कर्जाको माग बढ्न थाल्यो «

कर्जाको माग बढ्न थाल्यो

सरकारले तोकेको लकडाउनको अवधि नसकिँदै बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढेको देखिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन सुरु गरेपछि नयाँ कर्जा जारी नगरेका बैंकहरूमा पछिल्लो समयमा कर्जाको माग बढेको हो । सरकारले कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । चैतपछि बैंकहरूमा १३६ अर्ब निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरूले १३ अर्बमात्र कर्जा प्रवाह गरेका छन् ।
वैशाख र जेठ महिनामा मात्रै बैंकहरूमा ८७ अर्ब निक्षेप थपिएको छ भने २९ अर्बले कर्जा घटेको छ । लकडाउन नै भए पनि बैंकहरूले केही कर्जा असुल गर्दा कर्जाको रकम घट्न गएको हो । पछिल्लो एक महिना अर्थात जेठ महिनामा ६२ अर्ब निक्षेप थपिदा २० अर्ब कर्जा घटेको देखिन्छ । जेठ ३० गतेसम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन ३२ खर्ब ७६ अर्ब रहेको छ भने कुल कर्जा प्रवाह २८ खर्ब १६ अर्ब रहेको छ । चालू आर्थिक वर्षको सुरुवात अर्थात २०७६ साउन १ गते बैंकहरूमा २८ खर्ब ७८ अर्ब निक्षेप थियो भने त्यस अवधिमा बैंकहरूले २४ खर्ब ९८ अर्ब कर्जा परिचालन गरेका थिए ।
चालू आर्थिक वर्षमा बैंकहरूमा ३९८ अर्बले निक्षेप बढेको छ भने ३१८ अर्बले कर्जा बढेको छ । लकडाउन अगाडि बैंकहरूमा निक्षेपको भन्दा कर्जाको वृद्धिदर बढी हुने गरेको थियो । लकडाउन अवधिमा निक्षेप थपिने, कर्जा रोकिने तथा केही कर्जाहरू असुल समेत भएपछि निक्षेप र कर्जाको वृद्धिको खाडल सन्तुलनमा आएको देखिन्छ । सरकारले लकडाउन खुकुलो बनाउँदै लगेकाले आर्थिक क्रियाकलापहरू बढ्दै जाँदा बैकहरूमा कर्जाको माग बढ्दै जाने बैंकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्