प्रधामन्त्री ओलीद्वारा भारतीय संयुक्त लगानी विस्तार गर्न आग्रह «

प्रधामन्त्री ओलीद्वारा भारतीय संयुक्त लगानी विस्तार गर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्धिको मार्गमा अगाडि बढेको भन्दै भारतीय उद्योग परिसंघका अधिकारीलाई नेपालमा संयुक्त लगानी विस्तार गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल भ्रमणमा रहेकी भारतीय उद्योग परिसंघका अध्यक्ष एवं अपोलो हस्पिटल इन्टरप्राइजेज लिमिटेडका कार्यकारी उपाध्यक्ष सोबना कामिनेनीको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यो आग्रह गरेका हुन् ।
मुलुकको समृद्धिनै आफ्नो प्रमुख प्राथमिकता रहेको भन्दै प्रधानमन्त्री ओलीले दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था महासंघ र भारतीय उद्योग परिसंघबाट नेपालमा भारतीय संयुक्त लगानी बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् । “नेपालमा लगानी ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुहोस्, कस्तो सहयोग गर्नुपर्छ मलाई भन्नुहोस्, सरकार सहयोग गर्न तयार छ,” प्रधानमन्त्री ओलीले भने ।
महासंघका अध्यक्ष राणाले आगामी अप्रिलमा दुवै महासंघको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल–भारत लगानी सम्मेलनको गृहकार्य भइरहेको जानकारी गराइन् । नेपालमा भारतीय लगानी विस्तारमा सो सम्मेलन महत्वपूर्ण हुने उनको भनाइ थियो । सीआईआईका अध्यक्ष कामिनेनीले भारतीय निजी क्षेत्रका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई दिइन् । भारतीय उद्योगपतिहरूको नेतृत्वदायी संस्था सीआईआईका अध्यक्ष कामिनेनीले नेपालको आर्थिक विकासको अभियानमा सहभागी हुन भारतीय निजी क्षेत्र पनि उत्साहित रहेको भन्दै संयुक्त लगानी विस्तार, लगानीका क्षेत्र पहिचानलगायतमा आगामी दिनमा ठोस गृहकार्यसहित अगाडि बढ्नु पर्ने धारणा राखेकी छन् । साथै उनले नेपालमा भारतीय संयुक्त लगानी विस्तारमा आफू र आफ्नो संस्थाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत जनाइन् ।

 

प्रतिक्रिया दिनुहोस्