सेयर बजारको भविष्य

नयाँ सरकार गठन भएसँगै नेपालको सेयर बजार अहिले निकै चर्चामा आएको छ । सेयर बजारमा लगानी गर्नेहरूको संख्या बढिरहेको भए पनि सेयरमा सुझबुझका साथ समयमै लगानी गर्नेहरूले प्रशस्त फाइदा उठाउन सक्ने तर सेयर बजारसम्बन्धी ज्ञानको अभावमा हचुवा वा अनुमानको भरमा लगानी गर्नेहरू पछाडि पर्ने गरेको विश्व सेयर बजारको इतिहासलाई भने त्यति ध्यान नदिएको देखिन्छ । हुन त सेयर बजारमा अहिले पहिलाजस्तो घण्टौंसम्म लाइनमा बसेर सेयरका लागि फारम बुझाउनुपर्ने परिस्थितिको अन्त्य भएको छ । संसारको जुनसुकै देशमा पनि सेयर बजार त्यहाँको सरकारले लिने आर्थिक नीतिलाई हेरेर घटबढ हुने गर्छ । सेयर खरिद गर्दा बढेको आधारमा नभई कम्पनीको वित्तीय अवस्था हेरिकन खरिद गर्नुपर्छ । कम्पनीमा कसको लगानी छ, कस्ता मानिसहरूले कम्पनी सञ्चालन गरेका छन्, कम्पनीको व्यवस्थापन पक्ष कस्तो छ, कम्पनीले कहाँ–कहाँ लगानी गरेको छ भन्नेजस्ता पक्षहरूलाई राम्रोसँग बुझेर मात्र लगानी गर्ने हो भने सेयर बजारको लगानी फलदायी हुन सक्छ । साथै, सरकारको आर्थिक नीतिमा सुधार हुँदै गयो भने सेयर कारोबार पनि बढ्दै जान्छ । सेयर बजार बढ्नु भनेको धेरै लगानीकर्ताले सेयर बजारमा प्रवेश गर्नु हो । जब लगानीकर्तामा सेयर बजारमा लगानी गर्ने आत्मबल बढ्छ तब सेयर बजारमा उनीहरू आकर्षित हुन्छन् । जब नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्छन् तब सेयर बजारका लागि यो विषय निकै सकारात्मक हो ।
बजारमा आउँदा लगानीकर्ता निकै चनाखो हुनुपर्ने अवस्था विद्यमान छ र सेयरमा लगानी गर्ने यो उपयुक्त समय हो पनि भनिन्छ । अहिले मुलुकमा तीनै तहको निर्वाचन सम्पन्न भई दुईतिहाइ बहुमतसहितको स्थायी सरकार बनेको छ । फलस्वरूप नेपालको आर्थिक विकासमा स्थिरता कायम हुने अपेक्षा गर्न थालिएको छ । तर, विगत केही वर्षदेखि पूर्ण बजेट आउन नसक्नु, सेयर बजारसँग सम्बन्धित ऐन–नियमहरूमा समयसापेक्ष आवश्यक सुधार नहुनु, सेयर बजारलाई नजिकबाट सकारात्मक तवरले हेर्न सक्ने वातावरण निर्माण नहुनुजस्ता कारणले नेपाली सेयर बजारको भविष्य उज्ज्वल र स्थायी अझै देखिएको छैन । अर्कातर्फ बैंक तथा वित्तीय संस्थामा अहिले लगानीयोग्य पुँजी (तरलता) को अभाव देखिएकाले यसको समाधान नभएसम्म तत्काल सेयर बजार पनि सुधार हुने अवस्था देखिँदैन । बजारमा तरलता संकटले ब्याजदर बढेकाले यसको असर नेपाली पुँजीबजारमा देखिएको छ, जहाँ तरलता र पुँजीबजारको सदा नकारात्मक सम्बन्ध हुने भएकाले यसको समाधान नहुँदासम्म सेयर बजार बढ्ने सम्भावना हुँदैन । त्यस्तै यतिबेला लगानीकर्ताले लाभांश र हकप्रद सेयर सुरक्षित गरेपछि सेयर बेच्ने गरेकाले पनि सेयर बजारमा लगानीको अभाव हुन गई ओरालो लाग्ने क्रम सुरु भएको हो ।
पुँजीबजारलाई सकारात्मक बनाउन नयाँ सरकारले समयमै आवश्यक नीति निर्माण गर्नु जरुरी देखिन्छ । नयाँ सरकारले कस्तो नीति अख्तियार गर्ने हो भन्नेमा लगानीकर्ताहरू अहिलेसम्म अन्योलमै रहेका छन् । जबसम्म ब्रोकरहरूको क्षमता विस्तार हुँदैन, तबसम्म बजार अस्थिर नै रहने हुँदा बजार विकासका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने कुरा पनि नेपाली अर्थबजारमा उठिरहेको छ । यसरी अहिले सेयर बजारमा केही अंकको तलमाथि हुनु स्वभाविक देखिए पनि त्यो बजारको स्वरूपमा लगातार ठूलो अंकमा गिरावट आउनुले समग्र देशको अर्थतन्त्र र लगानीकर्ताको समेत हित नगर्ने निश्चित देखिन्छ ।
नयाँ सरकारले कस्ता खालका आर्थिक नीतिहरू अवलम्बन गर्ने हो, अहिलेसम्म कसैलाई थाहा छैन । त्यसैले लगानीकर्ताहरू आफ्नो लगानीलाई ‘पर्ख र हेर’ को स्थितिमा राखेर बजार नियालिरहेका छन् । सेयर बजारको दीर्घकालीन प्रतिफल राम्रो हुने भएकाले लगानी गरेपछि छोटो समयमै फाइदा लिन सकिने हुँदा मानिसहरू सेयरप्रति आकर्षित हुने गरेका छन् ।
नेपालको सेयर बजार अरू देशसँगको तुलनामा त्यति व्यवस्थित छैन । तर, नेपालको सेयर बजार क्रमिक रूपमा सुधार हुँदै आएको भने अवश्य हो । धितोपत्र बोर्डले सेयर बजारलाई व्यवस्थित गर्न देखाएको अग्रसरता, नेप्सेमा भएको क्रमिक सुधार, ब्रोकरहरूले गरेको लगानीलाई प्रोत्साहनजस्ता कारणहरूबाट नेपालको सेयर बजार बिस्तारै आधुनिक बन्दै छ । बजारमा लगानीकर्ताले जहिले पनि आफूले अधिकतम नाफा आर्जन गरौं भन्ने उद्देश्य राखेका हुन्छन् । तर, हामीले गरेका सबै लगानीमा फाइदा नै हुन्छ भन्ने छैन । त्यसमा पनि सेयर बजारको लगानी निकै जोखिमपूर्ण हुने गर्छ । बजारको पछिल्लो अवस्था हेर्दा लगानीकर्ता कम्पनीको वर्तमान स्थिति हेर्नुभन्दा पनि हकप्रद सेयरको पछाडि बढी लाग्ने गरेको देखिन्छ । यसरी गरिएको लगानीले केही समय सीमित व्यक्ति तथा संस्थालाई फाइदा पुगे पनि बजारको दिगो विकास भने हुन सक्दैन । त्यसैले सेयर बजारमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था, सञ्चालक समितिको विश्वसनीयता, कम्पनीले गर्ने कार्यलगायतका विविध पक्षमा राम्रोसँग जानकारी लिएर मात्र लगानी गर्नु बुद्धिमानी ठहर्छ ।
नेप्सेमा दैनिक सामान्य उतारचढाव देखिएको भए पनि कारोबार न्यून बन्दै गइरहेको छ । भूकम्प, भारतीय नाकाबन्दी, तरलता, निर्वाचन, सेयर बजार प्रभावित पार्ने राष्ट्र बैंकको नीति, नयाँ सरकार गठनलगायतका पक्षहरूले अहिले पनि सेयर बजारलाई प्रभावित पारिरहेका छन् । यस्तो अवस्थामा विशेष गरी अहिले लगानीकर्ताले अध्ययन गर्ने भनेको बिमा कम्पनीले चुक्ता पुँजी बढाउँदा आफ्नो लगानीको सेयर कति मात्रामा बढ्छ र बजारमा त्यसको मूल्य कति कायम भएमा फाइदा हुन्छ भन्ने हो । त्यसैगरी बिमा कम्पनीको व्यापार कसरी बढ्दै छ भन्ने पनि महत्व पूर्ण हुने देखिन्छ । अर्कातर्फ बैंक तथा वित्तीय संस्थाहरूको सेयर खरिद गर्दा आगामी दिनमा धेरैले नगद लाभांश दिन सक्ने भए पनि संस्थाको निक्षेप, कर्जा, समग्र व्यापार र नाफामा भएको बढोत्तरी, बढ्दो सञ्चिति कोष र घट्दो खराब कर्जालाई मध्यनजर गरेर मात्रै सेयर खरिद गर्दा घाटा हुने सम्भावना न्यून रहन्छ ।
आगामी दिनमा सेयर बजार बढ्नका लागि अनलाइन ट्रेडिङको कार्य अघि बढाउनुपर्ने र ब्याजदरमा कमी आउनुपर्नेजस्ता प्रमुख कुराहरू कार्यान्वयन हुन नसके बजार एकाएक माथि जान सक्दैन । त्यस्तै भर्खर मात्रै संघीयता कार्यान्वयन गर्दै गरेको नेपालले भौतिक संरचना निर्माणमा ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थिति र निर्वाचनमा भएको खर्चले पनि सेयर बजार प्रभावित हुने देखिन्छ भने चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्या उनुपर्ने भएकाले अब नगद लाभांश मात्र दिन सक्ने आकलनले पनि सेयर बजारलाई माथि जान रोकेको जस्तो देखिएको छ । त्यस्तै लगानीकर्ताले चर्को ब्याजको ऋण नभएर आफूसँग बचतको रकम सेयरमा लगानी गर्ने मानसिकता बनाउँदै जानुले पनि सेयर बजारमा लगानी बढ्न नसकेको हो । चर्को ब्याजदरमा ऋण लिएर सेयर बजारमा लगानी गर्दा सेयर बजारको सुनिश्चितता वा स्थिरता नहुने भएकाले लगानीकर्ताहरूका लागि पनि बढी जोखिम हुन्छ । त्यसैले नयाँ सरकारले यथाशक्य छिटो आफ्नो आर्थिक नीति सार्वजनिक गर्ने, लगानीकर्ताहरूको लगानीको सुनिश्चितता गर्ने, सेयर बजारलाई आधुनिकीकरण गरी झन्झटिलो प्रक्रियाको अन्त्य गर्ने र बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक मितव्ययिताको अवलम्बन गर्ने हो भने मात्रै नेपाली सेयर बजारको भविष्य सुन्दर बन्न सक्छ ।
(लेखक अधिवक्ता हुन् ।)