चैत २० सम्म बजेट ल्याउने तयारी «

चैत २० सम्म बजेट ल्याउने तयारी

आगामी चैत २० गतेभित्र चालू आर्थिक वर्षको बजेट ल्याउने तयारीका साथ अघि बढेको तीन नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट तर्जुमाको लागि विभिन्न क्षेत्रका विज्ञसँग छलफल सुरु गरेको छ ।दुई दिनसम्म चल्ने छलफलको आइतबार मुख्यमन्त्री डोरमणि पोडेलले उद्घाटन गरेका छन् ।
कार्यक्रममा आर्थिक मामिला मन्त्रालयका सचिव वसन्त अधिकारीले मन्त्रालयले बजेट तर्जुमाको लागि गरेको तयारीको विषयमा विज्ञ टोलीलाई जानकारी गराएका थिए । सचिव अधिकारीले हालसम्म भएका तयारी, कानुनी प्रक्रिया, समेट्नुपर्ने नीति तथा कार्यक्रमको बारेमा बताएका थिए । आर्थिक कार्यविधि विधेयक प्रदेश सभामा प्रस्तुत गर्न मन्त्रालयको तर्फबाट आवश्यक प्रक्रिया पूरा भइसकेको बताउँदै सचिव अधिकारीले सातवटै मन्त्रालयका लेखा शाखा प्रमुखसँग बजेट तर्जुमामा छलफल प्रारम्भ गरिएको जानकारी दिए ।
चालू आवमा मन्त्रालयले केन्द्रबाट समानीकरण अनुदानतर्फको मात्र रकम प्राप्त हुनेछ । प्रदेश मन्त्रालयलले हाल प्राप्त भएको रकममा वृद्घि हुनुपर्ने विषय अर्थ मन्त्रालयसमक्ष जानकारी गराएको जनाएको छ । आर्थिक मामिला मन्त्रालयले चालू आवमा कर÷गैरकरका लागि आर्थिक ऐन प्रस्ताव नगरिने समेत जानकारी दिएको छ । घाटा बजेट र पेश्की खर्च विधेयकसमेत प्रस्तुत नहुने सम्भावना रहेको मन्त्रालयका सचिव अधिकारीले छलफलमा जानकारी गराएका थिए ।
बजेटका लागि विनियोजन विधेयक तर्जुमा गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सैद्घान्तिक सहमति समेत प्राप्त हुन बाँकी छ । कानुनतः प्रदेश सरकारले आर्थिक सर्वेक्षणसमेत प्रस्तुत गर्न नपर्ने व्यवस्था छ । बजेटमा समावेश हुने नीति तथा कार्यक्रमको प्रारम्भिक खाका मन्त्रालयले प्रस्तुत गरेको छ । प्रदेश मन्त्रालयका चालू खर्चहरूको विषय बजेटमा समेटिनेछन् भने सरकारको नीति तथा कार्यक्रममा उल्लेखित विषयसमेतलाई आवश्यकतानुसार बजेटमा समावेश गर्ने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश मन्त्रालयबाट पुष्ट्याइँसहित माग भई आएका कार्यक्रमगत योजना, प्रदेशस्तरीय कानुन निर्माणका लागि सम्बन्धित मन्त्रालयबाट प्रस्ताव हुने आवश्यक रकमसमेत बजेटले समेट्नेछ । आगामी आर्थिक वर्षमा सञ्चालन हुने आयोजनाका लागि सम्भाव्यता अध्ययन गर्न लागत अनुमान अनुसारको रकम पनि बजेटमा समेटिने मन्त्रालयका सचिव अधिकारीले बताए । सुझाव दिनका लागि छलफलमा बसेको विज्ञ टोलीमा कृषिविद् तिलचन्द्र भट्टराई, अर्थशास्त्री रमेश कडरिया, शिक्षाविद् गोविन्दप्रसाद घिमिरे, ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठलगायत छन् । उनीहरूले प्रदेश नम्बर ३ को सम्भावना र बजेटमा समावेश गर्न सकिने कार्यक्रमको विषयमा बुँदागत सुझाव दिनेछन् । छलफलमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, भौतिक पूर्वाधारमन्त्री केशव स्थापित, प्रमुख सचिव रेश्मीराज पाण्डेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्