Logo

प्रदेश ५ मा ३६ अर्बको बजेट, भौतिक पूर्वाधार प्राथमिकतामा

भैरहवा-प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ । बजेटले पूर्वाधार विकास, स्वास्थ्य, कृषि, शिक्षा, पर्यटनलाई महत्व दिइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गरे । चालू आवमा बजेटको आकार ३६ अर्ब ४१ करोड रुपैयाँ थियो ।
बजेटमा चालू खर्चतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३६.६४ प्रतिशत) र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) रहेको छ ।
स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड ५० हजार विनियोजन बजेटले गरेको छ । वित्तीय हस्तान्तरणको अंश कुल बजेटको १४.१४ प्रतिशत रहेको छ । नेपाल सरकारबाट प्रदेश सरकारलाई प्राप्त हुने रकममा कमी आएको भए पनि जनताको नजिकको सरकारलाई स्रोत साधन सम्पन्न बनाउन प्रदेश सरकारबाट स्थानीय तहहरूलाई उपलब्ध गराइने अनुदान रकममा चालू आर्थिक वर्षको भन्दा १७ प्रतिशतले वृद्वि गरी ५ अर्ब १४ करोड पु¥याएको मुख्यमन्त्री पोखरेलले बताए ।
बजेटमा खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट २ अर्ब ३ करोड ७७ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँडबाट ८८ करोड ५६ लाख, वित्तिय समानीकरण अनुदानबाट ७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८१ करोड ३६ लाख, समपुरक अनुदानबाट ४८ करोड ३३ लाख, बिशेष अनुदानबाट २१ करोड र चालू आर्थिक वर्षको बचत रकम ७ अर्ब ९४ करोड ५० लाख अनुमान गरिएको छ ।
बजेटले भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटनलगायतलाई प्राथमिकता दिएको मुख्यमन्त्री पोखरेलले बताए । भौतिक पूर्वाधार विकासतर्फ १५ अर्ब २ करोड २४ लाख विनियोजन गरेको छ भने सामाजिक विकासतर्फ ५ अर्ब ६७ करोड ५९ लाख विनियोजन गरेको छ । कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि स्रोतको अभाव हुन नदिन भैपरी आउने खर्चमा १ अर्ब रहने प्रबन्ध बजेटले गरेको छ । भूमिव्यवस्था, कृषि तथा सहकारीतर्फ ४ अर्ब ८६ करोड ३५ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण क्षेत्रको लागि २ अर्ब ९१ करोड ६९ लाख विनियोजन प्रदेश ५ को बजेटले गरेको छ । प्रदेश ५ मा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म प्रदेश सरकारको कुल खर्च विनियोजित बजेटको ४४.८४ प्रतिशत रहेको छ । जसमध्ये चालू खर्च ४३.९४ प्रतिशत र पुँजीगत खर्च ४५.७१ प्रतिशत रहेको छ ।
संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा कोभिड–१९ महामारीको नियन्त्रण र रोकथामको कामलाई उच्च प्राथमिकता दिंदै सकेसम्म छिटो स्थितिलाई सहज बनाउँदै लगिने बजेटमा उल्लेख छ । बजेटमा कोभिड–१९ को महामारीका कारण उत्पन्न आर्थिक संकटको कारणले चालू आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब ४ करोडमा सीमित हुने अनुमान र नेपालको अर्थतन्त्रमा यस प्रदेशको योगदान १४.२ प्रतिशत हुने र प्रदेश अर्थतन्त्रको आकार ५ खर्ब ३४ अर्ब ११ करोड हुने अनुमान छ । अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएका कारणले यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर २ प्रतिशतको हाराहारीमा सीमित हुने अनुमान बजेटले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्