अलिबाबाको बिक्री २ मिनेटमै १ अर्ब डलर

चिनियाँ अनलाइन बिक्री कम्पनी अलिबाबाले सिंगल्स डेका अवसरमा केवल २ मिनेटको अवधिमा १ अर्ब डलरको बिक्री गरेको छ । १ घण्टा ६ मिनेटको अवधिपछि अलिबाबाको बिक्री १० अर्ब डलर नाघेको थियो । प्रत्येक वर्षको नोभेम्बर ११ मा सिंगल्स डे मनाइँदै आएको छ । यसलाई अनौपचारिक पर्वका रूपमा मनाइने गरेको छ । कतै–कतै यसलाई भ्यालेन्टाइन डेको विरोधी पर्वका रूपम पनि हेरिन्छ ।
अलिबाबाले २००९ देखि यो पर्वको समयमा छुट थालेको थियो । त्यसपछिको समयमा यो पर्व विश्वव्यापी पर्वका रूपमा देखा पर्न थाल्यो । यसमा सेलिब्रेटीको उपस्थितिमा उत्पादनलाई छुटमा दिने गरिएको छ ।
अलिबाबाले यो वर्ष चिनियाँ र अमेरिकी स्टारहरूको उपस्थितिबाट यो वर्षको सुरुवात गरेको छ । यसमा संगीतकर्मी फारेल विलियम्स, अभिनेत्री निकोल किडम्यान र टेनिस खेलाडी मारिया सारापोभाको पनि उपस्थिति रहेको थियो ।
“चिनियाँ अनलाइन कम्पनीले यो उत्सवलाई २४ दिने सपिङ र मनोरञ्जन बोनान्जाका रूपमा विस्तार गरेसँगै अलिबाबाबो सिंगल्स डेको सपिङ उत्सवले यो वर्षको बिक्रीमा अर्को कीर्तिमान कायम गर्नेमा कुनै शंका देखिएको छैन,” अनुसन्धानमूलक फर्म ई–मार्केटका विश्लेषक आन्द्रिया चेँले बताइन् ।
सिंगल्स डेमा गत वर्षको बिक्री १ अर्ब डलर पुग्नका लागि ५ मिनेट लागेको थियो । यो दिनमा अलिबाबाले गत वर्ष १७.८ अर्ब डलरको बिक्री गरेको थियो ।