भारतसँग वार्ता गर्न प्रतीक्षारत छौं : परराष्ट्रमन्त्री «

भारतसँग वार्ता गर्न प्रतीक्षारत छौं : परराष्ट्रमन्त्री

सरकारले सिमानालगायत भारतसँगका सबै समस्या वार्ताको माध्यमबाट समाधान गर्न चाहेको दोहो-याउँदै त्यसका लागि व्यग्र प्रतीक्षा गरिरहेको स्पष्ट गरेको छ ।
नयाँ दिल्लीसँग वार्ताका निम्ति निरन्तर प्रयास र ताकेता गरिरहेको र उसको प्रत्युत्तरको प्रतीक्षा भइरहेको पनि सरकारले बताएको छ ।
प्रतिनिधिसभामा विनियोजन विधेयक २०७७ माथिको छलफलका क्रममा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले वार्ताको विकल्प नसोचेको बताए ।
कूटनीतिक माध्यमबाट धेरै जटिल समस्या समाधान भएका तर्क गर्दै उनले भारतसँगका मुद्दा पनि वार्ताकै माध्यमबाट हल हुनेमा आफू आशावादी रहेको बताए ।
कोभिड–१९ को महामारीका बेला पनि चीन र भारतबीच गत शनिबार वार्ता भएको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालसँग वार्ता गर्न भारतले नमान्नुपर्ने कारण आफूले नदेखेको बताए ।
नेपाल–भारत सीमासम्बन्धी नसुल्झिएका विषयलाई सुल्झाउन कूटनीतिकस्तरमा वार्ता गर्न नेपालको तर्फबाट निरन्तर प्रयास हुँदै आएको र नेपाल–भारत सम्बन्धलाई अझ मजबुत र सुदृढ बनाउँदै लैजान इतिहासदेखि थाती रहेका विषयहरुलाई सम्बोधन गर्न जरुरी भएको उनले बताए ।
नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेक लगायत सबै मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई सुदृढ बनाउँदै लैजाने नीति सरकारको रहेको उनको कथन थियो ।
सरकारबाट सक्रिय र सार्थक कूटनीतिक प्रयास जारी रहेको तथा कूटनीतिक वार्ता मार्फत नेपालको सीमाभित्र पर्ने भूमिमाथि हाम्रो नियन्त्रण कायम गर्नेलगायत नेपाल–भारत सीमा समस्याका अन्य विषयहरुको निकास निकाल्न सरकारले हरसंभव पहल गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
परराष्ट्र मन्त्रालयले नेपालको संविधानले गरेको मार्गनिर्देशन र नीतिअनुरुप परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्दै आएको बताउँदै मन्त्री ज्ञवालीले भने, “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित तथा विदेशमा रहेका नेपाली नागरिकको हित रक्षाका खातिर सरकारले पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको छ ।”
नेपालको परराष्ट्र नीतिको एउटा प्रमुख लक्ष्य विश्वभरका विभिन्न मुलुकहरु र अन्तर्राष्ट्रिय संस्थाहरुसँग सुमधुर र फलदायी सम्बन्ध विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षाअनुरुप देश विकास र जनताको जीवनस्तर सुधार गर्न आवश्यक अनुकूल वाह्य वातावरण तयार गर्नमा नै सरकार लागेको बताउँदै परराष्ट्रमन्त्रीले परम्परागत रुपमा विदेशी सहायतामा रहिआएको मुलुकको निर्भरतालाई क्रमशः कम गर्दै लैजाने सरकारको नीति रहेको स्पष्ट पारे ।
परराष्ट्र नीतिजस्तो संवेदनशील र जटिल विषयको कार्यान्वयनमा सहयोग नपुग्ने र अव्यावहारिक धारणा सार्वजनिक गर्न नहुनेमा जोड दिँदै उनले आन्तरिक नीति र वाह्य परिस्थितिबीच तालमेल मिलाउँदै परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने वास्तविकता औँल्याए ।

 

प्रतिक्रिया दिनुहोस्