स्थानीय राजपत्रको मूल्य कति ? «

स्थानीय राजपत्रको मूल्य कति ?

स्थानीय राजपत्रको मूल्य कति पर्ला ? संघीय सरकारले नमुनाका लागि बनाएको स्थानीय तहको राजपत्रको मूल्य न्यूनतम ५ रुपैयाँदेखि अधिकतममा ९७ रुपैयाँभन्दा बढी पर्ने उल्लेख गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले स्थानीय तहका लागि बनाएको नमुना राजपत्रमा स्थानीय राजपत्रको सदस्य नभएको कुनै व्यक्ति वा संघसंस्थाले खरिद गरेर मात्र अध्ययन गर्न सक्नेछन् ।
जसमा एक पृष्ठदेखि ८ पृष्ठसम्म एक प्रतिका लागि ५ रुपैयाँ तोकिएको छ । यसैगरी ९ पृष्ठदेखि २४ पृष्ठसम्म एक प्रतिका लागि १० रुपैयाँ र २५ पृष्ठदेखि ४० पृष्ठसम्मको लागि प्रतिप्रतिको १५ रुपैयाँ मूल्य उल्लेख छ । यसैगरी ४१ पृष्ठदेखि ५६ पृष्ठसम्मको एक प्रतिको २० रुपैयाँ, ५७ देखि ७२ पृष्ठसम्मको एकप्रतिको २५ रुपैयाँ उल्लेख छ भने ७३ पृष्ठदेखि ९६ पृष्ठसम्मको एकप्रतिको ५० रुपैयाँ र ९७ देखि बढी जति पृष्ठ हुन्छ त्यसमा थप प्रतिपृष्ठ २८ पैसाका दरले थप शुल्क लिइने सकिने नमुना राजपत्रमा उल्लेख छ । मन्त्रालयले यो दर कायम नेपाल राजपत्रको प्रचलित बिक्री दरलाई आधार लिएर बनाए पनि स्थानीय सभाले औचित्य र आवश्यकताका आधारमा मूल्य दरमा परिमार्जन गर्न सक्नेछ ।
यसअघि नै स्थानीय तहले आफैंले पनि राजपत्र बनाएर कार्यान्वयनमा ल्याएको भए पनि थप सहजीकरणका लागि राजपत्रको नमुना मन्त्रालयले तयार गरेको हो । स्थानीय राजपत्र बिक्रीवापत प्राप्त राजस्व स्थानीय तहको सञ्चित कोषमा जम्मा गरिने भएकाले आन्तरिक आम्दानीको सामान्य स्रोत पनि हो । नमुना कानुन मन्त्रालयले बनाए पनि अन्तिम निर्णय स्थानीय तहको कार्यपालिकाले गर्ने निर्णय नै अन्तिम हुनेछ ।
नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) मा गाउँपालिका तथा नगरपालिकाले बनाएको ऐन, नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड स्थानीय राजपत्रमा प्रकाशन गर्नुपर्छ । नमुना स्थानीय राजपत्रमा रहेको भाग–१ मा स्थानीय सभाबाट पारित भई सभाको अध्यक्षबाट प्रमाणीकरण भएका ऐन तथा सभाका नियमहरू प्रकाशन गरिनेछ भने भाग –२ मा गाउँ÷नगर कार्यपालिकाबाट जारी नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा नेपाल सरकार, प्रदेश सरकार तथा अर्को स्थानीय तहसँग भएको सम्झौताको व्यहोरा प्रकाशन गरिनेछ ।
स्थानीय राजपत्र गाउँपालिका÷नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको आदेशानुसार प्रकाशन हुनेछ । प्रकाशन गर्दा राजपत्रको अन्त्यमा “आज्ञाले,” भन्ने व्यहोरा उल्लेख गरी प्रमुख प्रशासकीय अधिकृतको नाम र गाउँपालिका÷नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भन्ने वाक्यांश राखी वा प्रमुख प्रशासकीय अधिकृतले कुनै अधिकृतस्तरको कर्मचारीलाई अधिकार प्रत्यायोजन गरेको भए त्यस्तो अधिकारीको नाम र निजको पद उल्लेख गरी प्रकाशन गर्नुपर्ने नमुना राजपत्रमा उल्लेख छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले को पदबहालीको क्रममा स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि, २०७२ को नमुना स्वीकृत गरेको प्रवक्ता रुद्रसिंह तामाङले बताए । उनले स्थानीय तहका राजपत्रमा एकरूपता कायम होस् भन्ने अभिप्रायले ढाँचा तयार गरी उपलब्ध गराएको बताए । “नमुना राजपत्रमा भाग, अभिलेख व्यवस्थापन तथा संख्या कायम गर्ने तरिका, प्रकाशन गर्ने सामग्री तथा वेबसाइटबाट सार्वजनिक गर्नेलगायतका विषयवस्तु समावेश गरिएको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्