महामारीले थलिएको नेपाल «

महामारीले थलिएको नेपाल

विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारी दिई उनीहरूले विदेशमा सिकेका सीपहरूको अधिकतम उपयोग गर्न सकिन्छ ।

प्रत्येक दशकको अन्तरालमा एकपटक सानो–ठूलो आर्थिक मन्दी आउने गरेको विश्व इतिहास छ, जसको कारण, विभिन्न महामारी, प्राकृतिक प्रकोप, द्वन्द्व तथा अन्य गैरकानुनी आर्थिक गतिविधिहरू रहेका पाइन्छ ।
पछिल्लो समय सन् २००९ मा आर्थिक मन्दी आएको थियो, यो मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरू समस्यामा परेका थिए । नेपालमा पनि घरजग्गा व्यवसायमा लगानी गरेका केही व्यवसायीहरूको व्यवसाय संकटमा परेको थियो । यसमा संग्लन साना व्यवसायीहरूको लगानी डुब्यो र केही बैंक तथा वित्तिय संस्थाहरू समस्यामा परे ।
पछिल्लो समय नोबेल कारोना भाइरस (कोभिड–१९) को महामारीले फेरि विश्व थलिएको छ । यसबाट नेपाल पनि अछुतो रहेन । गत डिसेम्बरको अन्त्यतिर चीनको बुहान सहरबाट देखिएको कोरोना भाइरसलाई फेब्रुअरी ११, २०२० मा कोभिड–१९ भनियो । यसले सारा विश्वलाई सामाजिक र आर्थिक चोटको बादलले ढाकेको छ । विश्वव्यापीकरणले विश्व खुम्चिएको थियो, यातायातका लागि वैकल्पिक र द्रुत गतिका साधनहरूले गर्दा बढ्दो चहलपहलले संक्रमणको विस्तार नियन्त्रण बाहिर भएको छ र विज्ञानले पनि हारेको अवस्था छ, दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती बनेको छ । अहिले कोरोना संक्रमण रोकथाम गर्न सरकारले देशलाई लकडाउन गरेको छ र पूरै देशमा आर्थिक, व्यापारिक गतिविधि प्रायः ठप्प छन् । यसको प्रभाव अर्थतन्त्रमा देखिन थालिसकेको छ र आगामी दिनमा झनै ठूलो प्रभाव पर्ने देखिन्छ । २०७२ सालको भूकम्पले थलिएको नेपाल गत दुई वर्ष अगाडिदेखि केही सुधार हुँदै गएको थियो र अझ सुधारको संकेत देखिएको थियो, सोहीअनुरूप सरकारले यो वर्ष ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि यो वर्ष उक्त आर्थिक वृद्धि हासिल गर्नु त असम्भव नै भयो, आर्थिक वृद्धि सकरात्मक बिन्दुमा पु¥याउन पनि मस्किल छ । सन् २०३० मा दिगो विकास र अति कम विकसित राष्ट्रहरूको सूचीबाट हटेर विकासोन्मुख राष्ट्रमा पुग्ने सपना पूरा हुनेछैन । हाम्रो विकासको गति १० वर्ष पछाडि धकेलिन्छ । प्राथमिकताका परियोजनामा स्रोतको अभावमा समय र लागत वृद्धि हुने तथा कुल गार्हस्थ्य आम्दानीमा संकुचन आउने अवस्थाले कुल गार्हस्थ्य आम्दानीको अनुपातमा ऋण बढेर मुलुक आर्थिक मन्दीको चपेटामा पर्न सक्छ ।
यसले गर्दा विश्वमा उत्पादन तथा आपूर्ति श्रृंखला खलबलिएको छ, करोडौ श्रमिकको रोजगारी जोखिममा छ, विश्वका ठूला धितोपत्र बजारहरू क्र्यास हुने अवस्थामा पुगेका छन् भने विश्व अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको छ । विश्व बैंकले गरेको प्रक्षेपणअनुसार विश्व अर्थतन्त्रमा सन् २००८ को विश्व वित्तीय संकट वा सोभन्दा बढी प्रभाव पर्ने देखिन्छ । अझ सन् २००८ को वित्तीय प्रभाव सीमित देशहरूमा मात्र परेको थियो । हवाई यातायात प्रणालीको आयमा गिरावट, औद्योगिक उत्पादन, निर्माण, आन्तरिक तथा बाह्य व्यापार, वैदेशिक लगानी, विप्रेषण आप्रवाहजस्ता अर्थतन्त्रका अंग बिस्तारै यो संकटको चपेटामा परेका छन् । सबैभन्दा बढी प्रभावित क्षेत्र होटेल तथा पर्यटनको आर्थिक वृद्धिमा पर्यटनमा २ प्रतिशत योगदान थियो, अब पर्यटनसँग सम्बन्धित सबै व्यापार–व्यवसायमा असर पर्ने देखिन्छ । नेपालमा करिब १० लाख रोजगारी सिर्जना गरिरहेको यस क्षेत्रको रोजगारी जोखिममा पर्न गई यसले माग पक्ष कमजोर बनाउने निश्चित छ भने अर्कातर्फ पर्यटन आय घट्न गई विदेशी विनिमय सञ्चितिमा समेत दबाब सिर्जना हुने जोखिम रहेको छ । यसरी वैदेशिक मुद्रा प्राप्तिको प्रमुख स्रोत रहेको पर्यटन आयमा आउने कमीले विदेशी विनिमय सञ्चितिमा कमी आई बाह्य क्षेत्र स्थायित्वमा खलल पु¥याउन सक्ने सम्भावना रहेको छ । कोरोनाले बढी प्रभाव पारेको अर्को क्षेत्र वैदेशिक रोजगारी पनि हो । नेपालका वैदेशिक रोजगारीका प्रमुख गन्तव्यहरूमा कतार, युएई, साउदी अरेबिया तथा मलेसिया रहेका छन् । नेपाल भित्रिने कुल विप्रेषणमा यी मुलुकहरूबाट प्राप्त हुने विप्रेषण ५० प्रतिशतभन्दा बढी योगदान गर्ने तथ्य ने.रा.बैं.को अध्ययनले देखाएको छ । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि अनुमति बन्द गरिसकेको तथा वैदेशिक रोजगारीका गन्तव्य मुलुकहरू समेत कोरोना प्रभावित भइसकेका हुनाले विप्रेषण आयमा कमी आउने निश्चित भइसकेको छ । विगत दुई आ.व.मा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा क्रमशः ९.३ प्रतिशत र ३२.६ प्रतिशत कमी आएकोमा यो वर्ष अझै ठूलो गिरावट आउनेछ । नेपालमा वैदेशिक मुद्रा प्राप्तिको ७० प्रतिशतभन्दा बढी विप्रेषणबाट प्राप्त हुने भएकाले यसमा कमी आउँदा चालू खाता, शोधनान्तर स्थिति, विदेशी विनिमय सञ्चितिजस्ता बाह्य क्षेत्रका सूचकहरूमा दबाब सिर्जना हुने देखिन्छ । विप्रेषण आप्रवाह कमीका कारण बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालनमा कमी आउने देखिन्छ । जसले तरलता, ब्याजदर तथा कर्जा प्रवाहलाई असर गर्छ ।
नेपालको निर्माण तथा औद्योगिक उत्पादन क्षेत्रमा समेत कोरोना संक्रमणले गम्भीर असर परेको छ । विकास–निर्माणका काम प्रभावित हँुदा औद्योगिक उत्पादनमा करिब ३२ प्रतिशत मात्रै कमी आउँदा पनि औद्योगिक उत्पादनमा संकुचन आएको छ । अर्कातर्फ नेपालका विभिन्न परियोजनाहरूमा चिनियाँ ठेकेदार तथा मजदुरहरूले काम गर्ने भएकाले विगत केही समयदेखि काममा अवरोध भएको छ तथा लकडाउनका कारण केही समय निजी निर्माणका कामहरूसमेत स्थगित भई निर्माण क्षेत्रसमेत थलिएको छ ।
संक्रमणबाट प्रभावित व्यापार–व्यवसायहरूको समयमा नै कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न नसक्ने स्थिति आएमा बैंकिङ क्षेत्रको खराब कर्जामा वृद्धि भई वित्तीय स्थायित्वमा समेत खलल पुग्ने जोखिम छ । यसका साथै विश्वमा भएका पुँजीबजार ओरालो लागेका कारण उत्पन्न लगानीकर्ताको हतोत्साहित मनोवैज्ञानिक र बैंक तथा बिमा कम्पनीहरूको नाफामा कमी आउने जोखिम रहन्छ ।
नेपाल सरकारको राजस्व संकलन तथा खर्चमा दबाब सिर्जना गर्ने सम्भावना बढेको छ । नेपालको कुल राजस्वको ४५ प्रतिशत राजस्व भन्सार बिन्दुबाट उठ्ने गरेकोमा आयात गतिविधि प्रभावित हुँदा राजस्व संकलनको लक्ष्य भेटाउन असम्भव भएको छ र नेपाली मुद्रा अवमूल्यनका कारण विदेशी ऋणको लागत बढ्नेछ ।
कोरोना संक्रमण बढ्दै गएमा अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरू बढी प्रभावित हुनेछन् । यी अनौपचारिक क्षेत्रमध्ये आधाभन्दा बढी गैरकृषि क्षेत्रमा काम गर्ने भएकाले तिनीहरूको रोजगारी जोखिममा पर्ने देखिन्छ । यसबाट समग्र मागमा कमी आई ‘डिमान्ड सक’ सिर्जना हुने तथा आर्थिक क्रियाकलापहरू खुम्चिन सक्ने जोखिम छ ।
विश्वव्यापी कोरेना महामारीका कारण विश्वस्तरमै आर्थिक क्रियाकलापहरू खुम्चिने तथा विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि ठूलो लागत बेहोर्नुपर्ने देखिन्छ । आधुनिक विकास, आर्थिक उन्नति, समृद्वि सम्पन्न र विश्व रंगमञ्चमा प्रभावशाली ठहरिएका औषधी विज्ञानमा नाम कहलिएका मुलुक नै तिरमिराउने गरी किंकर्तव्य विमूढ बनाएको छ । अन्तरिक्ष र विभिन्न ग्रहमा पहँुच पु¥याउन सक्ने, युद्धकलामा पारङ्गत, अत्याधुनिक आणविक, रासायनिक, जैविक शास्त्र बनाउँदै मिसाइलमा प्रतिस्पर्धाको क्षमता भएका मुलुक पनि यो सूक्ष्म जीवाणुका अगाडि निरीह र शक्तिविहीन भएका छन् ।
आन्तरिक द्वन्द्व, हमला, हड्ताल, आन्दोलन, बाह्य युद्ध, गृहयुद्धमा समेत बन्द नभएका सीमा नाका, हवाई या जल यातायात, बन्दरगााह, सभा–समारोह, सम्मेलन, बजार, पसल, होटल, रेस्टुराँ, पठनपाठनका शैक्षिक संस्था प्रायः सबै देशहरूले स्वस्फूर्त ठप्प पारेका छन् । छुट्टै प्रदेश, देश वा क्षेत्रमा विगतमा फैलिने महामारी, हैजा, झाडापखाला, मलेरिया, भोकमरी, कुपोषणजस्ता कारणबाट सिर्जित प्रायः गरिब वा अविकसित मुलुकमा देखा पर्दा स्वच्छ खानेपानीको अभाव, पौष्टिक आहारको कमी, स्वास्थ सुविधा वा आवश्यक औषधीमूलोको अपर्याप्ततालाई जिम्मेवार मानेर त्यसतर्फ ध्यान केन्द्रित गरेर सहयोगसहित महामारीसँग जुध्ने गरेको पाइन्छ, तर यो कारोना भाइरस छुट्टै प्रकृतिको विश्वव्यापी महामारीका रूपमा साना–ठूला सबै मुलुकलाई थला पार्दै नरसंहार गरिरहेको छ ।
अहिले विश्वका अब्बल र ठूला अर्थव्यवस्था भएका, शिक्षा, स्वास्थ्य र विज्ञान प्रविधिको क्ष्ोत्रमा उत्कृष्टता हासिल गरेका मुलुक र उच्च प्रतिष्ठित वा ओहोदाधारी व्यक्तिदेखि मजदुर किसान वा सामान्य नागरिकसम्म यसको संक्रमणमा परेका छन् । औषधि छैन र सामान्य लक्षणका आधारमा स्वास्थ्य केन्द्र जान पनि अरूबाट सरेर झनै संक्रमित भइन्छ कि भन्ने डर–त्रास छ । आधा विश्व घरभित्र छ । पेसा, व्यवसाय, जागिर, अध्ययन, अनुसन्धान सबै छाडेर प्राणरक्षामा एकान्तबास अहिलेको दैनिकी बनेको छ ।
महामारीजस्ता अकस्मात् आइपर्ने प्रभावको पूर्वानुमान गर्न सकिँदैन । सरकारसँग विपद् व्यवस्थापन नीति, तौरतरिका भए पनि छुट्टै मानवीय आर्थिक वा वस्तुगत स्रोतको अग्रिम यथेष्ट व्यवस्था प्रायः कही पनि हँुदैन । त्यसैले सबै मुलुकका सरकारलाई यस्ता समस्यासँग जुध्न हम्मे–हम्मे पर्छ । कारोना प्रभावित बिरामीलाई मात्र हेर्न छुट्टै अस्पताल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी छुट्याएर राखिएको हँुदैन । विद्यमान स्रोत तथा मानवस्रोतबाट प्राथमिकता छुट्याई नियमित र संकटकालीन कार्य सम्पादन गर्नुपर्ने थप जिम्मेवारी सरकारसामु छ । यस्ता आकस्मिक समस्या समाधान गर्न विश्वका ठूलाठूला सहरलाई त हम्मेहम्मे परिरहेका बेला नेपालजस्तो विकासोन्मुख मुलुकको चुनौती त सहजै अनुमान गर्न सकिन्छ । महामारीको असर यसैगरी बढ्दै जाने हो भने भोकमरीको समस्या नआउला भन्न सकिन्न । लकडाउनका समयमा सबै व्यवसाय तथा पठनपाठन संस्था बन्द भएका कारण मानिसहरू गाउँमै बसेर खेती गरिरहेका छन्, कैयौँ वर्षदेखि बाँझो रहेको जग्गा–जमिन पनि यो वर्ष खनजोत गरी खेती गरिएको छ । गाउँघरमा गएकाहरू प्रायः सबै खेतीपातीमा व्यस्त रहेका छन् । यसबाट कृषिउपजमा आयात प्रतिस्थापन गर्न सकिन्छ कि भन्ने आशा गरिएको छ, तर खेतीपातीमा पनि विभिन्न किसिमका कीराहरूको प्रकोपका कारण उत्पादन नभई आगामी दिनमा भोकमरीको समस्या आउने हो कि भन्ने पनि सन्त्रास रहेको छ ।
यस महामारीले २१ औँ शताब्दीसम्म विश्वमा स्वास्थ्य विज्ञानले गरेको प्रगतिलाई चुनौती त दियो नै, त्यसका अलावा विश्व व्यवस्थामा पनि सुनामी ल्याइरहेको छ ।
कोारेनाका कारण वैदेशिक रोजगारीमा रहेका श्रमिक फर्काउने योजनामा रहेका छन् रोजगारदाताहरू । केही देशमा श्रमिकले पाउने ज्याला पाउनै छाडेका छन्, अधिकांश मुलुकमा न्यूनतम पारिश्रमिक पनि पाउने कि नपाउने अन्योलमा रहेका छन् । देशको अर्थतन्त्रमा ती युवाहरूले वैदेशिक रोजगारीबाट पठाएको रेमिट्यान्सबाट ठूलो योगदान थियो । यसरी नेपालमा यस महामारीले ठूलो मात्रामा मानवीय क्षति नभए पनि ठूलो आर्थिक क्षति बेहोरिरहेको छ । ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि गरिरहेको मुलुक कोरोना महामारीले बाह्य सहायता, वैदेशिक व्यापार, आन्तरिक उत्पादन रेमिट्यान्सलगायतमा असर पारिरहेको छ । नेपालले अब तत्कालीन पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थमा फर्काउन सक्ने अवस्था छैन भने जलविद्युत् क्षेत्रबाट मात्र एकाध वर्षमा समृद्धि सम्भव देखिँदैन
हरेक घटनाको सकारात्मक र नकरात्मक दुवै पक्ष हुन्छन् । त्यसैले यो कारोना महामारीबाट विश्व मानव समुदायले भविष्यका लागि केही सकरात्मक सन्देश पाउन सक्छ । मानवीय सोच एवं धारणमा आउने आमूल परिवर्तनले अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगका क्षेत्रमा नयाँ र सकरात्मक आयाम थप हुन सक्छ । सरकार र नागरिक सहकार्यको संस्कृतिले अनुकरणीय असल अभ्यास स्थापित हुन सक्छ । संकटकालका बेला मुलुकले उपयुक्त शीघ्र निर्णय गर्न सक्ने क्षमता, अनलाइन कारोबारको बढोत्तरी, स्वरोजगार तथा स्वदेशमै रोजगारीलाई प्राथमिकता, विकास निर्माणलाई निरन्तरता, वातावरण संरक्षण तथा सचेतना, प्राकृतिक स्रोतहरूको प्रयोगमा विवेकशीलता जागरण गर्नेछ । व्यस्त जीवनशैलीबाट पारिवारिक समय छुट्याइनु, आफ्नो स्वास्थ्यप्रति सजग हुनु, आफ्ना लागि आवश्यक खाद्यसामग्री आफैँ उत्पादन गरी स्वस्थवद्र्धक खानामा ध्यान पु¥याउनु, घर, टोल, समाजको सरसफाइमा जुट्नु, सामाजिक मेलमिलाप बढ्नु आदि यस कोरोना महामारीले दिएका सकरात्मक परिमाण हुन् ।
हामीले आत्मआलोचना गर्दै, प्रकृतिले सम्पूर्ण जीवात्मालाई न्याय गर्दा हामीले प्राकृतिक स्रोतहरूको आफ्नो हितलाई मात्र ध्यानमा राखी दोहन गरेका कारण प्रकृतिबाट सजाय पाएका त हैनौँ ? अबदेखि वातावरण र वातावरण प्रणाली सन्तुलन ल्याउन अबको संसार थप कटिबद्ध र प्रतिबद्ध हुनेछ ।
महामारीका यी विभिन्न सकारात्मक प्रभावसँगसँगै नेपाललगायत विश्व अर्थतन्त्र नै थला परिसकेको छ । कुनै पनि एउटा त्यस्तो क्षेत्र छैन, जुन कोरोना महामारीले प्रभाव नपारेको होस् । यो महामारी कति समयसम्म लम्बिन्छ र यसको असर कतिसम्म हुन्छ कसैले अनुमान गर्न सकेको छैन, तसर्थ अब आफू सजग हुँदै व्यक्ति, परिवार, राज्य सम्पूर्ण थला परेको आफ्नो परिवार, समाज र सिंगो देश नै उकास्नतर्फ लाग्नु आवश्यक छ ।
सर्वसाधारणले छिमेकमा कोही बेरोजगार वा अन्य कारणले भोकभोकै परेकालाई सहयोग गर्न सकिन्छ । निजी सवारी साधन भएकाले अस्पताल पु¥याउनेदेखि गर्जो टार्नेसम्म सहयोग गर्न सकिन्छ । इन्टरनेट, सामाजिक सञ्जालमार्फत सूचना आदानप्रदान गरी टोलवासी र अर्काे टोलसम्म सचेतना फैलाउने कार्य पनि सर्वसाधारणले गर्न सकिन्छ । सञ्चारमाध्यमले सर्वसाधारणमा सही सूचना प्रदान गर्नुपर्छ । जो–कोहीले जनकल्याणमा मन फुकाएर सहयोग गर्ने समय यही हो । यही असहज परिस्थितिको फाइदा उठाउँदै कतिपयले दैनिक उपभोग्य सामान लुकाउने, कालोबजारी गर्ने, मिसावट वा कम गुणस्तरका सामान बेच्ने जस्ता गम्भीर अपराधमा संलग्नलाई राज्यले कानुनको दायरामा ल्याएर सजाय गर्नुपर्छ ।
प्रत्येक व्यक्ति आफ्नो र परिवारको स्वास्थ्य, खानपान लगायतका कुरामा सजग हुँदै आफ्ना दैनिक कार्यमा लाग्नुपर्छ । सरकारका तर्फबाट बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्ने बजेट ल्याउनुपर्छ । आर्थिक मन्दीका कारण संकटमा परेका कृषि तथा गैरकृषि उद्योगधन्दालाई पूर्ववत् अवस्थामा फर्काउने गरी राहत प्याकेज ल्याउनुपर्छ । अनुत्पादित र अनावश्यक खर्च कटौती गर्र्दै आवश्यक खर्च मात्र गर्नुपर्छ । आगामी दिनमा उत्पादन तथा रोजगारीका क्षेत्रलाई सम्बोधन गर्न आवश्यक आर्थिक राहतका साथै क्षमता विस्तारका लागि प्राविधिक, आर्थिक एवं नीतिगत सहजीकरणका लागि पहल गर्नुपर्छ । आधुनिक तथा यान्त्रीकरणको प्रयोगबाट बढीभन्दा बढी रोजगारी सिर्जना गरी आयात प्रतिस्थापन गर्न सकिन्छ । विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारी दिई उनीहरूले विदेशमा सिकेका सीपहरूको अधिकतम उपयोग गर्न सकिन्छ । अन्य क्षेत्रबाट भन्दा कृषि क्षेत्रबाट चाँडो प्रतिफल प्राप्त हुने र मौसमी असरबाहेक अन्य क्षेत्रबाट असर नपर्ने, स्वदेशमै उपलब्ध स्रोतसाधनबाट नै व्यवसाय गर्न सकिने र उपभोक्ता तथा व्यवसायी सबैको शारीरिक तथा मानसिक स्वस्थता वृद्धि गर्न सहयोग पुग्ने हँुदा व्यावसायिक तथा सामूहिक खेतीलाई प्रोत्साहन गर्नुपर्छ । खेतीयोग्य जमिन बाँझो नहोस् भन्नेतर्फ सरकार गम्भीर हुनुपर्छ । सरकारी बाँझो जग्गा कृषि उत्पादनमा प्रयोग गरी कामविहीनताको अवस्थाबाट रुमल्लिएका मजदुरलाई काम दिन सकिन्छ । यसले गर्दा स्वदेशमा जीवन धान्न सकिँदैन भन्ने मानसिकता राख्ने युवाहरू कृषि कर्मलाई पहिलो विकल्पका रूपमा लिन सक्छन् । त्यसैले नेपालको दिगो समृद्धिका लागि कृषि उत्पादन बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापन तथा वैदेशिक रोजगारीबाट फर्र्किएका युवालाई यसै क्षेत्रमा अवसर दिनुपर्छ । कृषिक्षेत्रलाई निर्वाहमुखी नभई उत्पादनमुखी बनाई जीडीपीमा यस क्षेत्रको योगदान ५० प्रतिशतसम्म पु¥याउन सकिन्छ । युवाले विदेशमा सिकेका सीप तथा सरकारका तर्फबाट विदेशबाट विज्ञ झिकाएर भए पनि कृषिमा नयाँ प्रविधिको प्रयोग गरेर उत्पादन वृद्धि गर्ने तथा नगदे बालीका माध्यमबाट निर्यात वृद्धि गर्न पनि सकिन्छ । यसमा सरकारको खुकुलो नीति तथा अनुदान र सहजीकरण आवश्यक पर्छ । अहिले ५० औँ अर्बका कृषिजन्य वस्तु आयात गरिरहेको नेपालले कृषिजन्य वस्तुको मात्र आयात प्रतिस्थापन गर्न सक्यो भने यसलाई कोरोना महामारीद्वारा उत्पन्न सकरात्मक परिणामका रूपमा लिन सकिन्छ ।
विगतका प्रमुख योजनालाई निरन्तरता दिँदै कार्यान्वयनमुखी बजेट ल्याउनुपर्छ । देशको समग्र आर्थिक वृद्धिका लागि निजी क्षेत्रलाई कृषि, पर्यटन, जडिबुटी, जलस्रोत, उद्योगधन्दा, बजार पूर्वाधारलगायतका क्षेत्रमा लगानी प्रोत्साहन गर्नुपर्छ ।
युवाहरूको वैदेशिक रोजगारमार्फतको रेमिट्यान्सबाट नेपालको अर्थतन्त्रमा ठूलो योगदन थियो । अब राज्यले ती युवाहरूलाई न्याय दिनुपर्छ । देशको समग्र आर्थिक वृद्धिका लागि निजी क्षेत्रलाई कृषि, पर्यटन, जडिबुटी, जलस्रोत, उद्योगधन्दा , बजार प्रवद्र्धनलयागतका क्षेत्रमा लगानी प्रोत्साहन गर्नुपर्छ । अब समृद्धिको परिभाषा बदल्नुपर्छ भन्ने पाठ कोरोनाले सिकाएको छ । यो टाढाको यो नजिकको सम्बन्ध भन्ने नसोचेर हामी, सहयोगी, समझदारी र समानताको सम्बन्ध बनाउनुपर्छ ।
अहिलेको तत्कालीन समस्या त वित्तीय र व्यवस्थापकीय सुधारबाट सम्भव होला, तर भावी सन्ततिलाई सम्मानजनक जीवन बिताउने आधार निर्माण गर्न हामी जति बाँच्छौँ विकास र अनुसन्धान शीर्षकमा थप बजेटको प्राथमिकता अनुसार उपलब्ध स्रोत र साधनको व्यवस्थापनद्वारा वातावणीय सन्तुलन कायम गर्दै दीर्घकालीन योजनाअनुसार दिगो विकासको उद्देश्य हासिल गर्ने बाटो निर्माण गर्नुपर्छ
विश्वभरि नै लकडाउन अवलम्बन गरिएको छ, तर लकडाउन कहिलेसम्म त, फेरि लकडाउन मात्र महामारीसँग लड्ने अन्तिम उपाय पनि होइन । तसर्थ सम्पूर्ण व्यक्तिहरू आफ्नो र आफ्नो परिवारको स्वस्थ जीवनप्रति सजग हुनु, नियमित, सन्तुलित र पोसिलो खानेकुरा खानु, आत्मबल बलियो बनाउनु र सकारात्मक सोचाइ राख्नु नै अहिलेको महामारीविरुद्ध लड्ने अस्त्र हो ।

इन्दिरा घिमिरे

प्रतिक्रिया दिनुहोस्