चैतसम्ममा कृषिमा २ खर्ब ६६ अर्ब लगानी «

चैतसम्ममा कृषिमा २ खर्ब ६६ अर्ब लगानी

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले २ अर्ब ६६ अर्ब रुपैयाँ कृषि क्षेत्रमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले प्राथमिकताप्राप्त क्षेत्र निर्धारण गरेर अनिवार्य लगानी व्यवस्था गरेपछि कृषि कर्जा बढेको हो । वाणिज्य बैंकहरूले कुल कर्जाको कम्तिमा १० प्रतिशत कृषि तथा १५ प्रतिशत ऊर्जा, पर्यटन लगायतका प्राथमिकताप्राप्त क्षेत्रहरूमा प्रवाह गर्नुपर्ने व्यवस्थाअनुसार २०७६ चैत मसान्तसम्म बैंकहरूको कृषिमा १० प्रतिशत अर्थात २६६ अर्ब, ऊर्जामा ५.३ प्रतिशत अर्थात १४० अर्ब र पर्यटनमा ४.९ प्रतिशत अर्थात १३० अर्ब रुपैयाँ लगानीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले कृषि, पर्यटन तथा उर्जामा ४१७ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेका थियो । बैंकहरूको यो लगानी भनेको कुल कर्जाको कृषिमा ९ प्रतिशत र उर्जा तथा पर्यटनमा ८.१ प्रतिशत मात्र हो । सरकारले तोकेको प्राथमिकता प्राप्त क्षेत्रको कुल कर्जालाई हेर्दा पनि बैंकहरूले चालू आर्थिक वर्षको चैतसम्ममा ५३६ अर्ब रुपैयाँ प्राथमिकता प्राप्त कर्जा प्रवाह गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १ खर्ब १७ अर्बले धेरै हो ।
आन्तरिक तथा वाह्य क्षेत्र स्थायित्व कायम राख्न प्राथमिकताप्राप्त क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, रोजगारी सिर्जना एवम् उद्यमशीलता विकासतर्फ वित्तीय साधन प्रोत्साहित गरी आन्तरिक उत्पादन प्रवद्र्धनमा जोड दिने राष्ट्र बैंकले जनाएको छ । आगामी दिनमा यो क्षेत्रको कर्जा अझै वढ्ने देखिन्छ । आन्तरिक उत्पादन वढाउनका लागि कृषि क्षत्रेमा विषेश जोड दिने नीति सकारले नै लिइसकेको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पनि कृषि क्षेत्रमा केन्द्रित देखिन्छ ।
बजेटले नै उद्यमशीलता, उतपादन तथा रोजगारी वढाउने भनेर बैंकका वित्तीय संस्थाका शाखाअनुसार सहुलियतपूर्ण कर्जा तोकिदिएको छ । बजेटले आगामी आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत वाणिज्य बैंकले प्रति शाखा कम्तीमा १० तथा विकास बैंकले प्रति शाखा कम्तीमा ५ जनाका दरले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।
हाल केन्द्रीय बैंकले सहुलियतपूर्ण कर्जा व्यवस्थालाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरूले २०७७ असार मसान्तसम्म प्रवाह गर्नुपर्ने कर्जाको न्यूनतम संख्या समेत निर्धारण गरेको छ । यसले गर्दा पनि कृषिको लगानी वढ्ने देखिन्छ । २०७६ चैत मसान्तसम्ममा बैंक वित्तीय संस्थाले २८ हजार ६५९ ऋणीहरूमा ५३ अर्ब ८७ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानीमा रहेको छ । यसमध्ये २३ हजार ४०९ ऋणीहरूमा ५० अर्ब ४७ करोड व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा र ५ हजार २५० ऋणीहरूलाई ३ अर्ब ४१ करोड रुपैयाँ अन्य प्रकारको कर्जा लगानीमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्