महामारीपछि वित्तीय सहकारीका सम्भावित चुनौती र अवसर «

महामारीपछि वित्तीय सहकारीका सम्भावित चुनौती र अवसर

सहकारी एकीकरणमार्फत ठूलो र विशाल सहकारीमार्फत सदस्यहरूका हरेक वित्तीय आवश्यकताहरू समाधान गर्नुपर्नेछ ।

 चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका कारण हाल विश्व नै आक्रान्त बनेको अवस्था छ । यो धर्तीको सर्वश्रेष्ठ प्राणी मानवले सबै कुरालाई जितेर आजको शताब्दीसम्म आइपुग्दा मानिसले जित्न नसक्ने कुनै पनि कुरा छैन भनी प्रमाणित हुँदै गइरहेको अवस्थामा मानिसको आँखाले समेत देख्न नसक्ने सूक्ष्म जीवाणुको संक्रमणबाट बच्न मानव जाति हाल घरभित्र आफैं नजरबन्दमा बस्नुपरेको अवस्था छ । विश्वका अधिकांश मुलुक हाल लकडाउन (बन्दाबन्दी) मा छन् । नेपाल पनि हाल लकडाउन (बन्दाबन्दी) मै रहेको छ । अत्यावश्यक सेवाबाहेक पूरा देशका सहरहरू सुनसान छन् भने आर्थिक गतिविधिसमेत ठप्पजस्तै छन् । यो लकडाउन (बन्दाबन्दी) को समय अझ कति समय थप हुँदै जाने हो त्यसको समेत अनुमान गर्न सकिने अवस्था छैन । जबसम्म यस भाइरसको संक्रमण पूर्ण रूपमा रोकिँदैन तबसम्म घरभित्र नै बसी अत्यावश्यक कामका लागि निस्कनुपरेमा सामाजिक दूरी कायम गर्नु नै यसको रोकथामको उत्तम उपाय हो । 

यस्तो विषम परिस्थितिमा वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूलाई यसको प्रत्यक्ष असर परेको छ । यस कोरोना भाइरसबाट बच्नका लागि आवश्यक पर्ने सुरक्षा सामग्री जस्तै: माक्स, पञ्जा तथा सेनिटाइजर आदिको अभावका कारण यस विषम परिस्थितिमा समेत आफ्ना सदस्यहरूलाई सेवा प्रदान गर्न चाहने सहकारी संस्थाहरूले समेत सेवा दिन सकेका छैनन् भने अर्कातिर संस्थाका कर्मचारीहरूलाई आवतजावत गर्न सहज रूपमा अनुमतिसमेत सम्बन्धित निकायले दिने गरेको छैन । यो परिस्थितिपछि वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूले सामना गर्नुपर्ने चुनौती र ती चुनौतीहरू सँगसँगै आउने अवसरहरूका बारेमा चर्चा गरौँ ।

चुनौतीहरू
१. तरलता संकट : यो लकडाउनको अवधि समाप्त भई सामान्य अवस्था आएपछि सदस्यहरूको अत्यधिक बचत फिर्ताको माग बढ्नेछ भने ऋणको समेत अध्यधिक माग आउने देखिन्छ । यो तरलताको समस्या आउन सक्ने कुरालाई सबै वित्तीय सहकारीहरूले आकलन गरी संस्थामा भएको बचतको आधारमा राख्नुपर्ने सामान्य अवस्थाको तरलता दरभन्दा केही बढी नै व्यवस्थापन गर्न सक्नुपर्छ ।
२. ऋणमा अत्यधिक भाखा नाघ्ने : लकडाउन (बन्दाबन्दी) पछि विश्व अर्थतन्त्र नै आर्थिक मन्दीमा जान सक्ने विश्लेषणहरू भइरहेको सन्दर्भमा त्यसको चपेटाबाट नेपाल पनि अछुतो रहन सक्दैन । तसर्थ सामान्य अवस्था आए पनि आर्थिक गतिविधिमा सहजता आउनका लागि अर्को एक वर्षभन्दा बढी लाग्ने विज्ञहरूले अनुमान गरेका छन् । सम्पूर्ण उद्योग, कलकारखाना, व्यापार, व्यवसायहरू नियमित अवस्थामा सुचारु हुन समेत सयम लाग्ने हुन्छ, तसर्थ संस्थाबाट लगानी गरेका ऋणमा नियमित किस्ता तिर्न सक्ने सदस्यहरूको अवस्था रहँदैन ।
३. बचतमा कमी : लामो समयको लकडाउन (बन्दाबन्दी) पछि सदस्यहरूले बचत जम्मा गर्ने सम्भावना केही समय सम्म नरहने तथा जम्मा गरेको बचत रकम समेत झिक्ने अवस्था आउनेछ ।
४. आर्थिक मन्दी : विश्वमा नै आर्थिक मन्दीको अवस्था आउनेछ र जसको प्रत्यक्ष असर हाम्रो जस्तो देशलाई पर्नेछ । यसबाट हाम्रा सदस्यहरूको आर्थिक कारोबारमा कमी आई सहकारीको बचत वृद्धि लगायतको सम्पूर्ण कारोबारमा प्रत्यक्ष असर पर्नेछ ।
५. ऋणी सदस्यहरू पलायन हुने सम्भावना : सहकारी संस्थाबाट ऋण दिई कुनै व्यापार¬–व्यवसाय गरिरहेका सदस्यहरूको व्यवसाय धराशायी भई हाल बसेको स्थानबाट नै पलायन हुने अर्को ठूलो चुनौती पनि हाम्रो सामु रहेको छ ।
६. रेमिट्यान्समा कमी : अधिकांश ग्रामीण क्षेत्रमा सहकारी संस्थाबाट ऋण लिई वैदेशिक रोजगारीका लागि गएका मानिसहरूको काम समाप्त भई वा कम्पनी बन्द भई रेमिट्यान्समा अत्यधिक कमी आउने भएकाले यसको प्रत्यक्ष÷अप्रत्यक्ष असर सहकारी क्षेत्रमा पर्ने देखिन्छ ।
७. बेरोजगारी समस्या : स्वदेश तथा विदेशमा काम गरिरहेको धेरै मजदुरको हाल भइरहेको लकडाउन (बन्दाबन्दी) मा उद्योग, कलकारखानाहरू बन्द भई कामबाट निकालिएको अवस्था छ । यो क्रम अझै बढ्ने सम्भावना समेत रहेको छ भने वैदेशिक रोजगारीमा जानेहरूलाई त्यहाँको सरकारले आफ्नो देश फर्कनका लागि अनुरोध गरिरहेको अवस्थामा ती सबै मानिसहरू नेपाल फर्कनुपर्ने अवस्था आएमा बेरोजगारी समस्या झन विकराल हुने देखिन्छ ।
८. स्वास्थ्य समस्या : लामो समयको लकडाउन (बन्दाबन्दी) खुलेपछि मानिसहरूको आवतजावत बढी हुने, काम गर्ने शैलीमा परिवर्तन हुने, प्रदूषण बढ्ने आदि कारणहरूबाट स्वास्थ्यमा अनेकन समस्याहरू आउने देखिन्छ । यसका लागि सदस्यहरूलाई धेरै आर्थिक भार पर्न जाने जसको असर सहकारीको कारोवारमा समेत पर्ने देखिन्छ ।
९. मूल्यवृद्धि तथा भोकमरी : देशमा मूल्यवृद्धिको अवस्था आउने कुरामा कुनै दुईमत नै छैन । यसको प्रत्यक्ष असर वित्तीय कारोबार गर्ने सहकारी संस्थामा समेत पर्न जान्छ । साथै दैनिक ज्यालादारीमा काम गर्ने अधिकांश मानिसले खान नपाउने अवस्थामा पुग्ने र देशका भूमिहीन, मजदुरलगायत अतिविपन्न वर्गमा भोकमरीको समस्यासमेत देखिन सक्छ ।
१०. सुरक्षा चुनौती : जब राज्यमा आर्थिक मन्दी, भोकमरी, मूल्यवृद्धिजस्ता कुराहरू हुन्छन् तब चोरी–डकैती, लुटपाटका घटनाहरू बढ्ने भएकाले सुरक्षा चुनौतीसमेत आउनेछ ।
११. सानो पुँजी हुने सहकारी संस्थाहरूलाई संकट : लकडाउन (बन्दाबन्दी) पछिको अवस्थामा सदस्यहरूलाई तरलता व्यवस्थापन गरी एकैपटक धेरै संख्यामा बचत फिर्ता तथा अत्यधिक ऋणको मागलाई धान्न नसक्ने सहकारी संस्थाहरूलाई ठूलो संकट हुने देखिन्छ ।
१२. प्रविधिको प्रयोग गर्न नसक्दा आर्थिक भार : अबको वित्तीय सहकारीहरूको अर्को टड्कारो चुनौती भनेको आधुनिक प्रविधि नै हो । सानो पुँजी तथा ग्रामीण समुदायमा चलेका सहकारी संस्थाहरूले आधुनिक प्रविधिको प्रयोग गर्न सक्ने अवस्था छैन भने आधुनिक प्रविधिको प्रयोग गर्न सक्ने सहकारी संस्थाहरूका लागि समेत प्रविधिको प्रयोगका लागि आर्थिक भार हुने देखिन्छ ।
१३. सदस्यता त्याग्ने दरमा वृद्धि : मानिसहरूले जुन संस्थाबाट आधुनिक तथा नवीनतम सेवा प्राप्त गर्छ त्यहीं कारोबार गर्ने हुन्छ । जुन सहकारी संस्थाले समयानुकूल आफूलाई प्रविधिमैत्री र सुविधा सम्पन्न बनाई अगाडि बढाउन सक्छ त्यही सहकारीले मात्र आफ्ना सदस्यहरूलाई जोगाइराख्न सक्नेछन् ।
माथि उल्लिखित विभिन्न चुनौतीहरू आउन सक्ने अनुमान गरिए पनि यदि चुनौतीहरूको सामना गर्दै अगाडि बढ्न सकेमा निम्न अनुुसारका अवसरहरू समेत रहेका छन् ।

अवसरहरू :
१. विद्युतीय सेवा तथा आधुनिक प्रविधिको प्रयोग गर्न सकिने : चुनौतीसँगसँगै अवसरहरू पनि आउने गर्छन् । अब सबै सहकारीहरू प्रविधिमा जानुपर्ने बाध्यता नै भएकाले प्रविधिको विकास र विस्तारका लागि ठूलो अवसरको समय आएको छ । प्रविधिका लागि सेवा प्रदायक कम्पनीहरूलाई समेत फाइदा हुने र सदस्यहरूले समेत बैंक तथा वित्तीय संस्थाहरूले जस्तै सेवाहरू प्राप्त गर्ने अवसर रहेको छ ।
२. सहकारीमार्फत कृषि तथा स्थानीय उत्पादनमूलक क्षेत्रमा लगानीको अवसर : आधुनिक कृषिमार्फत विषादीरहित अर्गानिक खेती गर्न सकेमा त्यसको माग प्र्रचुर रहेकाले सदस्यहरूलाई कृषिमा लगानीका लागि अग्रसर गराउन सकिने अवसर रहेको छ । साथै स्थानीय उत्पादनहरूको समेत माग बढ्ने भएकाले यस क्षेत्रमा समेत ऋण लगानी गर्ने अर्को राम्रो अवसर रहेको छ ।
३. सहकारीमार्फत स्वास्थ्य क्षेत्रमा लगानीको अवसर : मानिसको स्वास्थ्य नै सबैभन्दा महŒवपूर्ण कुरा रहेछ भन्ने कुराको चेतना अहिले सबैमा आएको छ । तसर्थ सदस्यहरूलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्नका लागि सहकारीहरूलाई अर्को अवसर रहेको छ ।
४. मितव्ययितामा वृद्धि : सदस्यहरूमा फजुल खर्चमा कटौती गरी विषम परिस्थितिका लागि वित्तीय साक्षरता तथा विभिन्न सचेतना कार्यक्रमहरूमार्फत बचतको महत्व बुझाउन सकेमा बचत बृद्धिको राम्रो अवसर समेत देखिन्छ ।
५. सहकारीमार्फत पर्यटन क्षेत्रमा लगानीको अवसर : नेपालमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको कुरा हामी सबैलाई थाहा भएको कुरा नै हो । यदि हाम्रा सदस्यहरूमार्फत पर्यटन क्षेत्रमा लगानी गर्न सकेमा यसले बेरोजगारीको समस्या कम गर्ने, विदेशी मुद्रा आर्जन तथा समग्र देशको अर्थतन्त्रमा समेत योगदान पुग्ने अवसर रहेकोछ ।
६. विदेश पलायनमा कमी : हालको यो विषम परिस्थितिमा मानिसहरू परिवारबाट छुट्टिएर एकान्तबासमा विदेशी भूमिमा बस्नुपरेको पीडाका कारण नेपालमै आइ केही गरौं भन्ने भावनमा वृद्धि हुनेछ, जसका कारण सहकारी मार्फत साना तथा मझौला उद्योगहरूमा लगानी गर्न सकिने, आत्मनिर्भरतामा बृद्धि हुने, स्वदेशमा नै रोजगारीको अवसरहरू सिर्जना हुने देखिन्छ ।
७. सहकारी एकीकरणको अवसर : देशमा आउने आर्थिक संकट, तरतलाको अभाव, प्रविधिमा जानुपर्ने बाध्यता, दक्ष कर्मचारीको अभाव, सदस्यता त्यागी सुविधायुक्त संस्थामा सदस्यहरू जाने क्रम जस्ता कारणले अबको अवस्थामा सानो, छरितो, सुन्दर र आफ्नै सहकारी होइन ठूलो, सक्षम, गुणस्तरीय र विशाल सहकारी निर्माणका लागि एकीकरण एकमात्र उत्तम विकल्प रहेको छ ।
८. दक्ष र प्रविधिमैत्री व्यवस्थापनको विकासको अवसर : अब हरेक सहकारी संस्थाहरूले विद्युतीय कारोबार तथा नयाँ नयाँ प्रविधिहरूको प्रयोग अनिवार्य गर्नैपर्ने भएकाले त्यसका लागि दक्ष र प्रविधि चलाउन सक्ने कर्मचारीहरूको विकास भएमा थप रोजगारीका अवसरहरू देखिन्छन् ।
९. समुदायमा आधारित हुने : सहकारी संस्थाका नाममा विभिन्न विकृति तथा विसंगतिहरूको सामना गरिरहेको सहकारी क्षेत्रमा अव समुदायमा आधारित भई सेवा प्रवाह गर्न सकेमा मात्र अभियानमा टिकिरहने अवस्था आएको छ । सदस्यहरूले आफ्नोपन प्राप्त गर्न सकेमा मात्र विषम परिस्थितिमा समेत साथ दिने भएकाले सहकारीको भावना, मूल्य, मान्यता र सिद्धान्तमा आधारित भई सहकारी संस्था सञ्चालन गर्नका लागि सबैलाई यो महामारीले एउटा पाठ भने अवश्य सिकाउनेछ ।
अन्त्यमा, अत्याधुनिक प्रविधिको प्रयोगबाट विद्युतीय भुक्तानीमा जोड दिनु अबको आवश्यकता रहेको छ । सहकारी एकीकरणमार्फत ठूलो र विशाल सहकारीमार्फत सदस्यहरूका हरेक वित्तीय आवश्यकताहरू समाधान गर्नुपर्नेछ । यस्ता संकटका बेलामा समेत निरन्तर वित्तीय सेवाहरू प्रदान गर्न सकिने वातावरण निर्माण गर्नुपर्नेछ । अबका युवा पुस्तालाई आकर्षण गर्ने सक्ने वस्तु तथा सेवाहरूको विकासका लागि संस्थाहरूले सोच्नुपर्ने बेला आएको छ ।
(लेखक सामूहिक साकोस, भक्तपुरका प्रमुख कार्यकारी अधिकृत, नेफ्स्कूनका पूर्व तालिम अधिकृत तथा सहकारी प्रशिक्षक हुन् ।)

 

प्रतिक्रिया दिनुहोस्