नेपालको आर्थिक विकासमा ओबीओआरमार्फत सहयोगको प्रतिबद्धता «

नेपालको आर्थिक विकासमा ओबीओआरमार्फत सहयोगको प्रतिबद्धता

चीनको महत्वाकांक्षी परियोजना वान् बेल्ट वान् रोड (ओबीओआर)मार्फत नेपालको आर्थिक विकासमा सहयोग गर्ने चिनियाँ पक्षले जनाएको छ । नेपाल भ्रमणमा रहेको ओवीओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्मका प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघ पदाधिकारीसमक्ष यो प्रतिबद्धता जनाएको हो ।
महासंघ अध्यक्ष भवानी राणा र ओबीओआर व्यापार तथा लगानीसम्बन्धी चिनियाँ प्रतिनिधिमण्डलका संस्थापक शु याबीच भएको भेटमा यस्तो प्रतिबद्धता प्राप्त भएको महासंघ सचिवालयले जनाएको छ । संस्थापक शु याको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेटवार्ताका क्रममा नेपालको आर्थिक तथा व्यावसायिक विकासमा ओबीओआरका तर्फबाट सहयोग गर्न आफूहरू तत्पर रहेको प्रतिबद्धता जनाएको हो ।
ओबीओआरले खासगरी पूर्वाधार विकास, व्यावसायिक कृषि, ऊर्जा, पर्यटन, अन्तर्राष्ट्रिय व्यापार तथा लगानी क्षेत्रमा क्रियाशील रहेको जानकारी प्रतिनिधिमण्डलले गराएको छ । नेपालका यी क्षेत्रहरूमा ओवीओआरमार्फत लगानी भिœयाउन आफूहरू इच्छुक रहेको धारणा प्रतिनिधिमण्डलले राखेको छ । नेपालमा खासगरी उद्यमशीलता विकास, प्रविधि हस्तान्तरण, काठमाडौंबाट चीनका प्रमुख सहरहरूमा सीधा हवाई सम्पर्क विस्तार, नेपालबाट चीनमा निर्यात हुने वस्तुहरूको पहिचानलगायतमा छलफल भएको सो बैठकमा नेपालमा सहकार्यका क्षेत्रहरू पहिचान गर्न छिट्टै अर्को बैठकको प्रस्तावसमेत चिनियाँ पक्षबाट सो अवसरमा राखियो ।
ओबीओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्म नेपाल कार्यालयका प्रमुख एवं महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, महासंघको कार्यकारिणी समितिका सदस्य जय सिवाकोटी, महासंघको पूर्व कार्यकारिणी समिति सदस्य एजी शेर्पासमेत सहभागि रहेको सो अवसरमा महासंघका अध्यक्ष राणाले ओबीओआर मार्फत नेपालको पूर्वाधार विकास, ऊर्जा, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी ल्याउन प्रतिनिधिमण्डल समक्ष आग्रह गरिन् ।
नेपाल–चीनलगायत ओवीओआर सदस्य राष्ट्रहरूबीच यातायात संयन्त्रमार्फत आपसी सम्पर्क विस्तारमा अध्यक्ष राणाले जोड दिएकी छन् । नेपालमा लगानीको वातावरण निकै राम्रो रहेकाले नेपाल समेत सदस्य रहेको ओवीओआर मार्फत नेपालको समृद्धिको अभियानमा सहकार्य गर्न प्रतिनिधिमण्डल समक्ष अध्यक्ष राणाले अनुरोध गरेको महासंघले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्