खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्छु : मन्त्री पण्डित «

खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्छु : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाईएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने र सम्पूर्ण सेवा-सुविधा रोक्नेसम्मको कडा चेतावनी दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले मुलुक संघीय संरचनामा अघि बढिसकेकोले सरकारले प्रदेश र स्थानीय तहमा खटाईएका कर्मचारीहरु कार्यक्षेत्र नगए तत्काल बर्खास्तीदेखि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उनले भने, “अहिलेसम्म ७२ प्रतिशत कर्मचारी मैदानमा पुगिसकेका छन्, अहिले रेकर्ड लिने काम जारी छ । खटाईएका ठाउँमा कर्मचारीहरु अनिवार्य पुग्नैपर्छ । नपुगेको वा अन्यत्र काम गर्छु भन्नेलाई कुनैपनि सुविधा दिँदैनौं । कार्यक्षेत्रमा पुगेपछि यदि उहाँहरुको जायज मागहरु रैछन् भने म विचार गर्न तयार छु, तर पहिले उहाँहरु कार्यक्षेत्र अनिवार्य रुपमा पुग्नैपर्छ ।” ७२ प्रतिशतमात्रै नभएर १०० मा १०० प्रतिशत कर्मचारी खटाईएका ठाउँमा पुग्नुपर्ने उनले बताए । उनले थपे, “नजानेहरुको बाटो एउटै हो, राष्ट्रसेवक भन्ने अनि २४ घण्टा नै राष्ट्रको सेवा गर्न तयार छु भनेर शपथ खाने, तर सरकारले खटाएका ठाउँमा नजाने हो भने यो हामीलाई सह्य हुँदैन । सरकारभन्दा माथि आफूलाई कर्मचारीले सम्झनु हुँदैन ।”
मन्त्री पण्डितले पटक–पटक ताकेता गर्दा पनि खटाईएको कार्यक्षेत्रमा नजाने वा अटेर गर्ने कर्मचारीहरुलाई सधैंको लागि बिदावारी गर्ने चेतावनी दिए । “कसैको कुनै सुनुवाईले काम गर्दैन्, अटेर गर्ने वा खटाईएको क्षेत्रमा नजानेहरुलाई सदाका लागि विदा गर्छु,” उनले भने ।
कर्मचारीहरुले नेताको घरमा धाएर सोर्स÷फोर्स लगाउने काम गरे आफू कानमा रुवा हालेर बस्ने उनको भनाइ थियो । उनले भने,“जहाँ हाजिर गर्नुपर्ने हो, त्यहाँ बन्द गराउँछु, यदि लुकिछिपी हाजिर गराईएको पाएमा, कार्यालय प्रमुखलाई समेत कारबाहीको दायरामा ल्याउँछु ।”
कार्यक्षेत्रमा नजाने कर्मचारीहरुको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको भन्दै मन्त्री पण्डितले कार्य क्षेत्रमा नजाने निजामति कर्मचारीहरुले लिँदै आएको सुविधा समेत खोस्ने उनको चेतावनी थियो । उनले स्वेच्छिक अवकाश त केबल शारीरिक अशक्तता र मानसिक रुपमा अक्षमतालाई मात्रै दिइने बताए । उनले भने, “त्यो पनि डाक्टरबाट मानसिक रुपमा असक्षम भन्ने प्रमाणित हुनुपर्छ, तर सक्षम राष्ट्रसेवकले सरकारलाई बोझ थोपरेर स्वेच्छिक अवकाश लिने सपना नदेखे हुन्छ । हामी सक्षम राष्ट्रसेवकलाई विदा गर्दैनौं । तर सुविधा लिन्न भन्नेहरुलाई राजिनामाको स्वतन्त्रता छ ।”
निजामति कर्मचारी ऐनले व्यवस्था गरेअनुसार जनताको भावना र विश्वास जितेर काम गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री पण्डितले कार्यालय समयमा कर्मचारी संगठनका गतिविधिलाई निषेध गर्ने घोषणा पनि गरेका छन् ।
आफू पनि नेपालमा ट्रेड युनियनको जन्मदाता भएकोले यसको कार्यक्षेत्रभित्र सरुवा तथा बढुवाको लागि दबाब दिने काम नपर्ने उनको भनाइ थियो । उनले भने, “कार्यक्षेत्रभन्दा बाहिर गएर काम गर्नु भनेको दण्डनीय हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्