कार्गो आजदेखि सुचारु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द हुँदै आएको आयात–निर्यात कार्य सोमबारदेखि सुचारु हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा आइतबार गएको व्यवसायीहरूको टोलीसँंग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले व्यवसायीहरूसँंग भएको सहमतिअनुसार प्रबन्ध शुल्क लिएर बन्द आयात–निर्यात कार्यलाई सुचारु गर्ने विश्वास दिलाएका हुन् ।
वरिष्ठ उपाध्यक्ष मल्लको नेतृत्वमा चेम्बर कार्यसमिति सदस्य एवं भन्सार सभापति निरज राई, नेफाका सभापति प्रकाश सिंह कार्की, भन्सार एजेन्ट महासंघका अध्यक्ष भरत घिमिरे, नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष विष्णुमणि खनाललगायतको सहभागी रहेको टोलीसँंग मन्त्री अधिकारीले निजी क्षेत्रको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गरी जाने विश्वास दिलाए ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट सञ्चालित एअर कार्गो बिल्डिङबाट आयात–निर्यात गरिने माल सामानहरूको कार्गो प्रवन्ध शुल्क वृद्धि गरिएपछि व्यवसायीहरूले विरोध स्वरूप चैत १ गते बिहीबारदेखि आयात–निर्यात ठप्प पार्दै आएका थिए । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिबाट ०७४ चैत १ गतेदेखि लागू हुने गरी सूचना जारी गरी शुल्क वृद्धि गरेको थियो ।
नेपाल चेम्बर अफ कमर्सबाट बिगतमा सरोकारवाला सबै निकायहरूको छलफल गरी निजी क्षेत्रको सुझाव तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमक्ष र यस सम्बन्धमा गठित कार्गो प्रवन्ध सेवा दस्तुरसम्बन्धी उपसमितिका संयोजकलाई सुझावहरू प्रस्तुत गरेअनुसार शुल्क कायम गर्ने मौखिक सहमति भएको हो ।
नेपालको निजी क्षेत्रको कुनै पनि प्रतिनिधिमूलक संस्थासँग परामर्श तथा समन्वय नगरी एकतर्फी ढंगले शुल्क वृद्धि गरिएको र प्रस्तुत शुल्क वृद्धिले निर्यात व्यापार घटिरहेको अवस्थामा निकासी हुने वस्तुमा लागत वृद्धि हुन गई अन्तर्राष्ट्रिय बजारमा नेपाली मालवस्तुको प्रतिस्पर्धात्मक क्षमतामा हस भई व्यापार घाटा अझ बढ्न जाने स्पष्ट पार्दै व्यवसायीले विरोध गर्दै आएका थिए ।
उक्त शुल्क वृद्धिले नेपालको उद्योग तथा व्यापार क्षेत्रमा समेत दुरगामी नकारात्मक प्रभाव पर्ने र आमउपभोक्तालाई पनि गम्भीर असर पर्ने व्यवसायीको भनाइ छ । निजी क्षेत्रको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गर्न सरोकारवाला सवै निकायहरूलाई चेम्बरले यसअघि आग्रह गरेको थियो ।