मापदण्डविपरीतका ६३ वटा फिरफिरे बन्द «

मापदण्डविपरीतका ६३ वटा फिरफिरे बन्द

तोकिएको मापदण्डविपरीत सञ्चालनमा रहेका नुवाकोटका ६३ वटा बालुवा प्रशोधन उद्योग (फिरफिरे) जिल्ला अनुगमन समितिले बन्द गराएको छ ।
उद्योग विकास शाखाको आयोजनामा जिल्ला अनुगमन समितिको संयुक्त टोलीले गरेको अनुगमनको क्रममा बुधबारदेखि शुक्रबारसम्म तीन दिनमा मापदण्डविपरीतका उद्योग बन्द गराइएको शाखाका निमित्त निर्देशक विजय भट्टराईले जानकारी दिए । बन्द भएका उद्योग विदुर र बेलकोटगढी नगरपालिका क्षेत्रमा सञ्चालनमा थिए । दर्ता भएर मापदण्ड पूरा नगरेका ६३ उद्योगका धनीलाई बन्द गर्न पत्र दिइएको भट्टराईले बताए । भट्टराईको अनुसार अनुगमनको क्रममा दर्ता नभई सञ्चालनमा रहेका २६ फिरफिरेलाई कारबाही स्वरुप काम बन्द गराई हटाउन स्थलगत अनुगमनको क्रममा पत्र काटिएको छ । “उद्योगीले बालुवा प्रशोधनपछि उत्पन्न हुने धमिलो पानी सिधै नदीमा मिसाएको पाइएपछि बन्द गराउन बाध्य भएका छौं,” उनले भने, “बालुवा प्रशोधनपछि तीन तहमा हुने पानी शुद्धीकरण पोखरी निर्माण गर्नुपर्ने लगायतका त्रुटि सुधार गरेपछि मात्र सुचारु गराउने छांै ।”
जिल्लाका फिरफिरे उद्योगले बालुवा प्रशोधनपछि पानी शुद्धीकरण नगरी सिधै त्रिशूली, तादीलगायतका नदीमा मिसाएर प्रदूषण गरेको चौतर्फी गुनासोपछि जिल्ला अनुगमन टोलीले संयुक्त रुपमा बुधबारदेखि स्थलगत रूपमा सुरु भएको अनुगमन अझै केही दिन जारी रहने छ ।
टोलीमा जिसस प्रमुख शन्तमान तामाङ, प्रजिअ वीरेन्द्र यादव, प्रहरी उपरीक्षक वसन्त कुंवर, सम्बन्धित स्थानीय तहका प्रमुख र वडाध्यक्षहरू, उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीलगायत छन् ।

जनप्रतिनिधिकै उद्योग अवैध
उद्योग सञ्चालनको अवस्था अनुगमन टोलीमा रहेका जनप्रतिनिधिकै उद्योगसमेत मापदण्डविपरीत रहेको भेट्टिएको छ । अनुगमनको क्रममा विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाभित्र दुई वडाध्यक्षमार्फत् सञ्चालन भएको उद्योगले मापदण्ड पूरा नभएको पाइएपछि बन्द गराइएको उद्योग शाखाले जनाएको छ । “उद्योग सञ्चालनमा शक्ति समूहको प्रभावले मापदण्ड नपुगेको गुनासो व्यापक छ ।” शाखाका नि.निर्देशक भट्टराईले भने, “संयुक्त टोलीले उद्योगले मापदण्ड पूरा नगरेको पाइएपछि सँगसँगै अनुगमनमा हिँडेका जनप्रतिनिधि सञ्चालक रहेका उद्योगसमेत बन्द गराइएको छ ।”

दर्ता नै नभएका उद्योग छ्यापछ्याप्ती
त्रिशूलीलगायतका नदीमा बढ्दै गएको धमिलो पानीको प्रदूषण नियन्त्रण गर्न धादिङमा झंै नुवाकोटमा सुरु भएको अनुगमनमा दर्ता भएकै हाराहारीमा दर्ता नभएका उद्योग सञ्चालन भएको पाइएको छ । बुधबारदेखि सुरु भएको अनुगमनमा तीन दिनमा ६३ उद्योग अवैध रहेकोमा २६ उद्योग दर्ता नै नभई चल्दै आएको पाइएपछि बन्द गरी हटाउन उद्योग शाखाले निर्देशन दिएको छ । “दर्ता नभई राजस्व छलेका उद्योगले थप मापदण्डको पालनासमेत नगरेको पाइएकाले हटाउन लिखित निर्देशन दिइएको,” शाखाका नि.निर्देशक भट्टराईले बताए ।

 –रामहरि न्यौपाने

प्रतिक्रिया दिनुहोस्