दैजीछेलामा औद्योगिक क्षेत्रको डीपीआर तयार हुँदै «

दैजीछेलामा औद्योगिक क्षेत्रको डीपीआर तयार हुँदै

सरकारले घोषणा गरेको कञ्चनपुरको बेतकोट नगरपालिकाको दैजीछेलामा औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआरको काम सुरु भएको छ । औद्योगिक क्षेत्रको डीपीआर निर्माणका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको टोलीले छेला औद्योगिक क्षेत्रमा फागुन २५ गतेदेखि डीपीआरको काम सुरु गरेको हो ।
२०५२ सालमा जिल्ला वन समन्वय समिति कञ्चनपुर र साविकको दैजी गाविसको निर्णयबमोजिम दैजीका–५ र ६ हाल बेतकोट नगरपालिका–२ र ३ को छेला आसपास क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने पहल सुरु भएको छ । २०५६ असारमा जिल्ला वन समन्वय समितिले छेलामा स्थापना हुने औद्योगिक क्षेत्रलाई आवश्यक जमिन उपलब्ध गराउने सहमति गरेको थियो । २०७१ भाद्र २४ गते सामुदायिक वनको संयुक्त बैठकले औद्योगिक क्षेत्र स्थापनाका लागि जनचेतना सामुदायिक वन र बेतकोट सामुदायिक वनको जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । छेला औद्योगिक क्षेत्रका लागि २०७१ पुसमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्व सम्भाव्यता अध्ययन गरिसकेको बेतकोट नगरपालिकाले जनाएको छ ।
वन कार्यालयले काम छिटो नगरिदिँदा औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ भएको छ । वन विभागले जिल्ला वन कार्यालयलाई राय प्रतिक्रिया माग गरेकोमा सो प्राप्त भएको छैन । नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ चैत १ गतेको निर्णयले औद्योगिक क्षेत्र स्थापना गर्न चार किल्ला तोकी घोषणा भएका जग्गाको नाप जाँच र सीमा छुट्याई क्षेत्रफल यकिन गर्ने कार्य भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई जिम्मा दिएको थियो । जिल्ला नापी कार्यालय कञ्चनपुरबाट सो चार किल्लाभित्र तथा आसपासका जग्गा नाप जाँच गरी तयार पारिसकेको छ । २०७३ माघ १४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम चार किल्ला संशोधन गरी पूवतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुम खोल्सा, पश्चिमतर्फ चुरे वनक्षेत्र, दक्षिणतर्फ चाँदनी फाँटा बस्तीको चार किल्लाभित्रको जनचेतना सामुदायिक वनको करिब २ सय हेक्टर र बेतकोट सामुदायिक वनको करिब ४५० हेक्टरसमेत गरी ९ सय बिघा जग्गा कायम गरिएको छ ।
राष्ट्रिय योजना आयोगले औद्योगिक क्षेत्र स्थापना निर्माण र सञ्चालन कार्यलाई छिटोछरितो र व्यवस्थित गर्नका लागि १३औं योजनामा उद्योग क्षेत्र प्राथमिकताको क्षेत्र भएको पत्रबाट जानकारी गराएको बेतकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले बताए । गत असोज कात्तिक महिनामा २९३ बिघा जमिन किता काट भएर नेपाल सरकारका नाममा रहेको उक्त जग्गालाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा भोगाधिकारबाट दिन मन्त्रिपरिषद्ले निर्णय गरेपछि तत्काल औद्योगिक क्षेत्र स्थापना गरिने बेतकोट नगरपालिकाका पमुख चन्दले बताए । उनले भने, “अहिले डीपीआरको काम भइरहेको छ,” वन कार्यालयले ढिलाइ गर्दा औद्योगीक क्षेत्रको स्थापनामा ढिलाइ भएको उनले बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपाल सरकारको नीति कार्यक्रम तथा बजेटबमोजिम सो क्षेत्रको सम्भाव्यता अध्ययन परामर्शदाताबाट गराएकोमा अन्तिम चरणमा पुगेको बेतकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले बताए । दैजीछेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लास्टिक, इन्जिनियरिङ र फेब्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट र छडलगायतका १ सयवटा उद्योग स्थापना गर्न सकिने छ । स्थापना भएका उद्योगमा हजारौं जनाले रोजगारी पाउने बेतकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले बताए ।

नगरपालिकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने
बेतकोट नगरपालिकाको समूहले दैजीछेला औद्योगिक क्षेत्र स्थापनाका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने बेतकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले बताए । उनका अनुसार दैजीछेला औद्योगिक क्षेत्र छिटो सञ्चालनमा ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइनेछ । सरकारले दैजीछेलामा ७ नम्बर प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको भए पनि सरकारी स्तरबाटै औद्योगिक क्षेत्र स्थापना गर्न ढिलाइ भइरहँदा बेतकोट नगरपालिकाले छेला औद्योगिक क्षेत्र छिटो सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउन लागेको हो । सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र निर्माणका लागि छेला क्षेत्रमा रहेको ९ सय बिघा वनमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । गत असोज–कात्तिक महिनामा २९३ बिघा जमिन कित्ता काट भएर सरकारका नाममा रहेको उक्त जग्गालाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा भोगाधिकार दिन मन्त्रिपरिषद्ले निर्णय गरेपछि तत्काल औद्योगिक क्षेत्र स्थापना गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्