पूर्ववत रुपमा नै बैंकिङ सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन «

पूर्ववत रुपमा नै बैंकिङ सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पूर्ववत रुपमा नै सेवा प्रदान गर्न निर्देशन दिएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै राष्ट्र बैंकले पनि बैंक वित्तीय संस्थालाई पूर्ण सेवा दिन निर्देशन दिएको हो ।
कारोबार संक्रमणलाई नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेको समयमा समेत बैंकहरुलाई एक तिहाइ कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न भनेको थियो । सोही अनुसार बैंक वित्तीय संस्थाले आफ्ना सेवालाई निरन्तरता दिँदै आएका थिए । सरकारले लकडाउन खुकुलो गर्ने तथा सोमबारदेखि लकडाउनलाई निरन्तरता भन्दा पनि अर्थतन्त्र चलायमान गर्न जोड दिएपछि बैंक तथा वित्तीय संस्थालाई पूर्णकालिन सेवा दिन केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई सोमबारदेखि साविकको कार्यालय समय बमोजिम कार्यालय सञ्चालन गर्ने निर्देशन दिएको छ । त्यसैगरी राष्ट्र बैकले सेवाग्राहीको चाप मूल्यांकन गरी बढी भिडभाड हुने स्थानहरुमा आवश्यकता अनुसार सिफ्ट अनुसार कामका व्यवस्था गरी बिहान ८ बजेदेखि साँभm ६ बजेसम्म सेवा प्रदान गर्ने सुनिश्चितता गर्ने समेत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
सेवाग्राहीलाई भिडभाड नहुने तथा दूरी कायम हुने गरी लामबद्ध हुने व्यवस्था मिलाइ सेवा प्रदान गर्ने निर्देशन दिएको केन्द्रीय बैंकले कोरोना संक्रमणको जोखिमलाई भने पूर्ण सुरक्षाका उपायहरु अपनाउन भनेको छ । बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु स्यानिटाइजर, मास्क, डिसइन्फेक्टेन्ट, थर्मल स्क्यानिीङ, ह्याण्ड ग्लोभ्स लगायत अनिवार्य रुपमा प्रयोग गर्न केन्द्रिय बैंकले भनेको छ ।
केन्द्रीय बैंकले कोरोना संक्रमणको जोखिम नभएका अन्य विकल्प जस्तो विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्ने समेत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यसका साथै केन्द्रिय बैंकले लकडाउनका लागि परिवर्तन गरेको रियल टाइम सेलमेन्ट प्रणालीको समेत कारोबार समय पूर्ववत रुपमा हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्