भियना विश्वकै बस्न लायकको सहर

भियना-गत वर्षझै यो वर्ष पनि अस्ट्रियाको राजधानी भियना विश्वकै बस्न लायकको सहर भएको छ । इराकको राजधानी बगदाद बस्नका लागि विश्वकै खराब सहर भएको परामर्शदातृ फर्म मर्सरले गरेको वार्षिक सर्भेले देखाएको छ ।
२३१ सहरमा गरेको मर्सरको सर्भेले कम्पनीहरु र संगठनलाई अन्तर्राष्ट्रिय कर्मचारीहरुलाई पारिश्रमिक र भत्ता निश्चित गर्नका लागि सहयोग गरेको छ । राजनीतिक स्थायित्व, स्वास्थ्य सेवा, शिक्षा, अपराध, मनोरन्जन र यातायात जस्ता विषयलाई आधार मानेर मर्सरले यो नतिजा सार्वजनिक गरेको हो ।
विश्वका उत्कृष्ट १० बस्न लायकका सहरहरुमा युरोपकै ८ सहर परेका छन् । जर्मनी र स्वीट्जरल्यान्ड प्रत्येकमा तीन–तीन सहर रहेका छन् । न्युजिल्यान्ड, क्यानडा र अस्ट्रेलिया प्रत्येकमा एक–एक सहर उत्कृष्ट १० मा परेका छन् ।
१८ लाख जनसंख्या भएको भियनाले सर्भेमा लगातार नवौ वर्षमा पहिलो स्थान हासिल गरेको छ । मिलनसार सांस्कृति अवस्था, बृहत् स्वास्थ्य सेवा र अनुकुल अवस्थाको आवासको खर्च लागयका विषयले भियनालाई विश्वकै उत्कृष्ट बस्न लायकको सहर बनाएको हो ।यो मामिलामा स्वीट्जरल्यान्डको जुरिच र न्यूजिल्यान्डको अकल्यान्ड दोस्रो स्थानमा र जर्मनीको म्युनिख तेस्रो स्थानमा परेका छन् ।
भ्यानकुभर पाँचौ स्थानमा परेको छ । यो सहरले उत्तर अमेरिकामै उत्तम जिवनस्तर दिएको् छ । यसैगरी २५ औं स्थानमा रहेको सिंगापुर एसियाकै बस्न लायकको सहर भएको छ भने मोन्टेभिडियो ७७ औं स्थान सहित ल्याटिन अमेरिकाकै बस्न लायकको सहर भएको छ । यो मामिलामा अफिकाकै उत्कृष्टमा दक्षिण अफ्रिकाको डर्बान ८९ औं स्थानमा परेको छ ।
बेलायतले युरोपेली संघ छोड्नु १ वर्ष पूर्व लन्डन १ स्थान तल झरेर ४१ औं स्थानमा कायम भएको छ ।
“संयुक्त अधिराज्यका सहरहरु लगातार उच्च कोटिको जिवनस्तर भएका सहरमा पर्दैै आएका छन् र बहुराष्ट्रिय र उनीहरुका कर्मचारीका लागि आकर्षक गन्तव्य बन्दै आएका छन्,” मर्सरको ग्लोबल मोबिलिटी प्राक्टिस लिडर फर ब्रिटेन एन्ड आयरल्यान्डका केट फिजप्याट्रिकाले बताए ।
विगतका २० वर्षको अवधिमा पूर्वी युरोपका सहरहरु जस्तै साराजेभो (१५९) र ब्राटिस्लाभा (८०) मा जिवनस्तरमा सुधार आएको प्रतिवेदनले जनाएको छ ।बगदाद सूचीको पुछारमा परेको छ । बगदाद लगातार १ दसकको अवधिसम्म पनि सूचीको पुछारमा परेको हो । २००३ मा अमेरिकी नेतृत्वको अतिक्रमण भएयता यो सहरमा लगातार हिंसात्मक गतिविधि हुदै आएको छ । यमनको राजधानी साना बगदाद भन्दा २ स्थान माथि रहेको छ भने सिरियाको दमास्कस सूचीको छैटौ खराबमा परेको छ ।