कोहलपुर नगर विकास समितिको ३० करोडको जग्गा भेटियो «

कोहलपुर नगर विकास समितिको ३० करोडको जग्गा भेटियो

कोहलपुर नगर विकास समितिको करिब ३० करोडको गुमनाम जग्गा फेला परेको छ । शिक्षण अस्पताल कोहलपुरको उत्तर गेटतर्फको सडकको पूर्व र पश्चिमपट्टि जग्गा फेला परेको हो ।
पूर्वपट्टीको कि.नं. ६० तथा पश्चिमपट्टि कित्ता नम्बर ७८ र ७९ का एक एक कठ्ठाको जग्गा फेला परेका हुन् । तर, ति जग्गामा मानिस अस्थायी टहरा बनाएर बसिरहेका छन् । सुरुमा त्यो जग्गा आफूहरूको भएको दाबी त्यहाँ बस्दै आएका मानिसले गरेका थिए । तर, उनीहरूसँग प्रमाण नभएको दाबी कोहलपुर नगर विकास समितिले गरेको छ ।
“ती तीनवटै घडेरीलाई खाली गराउने काम सुरु गर्छाैं,” नगर विकास समितिका अध्यक्ष अवराज खड्काले भने, “ती घडेरी टेन्डर गरी बिक्री गर्ने कि आफ्नै स्वामित्वमा राखेर बहुआयामिक भवन बनाउने भन्नेबारेमा छलफल भइरहेको छ ।”
हाल टेन्डर गर्दा ती एक कठ्ठाका प्लटहरु करिब २ करोडदेखि ३ करोड रुपैयाँसम्ममा बिक्री हुने सम्भावना रहेको खड्काले बताए ।
नगर विकास समितिको तथ्यांक अनुसार २०५४ र ५५ सालतिर घडेरीहरू बिक्रीका लागि टेण्डर गर्दा ती प्लटहरूमा टेण्डर नपरी बाँकी रहेका थिए । “त्यसयता कुनै पनि समितिले त्यसबारे वास्ता नगरेको वा त्यस क्षेत्रका सबै प्लट बिक्री भइसकेका भनेर बसेको अवस्था थियो । हालका अध्यक्षले सबै तथ्यांकहरू हेर्दा र मालपोतमा श्रेस्ता हेर्दा ती प्लटहरू हालसम्म बिक्री नभएको तर अरुले नै प्रयोग गर्दै आइरहेको फेला पर्यो,” खड्काले भने ।
त्यसैगरी कोहलपुर शिक्षण अस्पतालको पश्चिमपट्टीको पूर्वपश्चिम राजमार्गदेखि पर्यटन कार्यालयको अगाडिसम्मको १३ मिटर चौडा सडकको पश्चिमपट्टी रहेका करिब ३५ वटा घडेरीहरु पनि बिक्री नभएको अवस्थामा फेला परेका छन् । त्यहाँ २७ वटा घडेरी केही ८ धुर त केही ९ धुरका छन् । हाल त्यहाँको १३ मिटर सडक पिच गरिएको छ र सडकसँगै बनाएको नाली निर्माणकै क्रममा भत्किएको छ । ती २७ वटा घडेरीहरूमध्ये केही नगर विकास समितिको क्षेत्रभन्दा पश्चिमपट्टि घडेरी भएका व्यक्तिहरूले अतिक्रमण गरी घर बनाएका छन् ।
ती २७ वटा घडेरीको १३ मिटर सडक ग्राभेल रहेको अवस्थामा पनि प्रतिधुर २ लाख २० हजार मूल्यांकन थियो । हाल सो सडक पिच भइसकेकाले त्यसको न्यूनतम मूल्यांकन प्रतिधुर ३ लाख रुपैयाँभन्दा माथि हुने र टेण्डर प्रक्रियामा जाँदा प्रतिप्लट ३० लाख रुपैयाँभन्दा माथि बिक्री हुने नगर विकास समितिको अनुमान छ । यस हिसाबले ती घडेरीहरूको मात्रै ८ करोडभन्दा बढी मूल्यांकन हुने स्थानीय बताउँछन् ।
त्यस्तै कोहलपुर नेपालगञ्ज सडक खण्डको एनटिभी जाने चोकदेखि करिब ५० मिटर पश्चिम नगर विकास समितिका ४ वटा प्लटहरु र सडकसमेत अतिक्रमण गरी केही व्यक्तिले घर बनाएको नापजाँचको क्रममा भेटिएको छ । ती प्लटको मूल्य हाल करिब १० करोड रुपैयाँ बराबर हुन्छ ।
ती सबैमा हाल नगर विकास समितिले कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावत, वडा नम्बर ११ का अध्यक्ष कर्णबहादुर थापासहितको अनुगमनमा घर भत्काउन रेखांकनसमेत गरिसकेको नगर विकास समिति अध्यक्ष खड्काले बताए ।
हाल कोहलपुर नगरपालिका प्रमुख रावत र कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले संयुक्त रूपमा अनुगमन गर्ने र यसरी अतिक्रमणमा रहेका जग्गा पत्ता लगाई नापनक्सा गराउने कार्य गरिरहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्