सुनको मूल्य ९० हजार नजिक

स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ९० हजार नजिक पुगेको छ । सुनको भन्सारदर बढाएसँगै सुनको मूल्य बढ्न गएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै जानु र बजेटमार्फत भन्सारदर बढेकाले सुनको मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइबार बजार खुल्दा प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम रहेको सुनको मूल्य बिहीबार बढेर तोलामा ८९ हजार ६ सय रुपैयाँ पुगेको छ ।
बुधबार ८८ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य एकै दिन तोलाको एक हजार रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यो मूल्य अहिले सम्मकै सबैभन्दा उच्च हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले सुनको मूल्य बढेर प्रतितोला ८९ हजार ६ सय रुपैयाँ पुगेको बताए । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको उनको भनाइ छ ।
सरकारले भन्सार दर बढाएयता पहिलोपटक गत आइतबारदेखि सुनचाँदी बजार खुलेको छ । बजेटमा भन्सार दर बढेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले बजार खुल्दा सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँ बढेको उनको भनाइ छ । बजेटमा प्रति दशग्राम २ हजार रुपैयाँ बढाएर ८ हजार ५०० पुगेको छ । भन्सार बृद्धिले सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ महँगो पर्न गएको व्यवसायीको भनाई छ । बजार खुला भएपनि सुनको कारोबार बढ्न सकेको छैन । अतिआवश्यक बाहेक सुनको कारोबार नभएको व्यवसायीको भनाइ छ ।
लकडाउनकै बीचमा एक दिन खुल्दा सुनको मूल्य ९ हजार रुपैयाँ बढेर तोलाको ८६ हजार ८० रुपैयाँ पुगेको थियो । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । कोरोनाभाइरसको कारणले गर्दा सुनको मूल्यमा अस्थिरता आएको व्यवसायीको भनाइ छ । कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्नका लागि गत ११ चैत देखि सरकारले लकडाउन गरेको थियो । झन्डै ३ महिनादेखि बजार पसल बन्द हुँदा सुनचाँदी व्यवसायमा झन्डै १५ अर्बको नोक्सान भएको शाक्यले बताए । यसबाट सरकारलाई ६० करोड रुपैयाँ बराबरको राजस्व समेत गुमेको छ । कोरोना भाइरसको प्रभावले सुनचाँदीको कारोबार लामो समय सम्म नहुने हुँदा व्यवसाय सञ्चालन गर्न धेरै नै कठिन हुने व्यवसायीको भनाइ छ । यस्तै, चाँदी तोलाको ९ सय ५० रुपैयाँ पुगेको जनाएको छ।