इन्धन खपत वार्षिक २० प्रतिशतले बढ्यो

पेट्रोलियम पदार्थ खपत वार्षिक २० प्रतिशतका दरले बढ्दै गएको छ । बढ्दो सवारीसाधनको प्रयोगले इन्धनको खपत बढ्दै गएको हो । वार्षिक रूपमा खपत दर १५ देखि २० प्रतिशतले बढ्दै गएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन खपत बर्सेनि बढ्दै गएको बताए । “सवारीसाधनको प्रयोग बढ्दै गएको र पछिल्लो समय स्थानीयस्तरमा भएको विकास निर्माणकोे गतिले गर्दा इन्धन खपतदर बढ्दै गएको छ,” नायव कार्यकारी निर्देशक साहले भने, “मुलुकमा इन्धनको खपत बढेसँगै आयातदर बढ्दै गएको छ ।” इन्धनको खपत बढ्दै गएपछि आयात पनि सोहीअनुसार बढ्दै गएको निगमको भनाइ छ । मुलुकमा पर्याप्त विद्युत् उत्पादन गर्न सकेमात्र इन्धन आयात घटाउन सकिने ऊर्जाविद्हरू बताउँछन् ।
गत वर्षदेखि उपत्यकामा लोडसेडिङ हटे पनि इन्धन आयातमा ठूलो प्रभाव नपरेको निगमको तथ्यांकले देखाएको छ । लोडसेडिङले खाना पकाउने एलपी ग्यास र डिजेलको खपत घट्नुपर्ने भए पनि दुवै पदार्थको आयात बढ्दै गएको निगमको भनाइ छ । निगमका अनुसार आर्थिक वर्ष ०६९÷०७० मा १२ लाख ९८ हजार ५ सय ६६ किलोलिटर इन्धन आयात भएकोमा ०७०÷७१ मा १४ लाख ४० हजार ९ सय ३५ किलोलिटर इन्धन आयात भएको थियो । यस्तै २०७१÷७२ मा १६ लाख २५ हजार १ सय ६७ किलोलिटर इन्धन आयात भएकोमा २०७२÷७३ मा नाकाबन्दीका कारण १३ लाख ३१ हजार १ सय ५६ किलोलिटरमात्र इन्धन आयात भएको थियो । २०७३÷७४ मा २२ लाख १८ हजार ७ सय ४२ किलोलिटर इन्धन आयात भएको तथ्यांक छ ।
निगमका अनुसार जुलाईमा १ लाख ९६ हजार ३ सय ५४ किलोलिटर इन्धन आयात भएको छ । यस्तै, अगस्टमा १ लाख ५९ हजार ६ सय ७७ किलोलिटर, सेप्टेम्बरमा १ लाख ६८ हजार, अक्टोबरमा १ लाख ९३ हजार ७ सय ८९ किलोलिटर इन्धन आयात भएको छ । नोभेम्बरमा इन्धन आयात बढेर २ लाख ३८ हजार ५ सय ६९ र डिसेम्बरमा २ लाख २७ हजार ५ सय २ किलोलिटर इन्धन आयात भएको छ । जनवरी महिनामा २ लाख ४२ हजार २ सय ३ किलोलिटर इन्धन आयात भएकोमा फेब्रुअरी महिनामा २ लाख २३ हजार ३ सय ३४ किलोलिटर इन्धन आयात भएको निगमले जानकारी दिएको छ ।
लोडसेडिङ घटे पनि प्रत्येक महिनामा इन्धनको आयात दर बढ्दै गएको छ । निगमका अनुसार हाल मासिक सरदर ७५ देखि ८० हजार किलोलिटर डिजेलको माग छ । त्यस्तै पेट्रोल मासिक २५ सयदेखि ३ हजार किलोलिटर, हवाई इन्धन १२ देखि १५ हजार किलोलिटर र ग्यास २५ देखि ३० हजार टन माग छ ।
भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थ सस्तो हुँदा तस्करीबाट पुनः भारतमै जाने गरेको निगमको भनाइ छ । जसले गर्दा पनि इन्धन आयात धेरै भएको तथ्यांक छ । अहिले पेट्रोल प्रतिलिटरमा २३ रुपैयाँ ३४ पैसा र डिजेल प्रतिलिटरमा २६ रुपैयाँ ५२ पैसा सस्तो रहेको छ । यस्तै, हवाई इन्धन आन्तरिकमा प्रतिलिटरमा १० रुपैयाँ ३८ पैसा र हवाई इन्धन बह्यमा २८ रुपैयाँ सस्तो छ ।