गोरखामा १ सय ६५ बेडको क्वारेन्टाइन सहितको आइसोलेसन बनाइने
गोरखामा १ सय ६५ बेडको क्वारेन्टाइन सहितको आइसोलेसन वार्ड निर्माण गरिने भएको छ । कोरोना संक्रमितको संख्या थपिएमा सहज रूपमा व्यवस्थापन गर्नका लागि प्रदेश सरकार र स्थानीय तहको लागत सहभागितामा आइसोलेसन वार्ड निर्माण गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा भएको जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसहित सरोकारवालाहरूको वैठकले क्वारेन्टाइन सहितको आइसोलेसन वार्ड विस्तार गर्ने निर्णय गरेको हो ।
हाल जिल्ला अस्पताल गोरखा र वल्र्ड क्यापिटल स्कुलमा १५-१५ वेड क्षमताको आइसोलेसन छ । तर, अब गोरखा क्याम्पसमा सय बेड क्षमताको आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय भएकोे जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले बताए । सो वार्डका बिरामीको उपचार जिल्ला अस्पतालका तर्फबाट हुने भएको छ । जिल्ला सदरमुकाममा स्थापित हुने क्वारेन्टाइन सहितको आइसोलेसन स्थलको निर्माण सहयोग, समन्वय र सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायबाट गर्ने गराउने व्यवस्था मिलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला अस्पताल गोरखामा हाल १० वेड क्षमताको आइसोलेसन रहेकोमा विस्तार गरी २५ बेड पु-याउने र त्यहाँ परीक्षणको नतिजाबमोजिम सामान्य र मध्यम लक्षण भएका संक्रमितलाई उपचार गर्ने व्यवस्था मिलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत रोकाले जानकारी दिए ।
यस्तै, सम्बन्धित स्थानीय तहको ब्यबस्थापनमा सञ्चालन हुने गरी आरुघाट, गण्डकी, सिरानचोक गाउँपालिकासहित पालुङटार नगरपालिकाको उपयुक्त स्थानमा १०-१० बेड क्षमताको क्वारेन्टाइन सहितको आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आइसोलेसन वार्ड विस्तारका लागि लागत अनुमान गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने बैठकले निर्णय गरेको छ ।