दाङमा निर्माण उपकरणमा आगजनी «

दाङमा निर्माण उपकरणमा आगजनी

निर्माण व्यवसायी महासंघको आपत्ति

दाङको गढवा गाउँपालिका वडा नम्बर १ जेठान गाउँस्थित राप्ती नदीको किनारामा पार्किङ गरी राखिएका पाँचवटा स्क्याभेटरमा अज्ञात समूहले आगजनी गरेको घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
सोमबार मध्यरातमा भएको आगजनीका कारण चारवटा स्क्याभेटर जलेर नष्ट भएको र बाँकी एउटामा आशिंक क्षति पुगेको महासंघका महासचिव रोशन दाहालद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ । बा.२ क. ४४८२, बा.१ क.२२७१, बा.२ क.३१४८, रा.१.ख.७१३ र एउटा अनटेस्ट स्क्याभेटमा आगजनी गरिँदा करोडौंको क्षति भएको विज्ञप्तिमा उल्लेख छ । ती स्क्याभेटर कल्याणकोट—कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका थिए । उक्त सडक खण्डको निर्माण बज्रगुरु–कान्छाराम कन्स्ट्रक्सन जेभीले गरिरहेको थियो । दुवै कम्पनी महासंघका सदस्य हुन् । कोभिड–१९ को त्रासबीच पनि राष्ट्रिय गौरवका आयोजनालाई गति दिने नेपाल सरकारको नीतिअनुसार अहोरात्र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सक्रिय निर्माण व्यवसायीलाई अज्ञात समूहबाट पटकपटक हतोत्साहित गर्ने गरी भइरहेका हिंसात्मक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।
“निर्माण व्यवसायी र उनीहरूका उपकरणको सुरक्षालाई लिएर महासंघले पटक पटक प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा समेत अज्ञात समूहको हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय हो,” महासंघको विज्ञप्तिमा लेखिएको छ । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माणकार्य ठप्प पारी सशक्त आन्दोलनमा जान बाध्य हुने बोेहरा अवगत गराउँदै महासंघले तत्काल दोषीलाई पक्राउ गरी कडाभन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीलाई क्षतिपूर्ति दिन जोडदार माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र उनीहरूका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्