कोहलपुरसम्म भारतीय रेल विस्तार गरिने

बाँकेको कोहलपुरसम्म भारतीय रेल विस्तार गर्ने योजनाका साथ सर्भेक्षण कार्य सुरु भएको छ । भारतको गोण्डादेखि रुर्पडिहा हुँदै नेपालको कोहलपुरसम्म विद्युतीय रेल पु¥याउने योजनाको सर्वे भारतको पूर्वोत्तर रेल्वे विभागले गरिरहेको छ । भारतीय टोलीले नेपाली अधिकारीसँग दुई चरणमा छलफल गरेर सर्वे गरेको हो ।
सर्भेक्षणको जिम्मेवारी लिएको आरके टेक्नो प्रालि गोरखपुरका इन्जिनियर सन्तोष त्रिपाठीको समूहले काम गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १२ दिनभित्र रुपैडिहा–कोहलपुर रेललाइन सर्वेको काम सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । भारतीय रेललाई सीमापारि रुपैडिहादेखि नेपालगन्ज हुँदै कोहलपुर लगेर पूर्व–पश्चिम रेल्वे लाइनमा जोड्ने दुवै देशबीच सहमति भएको केसीले बताए । यसअघि गतसाता भारतीय रेल विभागका प्रमुख सिनियर इन्जिनियर बीके सिंह नेतृत्वको ४ सदस्यीय टोलीले नेपालगन्जमा आएर नेपाली अधिकारीसँग पहिलो चरणको छलफल गरेको थियो । सो छलफलमा नेपालका तर्फबाट सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायको नेतृत्वको टोली सहभागी थियो । त्यसपछि भारतीय टोलीसँग प्राविधक पक्षबारे अर्को छलफल पनि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासनको तर्फबाट प्रशासकीय अधिकृत गणेशबहादुर शाहीले भारतीय अधिकारीलाई सर्वेमा सघाइरहेका छन् । भारतीय पक्षले अहिले उत्तर प्रदेशको गोण्डा जक्सनदेखि रुपैडिहासम्म इलेक्ट्रिक रेल लाइन विस्तार गरिरहेको छ । गोण्डादेखि बहराइचसम्मको लाइन विस्तार कार्य अन्तिम चरणमा रहेको र आगामी एक वर्षभित्र रुपैडिहाबाट विद्युतीय लाइन (ब्रोड गेज) विस्तार भई सेवा सुरुवात हुने भारतीय अधिकारीले बताएका छन् ।
नेपालको लाइन विस्तार योजना अर्थात् पूर्व–पश्चिम रेल्वेसँग भारतले सम्पर्क जोड्न चाहेको बुझिएको प्रमुख जिल्ला अधिकारी केसीले भने, “कोहलपुर लगेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको रेललाइनमा रुपैडिहाको कनेक्सन राख्न खोजिएको हो ।”
मंसिर महिनामा पूर्व–पश्चिम रेल्वे विस्तारका लागि सर्भेको काम भइसकेको बताउँदै प्रजिअ केसीले भने, “उक्त लाइनमा नै भारतीय रुचि रहेको देखियो ।” महेन्द्र राजमार्गको ४–५ किमि छेउमै पर्ने गरी दक्षिणतर्फ रेल्वे लाइन विस्तारको लागि सर्भे भएको छ । नेपाल रेल्वे विभागका कर्मचारी र इन्जिनियर सम्मिलित एउटा टोलीले पूर्व–पश्चिम क्षेत्रमा विस्तार गरिने रेल्वे लाइनको पूरै सर्भे गरेको थियो । “यद्यपि ठेक्का र निर्माण भारतीय लगानीमा हुने भनिएको छ,” नेपाली अधिकारी भन्छन्, “हुलाकी राजमार्गको टुंगो नलागेको स्थितिमा रेल्वे भारतीय पक्षले निर्माण गर्ने विषय त्यति प्रभावकारी मान्न सकिँदैन ।”
रुपैडिहादेखि गोण्डासम्म ११० किमि सुचारु रहेको रेल्वे लाइन कोहलपुरसँग जोडिएपछि १८ किमि थप हुनेछ । सीमावर्ती क्षेत्रबाट भारतको ठूला रेल्वे लाइनसँग जोड्ने सम्पर्क लाइनको रूपमा पनि रुपैडिहा गोण्डा लाइनलाई लिइएको छ । रुपैडिहादेखि नेपालगन्जको पूर्वतर्फ हुँदै नेपालगन्ज विमानस्थलको दक्षिणबाट सर्वे गर्दै राँझादेखि नेपालगन्ज–कोहलपुर सडकखण्डको पश्चिमतर्फबाट रेल लाइन विस्तारका लागि सर्वे भइरहेको इन्जिनियर त्रिपाठीले बताए । १२ दिनको सर्वेपछि नेपाल रेल्वे र भारतको पूर्वोत्तर रेल्वेलाई सर्वे प्रतिवेदनसहित लाइन नक्सा जिम्मा लगाइने उनले बताए ।
रेल लाइन बिछ्याउने जिम्मेवारी पाएको निर्माण कम्पनीले यही नक्साअनुसार नै निर्माणकार्य गर्नुपर्ने जनाउँदै उनले नक्सा तयार भइसकेपछि एक पटक पुनः दुवै देशका उच्च रेल्वे अधिकारीले नक्साकंनको स्थलगत अवलोकन गर्ने जनाएका छन् । २० जुलाई २०१७ मा सचिवस्तरीय निर्णयले रेल विस्तारका लागि सर्वे टोली गठन गरेको थियो ।