स्वच्छ र सन्तुलित आहारले शरीरलाई भाइरस र रोगमुक्त राख्न सकिन्छ

डा. गंगाप्रसाद खरेल
प्रोफेसर (खाद्य प्रविधि), त्रिभुवन विश्वविद्यालय
आइतबार मात्र विश्वभर खाद्य स्वच्छता दिवस मनाइएको छ । विश्वले दोस्रो वर्षमा खाद्य स्वच्छता दिवस मनाइरहँदा नेपालमा भने यस्तो दिवस मनाउन थालिएको १२ वर्ष पुगेको छ । संयुक्त राष्ट्र संघले ७ जुनलाई विश्व खाद्य स्वच्छता दिवसका रूपमा घोषणा गर्नुभन्दा दशक अघिदेखि नेपालमा कृषि मन्त्रालय मातहतका निकायले राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाउँदै आएका छन् । अन्न र पानीबाट बनेको मानव शरीरका लागि आवश्यक पर्ने खाद्य तत्वहरू मात्र मिलाएर खाइरहेको अवस्थामा कोरोना भाइरस मात्र नभई शरीरलाई हानि गर्ने ब्याक्टेरियासमेतबाट बच्न सकिन्छ भन्ने सन्देश विश्वभर फैलाइँदै गरेको अवस्था छ । नेपालले पनि आइतबार ‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ नाराका साथ खाद्य स्वच्छता दिवस मनाइएको छ । हाल कोरोना भाइसरले विश्वभर महामारीको रूप लिए पनि असुरक्षित खानाका कारण विश्वभर मानव स्वास्थ्य जोखिममा पर्नेको संख्या धेरै रहेको प्रोफेसर (खाद्य प्रविधि) डा. गंगाप्रसाद खरेलको तर्क छ । त्रिभुवन विश्व विद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलजीमा आबद्ध रही विभिन्न कलेजहरूमा अध्यापन गर्दै आएका खरेल स्वच्छ खाना नै सबै किसिमका भाइरस वा रोग लाग्नबाट जोगिने उपाय रहेको तर्क गर्छन् । कोडेक्स नेसनल कमिटीका विज्ञसमेत रहेका उनी नेपालीको वर्षौंदेखिको खानपान संस्कृति खाद्य सुरक्षाको दृष्टिकोणबाट उत्कृष्ट रहेकाले संरक्षण गरेर लैजानुपर्ने बताउँछन् । विश्व खाद्य स्वच्छता दिवसको सन्दर्भमा विश्वभर फैलिएको कोरोना भाइरस र खानपान तथा मानवीय व्यवहारलगायतका विषयमा केन्द्रित रहेर प्रोफेसर खरेलसँग कारोबारकर्मी किरण आचार्यले गरेको कुराकानी :
विश्वभर कोरोना भाइरसकै असर र चर्चा छ । खाद्य पदार्थ, खाद्य स्वच्छता र भाइरसको अन्तरसम्बन्धलाई कसरी लिन सकिन्छ ?
मान्छे स्वस्थ रहन वा नरहने भन्ने कुरा हामीले खाने खानामै निर्भर हुने हो । मात्रा मिलाएर खाएमा खानाले औषधिको काम गर्छ भने मात्रा नमिलाएमा खानाले नै विषको रूप असर गर्न थाल्छ । हामीले खाने खानाको माध्यमबाट भाइरस मात्र हैन, विभिन्न तत्वहरू प्रवेश गर्दैछन् । मात्रा मिलाएर, स्वच्छ खाना खाएको अवस्थामा शरीरलाई फाइदा पुग्ने हो । खानामै फाइदाजक कुरा छन् भने खानामै शरीरका लागि असरदार तत्वहरू पनि पाइन्छन् । असर गर्ने तत्वहरूलाई मात्र हेर्ने हो भने हामीले कुनै पनि खाना खान योग्य देखिँदैन । मुख्य कुरा कुनै पनि तत्वको मात्रा शरीरले पचाउन सक्ने निश्चित मापदण्ड (एसेप्टेबल लेभल) भन्दा धेरै वा थोरै छ भन्ने हो । हामीले पानीलाई स्वच्छ मान्छौं । तर, पानी पनि एकैपटक ५ लिटर खायौं भने तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्था आउँछ । जस्तोसुकै सफा पानी खानुस् तर एकैपटक धेरै खायो भने मान्छे बिरामी पर्न सक्छ । भात, रोटी, फलफूल, जुस जेसुकै कुरा किन नहोस्, एउटा मात्रा भन्दा बढी खाएमा त्यसको असर उल्टो पर्न थाल्छ ।
खानेकुरामा एसेप्टेबल लेभल हेरेर मात्र उपयोग गर्नुपर्छ । मापदण्डभन्दा बढी खानु भएन । सबै खाले खानामा कुनै न कुनै मात्रामा शरीरलाई असर गर्ने तत्व हुन्छ नै । तत्वहरूमा माइक्रो अग्र्यानिज्म (ब्याक्टेरिया), भाइरस र केमिकल प्रमुख हुन्छन् । अहिले विश्वभर नै कोरोना भाइरसको चर्चा हुने गरेको छ । यिनीहरूको लोड (मात्रा) पनि निश्चित लेभलभन्दा माथि भएमा असर गर्न थाल्छन् । माइक्रो अग्र्यानिज्म पनि सबै हानिकारक हुँदैनन्, दहीमा हुने माइक्रो अग्र्यानिज्मलाई फाइदाजनक रूपमा लिइ नै रहेका छौं । निश्चित मात्रा भन्दा कम वा बढी नहुने गरी खाएमा ब्याक्टेरियाले शरीरको नोक्सान नगरेको पाइन्छ ।
भाइरस अलिक फरक खालको तत्व हो । भाइरस सजीव वा निर्जीव के हुन्छ, अहिलेसम्म थाहा भइसकेको छैन । भाइरसमध्ये कोरोना भाइसर अहिले विश्वको टाउको दुखाइको विषय बनेको छ । अहिलेसम्मको अध्ययनअनुसार कोरोना भाइरस मानवीय तन्तु (सेल) मा मात्र रहन सक्ने प्रकारको भाइरस हो । यो विशेषगरी मानिसको नाक र मुखबाट भित्र प्रवेश गर्ने गर्छ । रगतबाट पनि यो सरेको पाइएको छैन । यसले घाँटीमा प्रवेश गरेपछि मात्र असर देखाउन थालेको देखिन्छ । रोग प्रतिरोधात्मक शक्ति बढी भएकामा यसको असर बढी देखिएको छ । र, यस्तो प्रतिरोधात्मक क्षमता खानाकै कारण बढाउन सकिने हुन्छ । त्यसैले स्वच्छ र सन्तुलित खानापान नै भाइरस जित्ने अचुक उपाय हो । लागिसकेपछि अत्तालिनुभन्दा लाग्न नदिन खानपानमै सुधार गर्नु उपयुक्त हुन्छ ।
तरकारी र खाद्यान्नबाट विषादीलगायतका केमिकलहरू पनि हामीले खाइरहेका छौं । यिनको प्रकृति र असरलाई कसरी बुझ्नु ? कसरी बच्नु ?
ब्याक्टेरियाहरू शरीरमा आफैँ वृद्धि हुने प्रकृतिको हुन्छ भने केमिकल भने बढ्दैन । तर शरीरलाई यसले असर गरिरहेको हुन्छ । विषादीजन्य वा एन्टिबायोटिक्सलगायतका केमिकल धेरै समयसम्म हावा वा पानीमा रहन सक्ने हुन्छन् । एकपटक विषादीहरू छर्केमा १० वर्षसम्म हावामा रहने प्रकृतिका पनि हुन्छन् । अर्को प्राकृतिक रूपमा पनि विषाक्त पदार्थहरू उत्पत्ति भइरहेको हुन्छन् । कसैले ल्याउनु वा हाल्नु पर्दैन । कतिपय वनस्पतिले आफ्नो सुरक्षाका लागि यस्ता विषाक्त केमिकल उत्पादन गरिरहेका हुन्छन् । कतिपय प्रजातिका च्याउमा हुने यस्तै पदार्थका कारण मानिसको ज्यान गएको देखिन्छ । मकैमा ढुसीले पनि केमिकल उत्पन्न गर्छ । यस्ता पदार्थहरू थोरै देखिए पनि शरीरमा यस्ता पदार्थ जम्मा भएर बस्ने र मात्रा बढी भएपछि असर देखाउने खालका पनि हुन्छन् । अर्को हानिकारक पदार्थमा हेभी मेटल पनि शरीरका लागि हानीकारक तत्वका रूपमा रहेका हुन्छन् ।
हामीले बुझ्नुपर्ने कुरा के छ भने केमिकल वा विषादी मिश्रित खानेकुरा मानिसले मात्र हैन, मासु वा दूधका लागि पालिने पशुपन्छीलाई पनि खान दिनु हुँदैन । विषादी वा केमिकल मिसिएको खाने कुरा गाइले वा कुखुरालाई खुवाइन्छ भने दूध वा मासुको माध्यमबाट त्यो केमिकल हाम्रो शरीरमा प्रवेश गर्न सक्छ, जुन कुरा हामीलाई थाहा हुँदैन । बिस्तारै शरीरमा जम्मा हुदै जाँदा शरीरले पचाउन सक्ने लेभलभन्दा माथि मात्रा पुग्ने अवस्था आएपछि मान्छे बिरामी पर्न थाल्छ । राम्रो आफूले खाने तर बिग्रेको गाईवस्तुलाई दिने गर्नु पनि राम्रो हैन । किनकि स्लो पोइजन जसरी अप्रत्यक्ष रूपमा हाम्रो शरीरमा प्रवेश गर्न सक्छ । त्यसैले दानामा पनि नियन्त्रण हुनुपर्छ ।
लिड, जिंकलगायतका हेभिमेटल केमिकल पनि शरीरका लागि हानिकारक मानिन्छन् । यी पनि बढ्न सक्ने र नसक्ने दुई थरीका हुन्छन् । जे–जस्तो अवस्थाका केमिकलहरू, विषादीहरू वा विषाक्त पदार्थहरू हाम्रो शरीरको मात्राले पचाउन सक्ने अवस्थामा हुँदा हानिकारण हुँदैनन् भने पचाउन सक्ने लेभलभन्दा बढी भएमा शरीर बिरामी पर्न थाल्छन् । हामीले घरमा ल्याउने तरकारी नुनपानीमा भिजाएर खाने हो भने मात्र पनि ९० प्रतिशत विषादीजन्य तत्व कम हुन्छ । खाद्य वस्तु सुरक्षित हुनु भनेको हानिकारिक मेमिकल, माइक्रोटक्सिन निश्चित मापदण्डभन्दा धेरै हुनु भएन । तुरुन्त समस्या नहुन सक्छ तर कुनै न कुनै दिन समस्या पर्न सक्छ । त्यसैले खाद्य स्वच्छतामा ध्यान दिनु नै बुद्धिमानी हो ।
अरूभन्दा पनि अहिले कोभिड–१९ बाट कसरी बच्ने भन्ने विश्व मानवको प्रमुख सरोकारको विषय बनेको छ । वास्तवमा कोरोना भाइरस कस्तो भाइरस हो र यसको रोकथाम कसरी गर्नु ?
कोभिड–१९, कोरोना भाइरस परिवारको एक सदस्य हो । यो कुरा विश्वभर सबैलाई थाहा भएकै कुरा हो । प्रखर रूपमा सर्न सक्ने प्रकृतिको भाइरस हो । यो भाइरसले मानव शरीरको अन्य कुनै अंगमा आक्रमण गर्दैन मात्र श्वास–प्रश्वास प्रणालीमा मात्र आक्रमण गर्छ । काटेको घाउबाट पनि यो सर्दैन । आँखाबाट पनि सीधै सर्ने हैन, आँखाको आँसु बगेर नाक वा मुखबाट गयो भने मात्र सर्ने हो । आँखा र कानबाट भित्र जाने भन्ने पनि भ्रण कतै–कतै पाइन्छ । यसो होइन । भित्र जाने बाटो नाक र मुख मात्र हो र त्यसपछि श्वासप्रश्वास प्रणाली हुँदै फोक्सोमा आक्रमण गर्ने हो । फोक्सोका सेलहरूलाई मार्न थाल्छ र विभिन्न खाले समस्या बढ्न थाल्छ ।
अहिलेसम्म गरिएको अध्ययनका आधारमा प्राप्त सूचना अनुसार खाद्यान्नबाट कोरोना भाइरस सरेको पाइएको छैन । प्याकेजिङमा हुन्छ-हुँदैन भन्ने थाहा छैन । तर, फोहोरबाट पनि सरेको छैन । मच्छडबाट पनि सर्दैन । कोरोना भाइरस कुनै बोट बिरुवामा पनि बाँच्न सक्दैन, जनावरको सेलमा मात्र यो बाँच्न सक्छ । जनावरको सेल पनि जहाँको सेलमा पनि बाँच्न सक्ने हैन । विशिष्टीकृत सेलमा मात्र यो बाँच्न सक्दछ । घाँटी र फोक्सोको सेल मात्र कोरोना भाइरसको अनुकूल वातावरण हो । अरू सेलबाट यो शरीरमा प्रवेश गर्नै सक्दैन । त्यसैले त मच्छडबाट नसर्ने सेल हो । हामीले श्वास–प्रश्वास मात्र जोगाए पुग्छ । बाहिरी वातावरणमा यो बाँच्न र बढ्न नसक्ने प्रकृतिको हुन्छ ।
कोरोनाका बारेमा केही विवादित कुरा पनि छ । तीन दिनसम्म प्लास्टिक र चार घण्टासम्म कपर सर्फेसमा बाँच्न सक्छ भनेर डब्लूएचओले भनेको छ । यो आफैंमा कन्ट्रोभर्सिएल छ । यो कुरा सत्य हो भने प्याकेजिङ मेटेरियलबाट सर्न सक्छ भन्ने अर्थ लाग्छ । तर, मानवको स्पेसल सेलबिना ७२ घण्टासम्म कसरी बाँच्न सक्छ भन्ने प्रश्न पनि रहेको भनाइ र एफएओको यो भनाइ आफैंमा बाझिएको छ । यसमा मैले केही भन्न सक्ने अवस्था छैन । यदि यसो हो भने चिल्लो सर्फेस अलिक खतरा छ, खस्रोमा कोरोनाको खतरा कम छ । खाद्य पदार्थको सर्फेस खस्रो प्रकारको हुने भएको जोखिम कम छ ।
कोरोना भाइरस कति मात्रामा शरीरमा प्रवेश गर्दा जोखिम बढी छ भन्ने पनि अहिलेसम्म यकिन भइसकेको छैन । १ हजार चाहिन्छ, कि १० हजार ? अहिलेसम्म जानकारी छैन । रोगप्रतिरोधात्मक क्षमता कमजोर भए पनि यसको डोज वा मात्रा कम भएका कारण असर नगर्न सक्छ । स्वच्छ मान्छे भए पनि धेरै मात्रामा प्रवेश गर्दा जोखिम बढ्न सक्छ । तर, कति मात्रालाई मान्ने भन्ने स्पष्ट अध्ययनको निक्र्योल नभइसकेको हुनाले यस विषयमा थप भन्न सकिने अवस्था छैन । तर ६५ डिग्री सेल्सियसमा कोरोना भाइरस बाँच्न नसक्ने तथ्यहरू छन् । हातले छुँदा ठिक्क तातो लाग्ने वस्तु ५५ डिगी हुन्छ भने उमालेको वा तताएको वस्तुमा कोरोनाको अस्तित्व नरहन सक्छ । तताएर खाना खाएमा सर्दैन, तातो चियाबाट सर्दैन, हामीले खाने दूधबाट पनि सर्दैन । आमालाई भाइरस लागेको तर बच्चालाई नसरेको कुरा पनि आइरहेको छ । अहिलेलाई यकिन नभएको कुरा चिस्यानमा हो । फिजिङ गर्दा भाइरस बढ्न सक्दैन, घट्न सक्छ तर बाँचिरहन्छ वा नष्ट हुन्छ भन्ने पनि यकिन छैन । तातोमा मात्र मर्छ भन्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । फ्रिजमा राखेको कुरा पनि तताएर खायो भने भाइरसको जोखिम हुँदैन ।
कोरोना पनि उस्तै मान्छेलाई लाग्ने, छेउमै अर्कोलाई नलाग्ने पनि हुँदो रहेछ । औषधि पनि छैन । यसबाट बच्नु कसरी ?
कसैलाई केही पनि नहुने पनि हुन्छ । यो भाइरसको विशेषता ठ्याक्कै यसै भन्न सकिँदैन । सजक हुने हो । अहिलेसम्म मान्छेबाट मान्छेमा मात्र सरेको निश्चित हो । त्यसैले एक व्यत्तिबाट अर्को व्यक्तिसम्म सर्न नदिन उपायहरू अपनाउनुपर्छ । पानीको सानो कणबाट मात्र भाइरस सर्छ । खोक्दा वा हाछ्युँ गर्दा ख्याल गर्नुपर्छ । एक मिटरको दूरीमा श्वासप्रश्वासबाट सर्दैन, तर हाच्छ्युँ गर्दा सर्न सक्ने भएकाले दुई मिटरको दूरी कायम गर्ने तरिका यसै कारण भनिएको हो । यससम्बन्धी डब्लूएचओको मार्गनिर्देशन पालना गर्नु उपयुक्त हो । मास्क लगाएर मात्र पनि हुने होइन । मास्क लगाएको मान्छेले पटक–पटक हातले मास्क छुने गरेको पनि पाइन्छ । ख्याल गर्नुपर्ने कुरा भनेको मुख र नाकमा कतैबाट पनि भाइरस नपसोस् भन्ने नै हो ।
कुनै पनि भाइरसको औषधी छैन । कोरोनाको पनि छैन । कतिपयको भ्याक्सिन छन् । भ्याक्सिनले रोग प्रतिरोधात्मक क्षमता बढाउने हो । अहिलेसम्म भ्याक्सिन छैन । रोकथामका लागि आफैंले सुरक्षात्मक उपाय अपनाउने र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै प्रमुख उपाय हो । हाम्रो शरीरको आफ्नै प्रतिरक्षात्मक प्रणाली हुन्छ । यसका लागि हाम्रो शरीरको मुटु, फोक्सो, कलेजोलगायतका अंगहरूले राम्रोसँग काम गरेको हुनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने मुख्य कुरा भनेकै खाना हो । हामीले जस्तो खान्छौं, शरीर त्यस्तै बन्ने हो । दोस्रो शारीरिक अभ्यास वा व्यायाम नियमित गर्नुपर्छ । तेस्रो पक्ष आराम र शान्ति हो । ध्यान, योग आदि गर्ने प्रचलन बढेको छ । यसको अन्तिम उद्देश्य आराम र मनशान्ति नै हो । वातावरण र जिनको पनि प्रभाव रहन्छ । खाने कुरालाई ध्यान दिइयो भने जेनेटिक समस्यालाई पनि समाधान गरेको पाइएको छ । क्यान्सर वा मधुमेह भएका बाबुआमाबाट छोराछोरीमा पनि सर्न सक्ने सम्भावनालाई पनि सन्तुलित आहार, व्यायाम र मन शान्तिले हटाउन सकिन्छ । आवश्यकताका आधारमा, अपुग भएमा भिटामिनहरू खान सकिन्छ ।
यी र यस्ता सुरक्षात्मक उपायका अतिरिक्त खाने कुराको महत्व बढिरहेको देखियो । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित र स्वस्थ आहारका लागि टिप्स के के छन् ?
खानेकुरा जहिले पनि मिक्स (मिश्रित) र कम प्रशोधन भएको खाना खानु पहिलो टिप्स हो । ब्राउन राइस, रोटी, ढिंगो, फापर, क्वाँटी, थरीथरीका तरकारी, विभिन्न थरीका दाल मिसाएर खाने गर्नु शरीरलाई लाभदायक छ । जुसको सट्टा सिधै फलफूल खानु राम्रो हो । साग पनि कहिले तोरी, कहिले रायो, कहिले चम्सुरको खानुप¥यो । दोस्रो टिप्स भनेको जहिले पनि हामीले रंगीत फलफूल वा तरकारीको प्रयोग बढी गरौं । जस्तै गाजर, फर्सी, भन्टा, ब्रोकाउली खानुहोस् । सबै खाले खानुहोस् तर फलफूल रोज्नुहोस् । तर, प्रशोधित वा कृत्रिम रंगको प्रयोग नगर्नु ।
तरकारीमा विषादीको प्रसंग माथि पनि आयो । नेपालमा तरकारीमा अलिक बढी समस्या रहेको कुरा आइरन्छ । विषादीको शंका लागेमा नुन–पानीमा डुबाएर दुई घण्टा राख्नुभएमा ९० प्रतिशत विषादी हटेर जान्छ । अर्को विकल्प भनेको भेनेगार छ भने भेनेगार हालेर डुबाउनाले पनि विषादीमुक्त गर्न सकिन्छ । गृहिणी वा बच्चाले भनेको नमान्ने गरेको पनि देखिन्छ । यतिबेला भन्दा मान्छन् । सकेसम्म जनावजन्यभन्दा वनस्पतिजन्य खानेकुरा रोज्नु राम्रो हो । मासु नखानुहोस् त भन्दिनँ, तर सकेसम्म भेज खाँदा बढी सुरक्षित हुन सकिन्छ । हप्तामा एक दिन खानु समस्या होइन तर दैनिक मासु खानुको साटो वनस्पतिजन्य उत्पादन रोज्दा राम्रो ।
बिहान–बेलुकाको खाना मात्र नभई तरकारी, फलफूल र गेडागुडी खानु शरीरका लागि राम्रो हो । नेपालको राम्रो पक्ष भनेको तरकारी धेरै र थरीथरीका खाने गरिन्छ । विदेशमा यो अलिक कम प्रचलन छ । सबैभन्दा राम्रो बानी भनेको पेय पदार्थमा पानी पिउनु राम्रो हो । पेय पदार्थमा ग्रीन टी र पानी नै छान्नुहोस् । चिया कफी खाने हो भने चिनी नहाली खानुपर्छ । दूध हालेको चियाको साटो दूध मात्र वा दूध नहालेको चिया मात्र खानु राम्रो । बजारमा पाइने प्रशोधित पेय पदार्थ वा अल्कोहलको पदार्थ कम खानु राम्रो । नखाए झन राम्रो । रेड वाइन स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने एक खालको भ्रम पनि छ । रेड वाइनमा भएको अल्कोहलले गर्दा राम्रो हैन, प्राकृतिक रंगका कारण राम्रो भनेको छ । रंग नै खान किन वाइन खानु, फलफूल खानु राम्रो । अल्कोहल खानु भनेको लोग्नेमान्छेले दुई ड्रिंग्स र छोरीमान्छेका लागि एक ड्रिक्स खानु पाच्य हुनसक्छ भन्ने छ । फाइदाजनक भने हैन ।
गुन्द्रुक, सिन्की, मुलाको अचार, मस्यौरा, किनेमा जस्ता प्राकृतिक रूपमा बनाइएका राखिएका वस्तु खानु राम्रो । जुजु धौ खान सक्नुहुन्छ । घाँटी दुख्या वा टन्सिल भएको बेला बाहेक यी वस्तुले फाइदा गर्छन् । चिनी राखिएका वस्तु (मिठाईहरू) सकेसम्म नखानुहोस्, खाएमा पनि निकै कम मात्रामा खानु पर्छ । सकेसम्म भिटामिनयुक्त खाद्यवस्तु छनोट गर्नु राम्रो । उच्च तापक्रममा पठाइएका खानेकुरा खानु हुँदैन । ससेज डीप फ्राइ गरेर खाने सेकुवा खाने बानी राम्रो होइन । यस्तो बानी पनि परिवर्तन गर्नुपर्छ । यी कुरा सुधार्न सकेमा कोरोना मात्र होइन, विभिन्न खाले रोगबाट मुक्त हुन सकिन्छ ।