व्याजदर घटाउँदै लैजाने नीति लिन सुझाव «

व्याजदर घटाउँदै लैजाने नीति लिन सुझाव

नेपाल उद्योग परिसंघले मौद्रिक नीतिले लगानी प्रवद्र्धन गर्न व्याजदर घटाउँदै लैजाने नीति लिनु पर्ने जनाएको छ ।
नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७७-०७८ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत उच्चपदस्थ अधिकारीहरु समक्ष सुझाव प्रस्तुत गर्दै मौद्रिक नीतिले लगानी प्रवद्र्धन गर्न व्याजदर घटाउँदै लैजाने नीति लिनुपर्ने जनाएको हो । यसअघि नै राष्ट्र बैंकले यसतर्फ चालेको कदम स्वागत योग्य भएपनि पर्याप्त नभएको भन्दै परिसंघले त्यसतर्फ थप नीतिगत सुधारको आवश्यकता रहेको जनाएको छ ।
हालको विषम परिस्थितिमा व्याजलाई पुँजीकरण गर्ने, कर्जाको समय बढाउनु पर्ने, थप कर्जा लिने व्यवस्था समेत सहज बनाई ऋणको पुनरसंरचना गरिनु पर्ने व्यवस्थाको समेत परिसंघले माग गरिएको छ ।
परिसंघका सदस्य प्रतिष्ठानहरुबाट संकलन गरिएका सुझावहरु परिसंघको तर्फबाट नेपाल राष्ट्र बैंकमा हस्तान्तरण गरी छलफल समेत गरेको भन्दै परिसंघले हालै सरकारले व्यवस्था गरेको पुर्नकर्जा कोष मार्फत १५० अर्बको पुर्नकर्जाको प्रवाहको प्रक्रिया सरल बनाई अविलम्ब सुरु गर्न समेत आग्रह गरेको छ । यस्तो सहुलियतपूर्ण कर्जाको सीमालाई हाल उद्योग व्यवसायको कूल ऋणको २० प्रतिशत वा २० करोडसम्म पु-याउनु पर्ने माग राखेको छ । त्यस्तै कोषबाट ऋण लिन कुनै पनि प्रकारका उद्योग व्यवसायलाई वञ्चित गर्न नहुने समेत परिसंघले जनाएको छ । त्यस्तै मझौला, साना तथा घरेलु उद्योगहरुलाई पुर्नकर्जामा विशेष व्यवस्था गर्न समेत परिसंघले आग्रह गरेको छ ।
छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारीले परिसंघका सुझावहरु सान्दर्भिक रहेको बताए । देशको अर्थतन्त्र विषम परिस्थितिमा रहेको र यस्तो अवस्थामा अर्थ व्यवस्थालाई जोगाई पुर्नसञ्चालनमा लैजान निकै चुनौति रहेको भन्दै उनले राष्ट्र बैंकको यसमा प्रमुख भूमिका रहेको बताए । उनले सरकारले लिएको लक्ष्य हासिल गर्दै उद्योग व्यवसायलाई समेत सहुलियत हुनेगरी आगामी नीति लिने राष्ट्र बैंकको सोच रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्