रुकुम पश्चिम घटना : अदालतमा अभियोगपत्र दर्ता «

रुकुम पश्चिम घटना : अदालतमा अभियोगपत्र दर्ता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाको सन्दर्भमा आईतबार रुकुम जिल्ला अदालत रुकुम पश्चिममा अभियोग दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान सकाएर सरकारी वकिल कार्यालय मार्फत अदालतमा अभियोग दायर गरेको हो ।
जिल्ला अदालत रुकुम पश्चिमका श्रेस्तेदार कृतबहादुर बोहराका अनुसार उक्त घटनामा ३४ जना बिरुद्ध बिभिन्न ३ वटा कसुरहरु दर्ता भएका छन् । घटनामा संलग्न भनिएका ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछूत तथा भेदभाव कसुरमा अभियोग दर्ता गरिएको छ भने एक जनालाई उक्त कसुरहरुको मतियार अभियोग लगाईएको छ । जसमा क्रुर यातना दिएर हत्या गरिएको दाबी सहित जन्मकैद सम्मको सजाय र क्षतिपूर्ति माग गरिएको छ ।
घटनामा संलग्न भनिएका र अभियोग दर्ता गरिएका मध्य २९ जना पक्राउ परिसकेका छन भने अन्य ५ जना फरार रहेका छन् ।
रुकुम जिल्ला अदालतले उक्त घटनाका प्रतिवादीमध्ये दुईको बिषयमा सोमबार नै अन्तरिम आदेश जारी गरेको छ । उनीहरु नाबालक भएका कारण बालबालिका ऐन अनुसार पहिलो प्राथमिकता राखेर मुद्धाको बिषयमा आदेश भएको हो । सोमबार भएको प्रतिवादीको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश विद्याराज पौडेलले दुई बालबालिकालाई बाल सुधारगृहमा पठाउन आदेश दिएका हुन् ।
दुई मध्य एक जना मृतक नबराजकी प्रेमिका भनिएकी १७ बर्षिय बालिका हुन भने अर्का एकजना पनि उनकै परिवारका सदस्य हुन् । अनुसन्धान प्रतिवेदन, प्रतिवादीले अदालतमा दिएको बयान र विभिन्न मुचुल्का तथा प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने र मुद्धाको अन्तिम टुंगा लगाने सम्म बालबालिका ऐन अनुसार दुई जना प्रतिबादीलाई मुद्दा पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन अदालतले आदेश दिएको अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।
अदालतको आदेशसँगै जिल्ला प्रहरी कार्यालयले यसका लागि बाल सुधार गृहमा समन्वय थालेको बताइएको छ । अन्य प्रतिबादीहरुको पनि अब क्रमशः बयान लिने काम शुरु हुने अदालतले बताएको छ । प्रतिबादीहरुको संख्या धेरै भएका कारण बयानमा नै लामो समय लाग्ने देखिन्छ । जसले गर्दा प्रतिबादीहरुको थुनछेक बहस समेत एक साता बढी समयमा मात्र हुने संभावना देखिन्छ ।
मृतकहरुको पोष्टमार्टम रिपोर्ट पनि आएर उक्त रिपोर्ट अभियोगपत्रको साथमा प्रमाणको रुपमा प्रहरीले पेश गरेको छ । पोस्टमार्टम रिपोर्टमा मृतक ६ जनाकै शवमा चोटपटक लागेको उल्लेख गरिएको छ । तर सबैको मृत्युको सम्भाबित कारण भने डुबेको नै उल्लेख छ ।
अभियोगपत्रमा भने शवको केहि ठाउँमा शक्तिशाली प्रहार भएको, घाउचोट लागेको तथ्य स्थापित भएको भन्दै मृतकहरुको मृत्यु अभियुक्तहरुले उक्त घटनामा समयमा प्रहार गरेका चोट समेतबाट भएको स्पष्ट देखिएको दावी गर्दै कर्तव्य ज्यानको मुद्दा चलाउन राय दिए बमोजिम मुद्दा दर्ता भएको देखिन्छ ।
उता आफूहरुले देखे अनुसारको पोष्र्टमार्टम रिपोर्ट नआएको, चिकित्सकहरुले गलत रिपोर्ट दिएको भन्दै मृतक परिवारले बिरोध जनाउँदै जाजरकोट स्वास्थ्य सेवा कार्यालयमा तोडफोड समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्