद्धि हुने गरी सहज र सहुलियत दरमा ऋण लगानी गर्नुपर्छ, यसका लागि हामीले लगानी मैत्रीवातावरण मिलाउने गरी नियम र ऐनहरू ल्याउँदैछौं ।” अब पोखरामा पनि अपाटमेन्टहरू बनाएर डलरमा बिक्री गर्न सकिने उनले जनाए । उद्यमशीलता र स्वरोजगार एंव आत्मनिर्भर बनाउन बैंकहरूले लगानी गर्नुपर्ने मेयर जिसीले बताए ।

साथै बैंकले पोखराको तालचोक, बगर र अमरसिंहचोकमा नयाँ शाखाहरूको समेत उद्घाटन गरिएको छ । थप ३ नयाँशाखासहित पोखरामा नबिलको बैंकको ५ वटा शाखा विस्तार भएको छ । नबिल बैंकले ६२ वटा शाखाबाट कारोबार गर्दै आएको छ भने १ सय ५ वटा एटीएम सेवा, र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदानगर्दै आएको बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । बैंकले हाल ४ अर्ब ६० करोड ऋण लगानी गरेको छ भने ४ अर्ब ८० करोड कर्जा संकलन गर्न सफल भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्