गोरखामा लकडाउन खुकुलो

गोरखा-साढे दुई महिना लामो लकडाउन खुकुलो भएसँगै गोरखाको अवस्था सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले मदिरा, सुर्तिजन्य पदार्थ र होटल रेष्टुरेन्टबाहेकका पसल खोल्ने अनुमति दिएसँगै अवस्था सामान्य बन्दै गएको हो । जिल्ला सदरमुकाममा अनुमति पाएका सबैजसो पसलहरु खुलेपछि मानिसको चहलपहल पनि बढेको छ । सार्वजनिक सवारी साधन नचलेपनि अन्य दिनको तुलनामा निजि सवारी साधन पनि बढि चलेका छन् ।
बजारको अवस्था सामान्य बन्दै गए पनि कोरोना संक्रमणको जोखिम रहेको सर्वसाधारणले बताएका छन् । बजारमा हिड्डुल गर्ने सबैले स्वास्थ्य सजगता अपनाएर मास्क लगाएका छैनन् । बैंक तथा वित्तीय संस्थामा पनि भिडभाड बढ्दा सामाजिक दुरी कायम हुन सकेको छैन ।
गोरखामा प्रहरी हिरासतमा रहेका एक युवासहित दस जना कोरोना संक्रमित छन् । उनीहरुको अहिले जिल्ला अस्पताल गोरखाको आइसोलेसनमा उपचार भइरहेको छ । हिरासतमा रहेका युवामा संक्रमणको स्रोत अहिलेसम्म पत्ता नलागेकाले कोरोनाको जोखिम कायम नै छ । जोखिमकै बीचमा पनि प्रशासनले सर्वपक्षिय वैठकको निर्णयका आधारमा आवश्यकीय पसलहरु खोल्ने अनुमति दिएको हो ।
स्वास्थ्य सुरक्षा अपनाएर सामाजिक दुरी कायम गरी उपभोक्ताले सामान किन्न पाउने व्यवस्था मिलाउन व्यवसायीलाई आग्रह गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए । व्यापारीलाई सतर्कता अपनाएर व्यावसाय गर्न आग्रह गरिएको उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष जिवनज्योती श्रेष्ठले बताए ।
यसैबीच, कोरोना संक्रमण रोकथाम सम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्ट र कोरोना क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको संयुक्त बैठकले गोरखाका बैंक तथा वित्तीय संस्था हप्ताको सबै दिन खुल्ने निर्णय गरेको छ । राष्ट्रिय वाणिज्य बैंक बाहेक अरु बैंक वित्तीय संस्था हप्ताको तीन दिन मात्रै खुल्दै आएका थिए ।
यसो हुँदा सेवाग्राहीलाई मर्का परेको गुनासो आएकाले बैंक, वित्तीय संस्था र सहकारीहरु हप्ताको ६ दिननै खुल्ला गर्ने निर्णय भएको प्रशासन कार्यालयका अधिकृत हर्कबहादुर रोकाले बताए । बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाहका क्रममा सुरक्षा एवम् स्वास्थ्यको मापदण्ड, सामाजिक दूरी लगायतका सावधानी भने अपनाउनु पर्नेछ ।