रेमिट्यान्स ४५ अर्बले घट्यो «

रेमिट्यान्स ४५ अर्बले घट्यो

चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्ममा स्वदेश भित्रिने रेमिट्यान्स गत आर्थिक वर्षको वैशाखसम्मको तुलनामा ६.१ प्रतिशतले अर्थात् करिब ४५ अर्बले घटेको छ । गत आर्थिक वर्षको वैशाखसम्ममा ७ खर्ब २५ अर्ब ३० करोड रेमिट्यान्स नेपाल भित्रिएकोमा चालू आर्थिक वर्षको वैशाखसम्ममा जम्मा ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँमात्र भित्रिएको नेपाल राष्ट्र बैकले जनाएको छ । गत आर्थिक वर्षको वैशाखमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । चालू आवको १० महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो ।
कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्र नै संकटमा हुनुका साथै वैदेशिक रोजगारीमा गएका नेपाली स्वेदश फिर्ता हुने क्रम वढेपछि रेमिट्यान्स आप्रवाह पनि घटेको हो । राष्ट्र बैकका अनुसार चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्ममा उपभोक्ता मूल्यवृद्धि घटेको छ । सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन गरी आर्थिक गतिविधि ठप्प भएको वैशाख महिनाको उपभोक्ता मुद्रास्फीति ५.८३ प्रतिशत रहेको हो । २०७६ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो । तर, गत आर्थिक वर्षको वैशाखको तुलनामा भने मूल्यवृद्धि बढेको केन्द्रीय बैंकले जनाएको छ । २०७७ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा मुद्रास्फीति ५.२९ प्रतिशत रहेको थियो ।
वैशाख महनिामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.६६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य ृद्धि उच्च रहेको छ ।
चालू आर्थिक वर्षको १० महिनासम्ममा आइपुग्दा मुलुकको शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड बचतमा रहेको छ । चालू आर्थिक वर्षको नौ महिना अर्थात चैतमा ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति वैशाखमा उच्च दरमा वढेको हो । आयातमा भएको नियन्त्रणका कारण शोधनान्तर बचत एक महिनामा नै ८४ अर्बभन्दा धेरैले वढेको हो । चालू आर्थिक वर्षको वैशाखसम्ममा चालू खाता घाटा १ खर्ब ५ अर्ब ७४ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब २१ अर्ब ७७ करोड रहेको थियो ।
चालू आवको वैशाखसम्ममा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा चालू आवको वैशाखसम्ममा १ अर्ब १ करोडले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, २०७६ असार मसान्तमा १०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई २०७७ वैशाख मसान्तमा १२३५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ वैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको छ । चालू आवको वैशाखसम्ममा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३२.८ प्रतिशत, ८९.७ प्रतिशत र ३१.२ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्