पत्रकारहरूद्वारा राहत प्याकेज र कोरोना सुरक्षा बिमा गर्न माग «

पत्रकारहरूद्वारा राहत प्याकेज र कोरोना सुरक्षा बिमा गर्न माग

‘कोभिड–१९ कारण सञ्चार क्षेत्र दयनीय’

धनगढी-नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण सुदूरपश्चिम प्रदेशमा सञ्चार क्षेत्रको अवस्था दयनीय बन्दै गएको तथ्य सार्वजनिक भएको छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले नौंवटै जिल्लामा गएर अध्ययन गरी तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्दै सञ्चार क्षेत्रको अवस्था कमजोर हुँदै गएको जनाएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएदेखि सञ्चार माध्यममा विज्ञापन ह्वात्तै घटेको हुनाले सञ्चार माध्यमहरूले सञ्चारकर्मी तथा कर्मचारीहरूलाई तलब दिन नसकेको प्रतिवेदनमा उख्खेल गरिएको छ ।
इलेक्ट्रोनिक मिडियाहरू सञ्चालनमा रहेपनि कैलालीमा केही पत्रिका बाहेक सबै पत्रपत्रिकाहरू बन्द गरेको महासंघले जनाएको छ । महासंघका अनुसार कैलालीमा अनुमोदन दैनिक, युगअस्त्र दैनिक, टीकापुर दैनिक र हाम्रो सेती साप्ताहिक मात्रै सञ्चालनमा रहेका छन् । “दैनिक र साप्ताहिक पत्रपत्रिकाहरू बन्द अवस्थामा छन्,” प्रतिवेदनमा भनिएको छ, “अफसेट प्रेस सञ्चालन भयो भने पत्रिका प्रकाशित गर्न सकिन्छ ।”
महासंघले प्रदेशका नौ जिल्लामा सञ्चालित ७५ एफएम रेडियो, ५३ दैनिक पत्रिका र ४५ साप्ताहिक पत्रिका रहेको जनाएको छ । “नियमित प्रकाशन हुँदै आएका प्रायः सबैजसो दैनिक र साप्ताहिक पत्रिकाहरू लकडाउन सुरु भएदेखि नै बन्द छन्,” प्रतिवेदनमा भनिएको छ, ‘कैलाली र कञ्चनपुरमा मात्रै केही सीमित पत्रिकाहरू प्रकाशन भइरहेका छन् । नियमित प्रकाशन भइरहेका पत्रिकालेसमेत निकै समस्या र चुनौतिको सामना गर्नु परेको छ । बजार बन्द छ, स्वास्थ्य असुरक्षा उस्तै छ । विज्ञापन शून्य छ ।”’
यस अवस्थामा समुदाय तहसम्मलाई सूचना दिने काम एफएम रेडियोले गरिरहेको महासंघले जनाएको छ । ‘रेडियोले आम श्रोतालाई कोभिड–१९ का बारेमा समेत जनचेतना जगाउने काम गरिरहेका छन्,” प्रतिवेदनमा भनिएको छ, “सरोकारवालाहरूलाई जवाफदेहिता वृद्धि गराउने कार्य पनि गरिरहेका छन् । थुप्रै समस्याका बाबजुद पनि एफएम रेडियोहरू नियमित प्रशारण भइरहेका भए पनि उनीहरूको आम्दानी ह्वात्तै घटेको छ । व्यापारिक विज्ञापनहरू छैनन् । प्रशारण हुँदै आएका विज्ञापन समेत सम्बन्धित व्यक्ति र संस्थाहरूले बन्द गर्न लगाएका छन् ।”’
महासंघले अनलाइनहरू पनि आम नागरिकलाई सूचना प्रदान गर्ने गराउने सशक्त माध्यम बनेको जनाएको छ । प्रदेशका प्रायः सबै रेडियो, पत्रपत्रिका, अनलाइन र टेलिभिजनको अवस्था आर्थिक तथा व्यवसायिक रुपमा दयनीय बन्दै गएको महासंघले प्रतिवेदनमा उल्लेख गरेको छ । “जसका कारण सम्पूर्ण श्रमजीवी पत्रकारहरूमाथिको संकट बढ्दै गएको छ,” प्रतिवेदनमा भनिएको छ, ‘व्यावसायिक विज्ञापन बन्द गर्न भनिएको छ । तलब खुवाउने अवस्था छैन । एक महिना थप लकडाउन भयो भने रेडियोसमेत बन्द हुने अवस्था छ ।’
महासंघले राष्ट्रिय सञ्चार माध्यममा कार्यरत स्ट्रिञ्जर पत्रकारलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको जनाएको छ । “सबै जिल्लामा हरेक राष्ट्रिय मिडियाका प्रतिनिधि छन् । उनीहरूलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको छ,” प्रतिवेदनमा भनिएको छ, “उनीहरूलाई कोरोनाका कारण सुरक्षित भएर घरमा बस्न भनिएको छ । टेलिभिजनले भने आफ्ना प्रतिनिधिहरूलाई अहिले पनि काममा लगाइरहेको छ । तर, उनीहरूको स्वास्थ्य अवस्था र पारिश्रमिकका बारेमा टेलिभिजन पक्ष बोलेको छैन । टेलिभिजनमा काम गर्ने सञ्चारकर्मीहरूले व्यक्तिगत जोखिम मोलेर काम गर्दै आएका छन् ।
महासंघले सञ्चारमाध्यम आर्थिक हिसावले जर्जर हुन थालेको जनाएको छ । “सञ्चारकर्मीको अवस्था पनि जटिल बन्दै गएको छ,” प्रतिवेदनको निष्कर्षमा भनिएको छ, “उनीहरू जोखिम मोलेर काम गरिरहेका छन् ।
महासंघले कैलाली र कञ्चनपुरका सञ्चारकर्मीहरूले थोरै भए पनि स्वास्थ्य सामग्रीका रूपमा मास्क, सेनिटाइजर र पञ्जा पाएको जनाएको छ । “तर, पहाडी जिल्लामा कार्यरत सञ्चारकर्मीहरूले त त्यो पनि पाउन सकेका छैनन्,” प्रतिवेदनमा भनिएको छ, ‘“उनीहरू स्वास्थ्य सामग्री बिना नै रिपोर्टिङमा गैरहेका छन् ।”
लकडाउनमा सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरूले भोग्नु परेका पछिल्ला समस्याहरूको पहिचान तथा समाधानका उपायहरू पहिल्याउने उद्धेश्यले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारीहरूले ०७७ जेठ ८ गतेदेखि १४ गतेसम्म ९ वटै जिल्लाको स्थलगत अनुगमन तथा पत्रकारहरूसँग अन्तरक्रिया गरेको थिए ।
महासंघले बुुधबार धनगढीमा प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा महासंघ पूर्वक्षेत्रीय संयोजक मनमोहन स्वाँरले सञ्चार क्षेत्रले कोरोना संक्रमणको अवस्थादेखि कोरोना संक्रमण सकिएको केही वर्षसम्म यो अवस्था झेल्नुपर्ने देखिएको बताए । उनले यो अवस्थामा सञ्चार क्षेत्रलाई जोगाउन प्रदेश र स्थानीय सरकारहरूले समेत विशेष प्याकेज ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्