फस्र्योट भए ६ लाख ३५हजार गुनासो «

फस्र्योट भए ६ लाख ३५हजार गुनासो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीमा समावेश गरियोस् भनी दर्ता भएका तथा विभिन्न चरणका सर्वेक्षणबाट संकलन गरिएका सम्पूर्ण गुनासोहरु फस्र्योट गरेको छ । सबै माध्यम र चरणमा गरी प्राधिकरणको प्रणालीमा दर्ता भएका ६ लाख ३४ हजार ९७३ गुनासोको छिनोफानो गरिएको प्राधिकरणले जनाएको हो ।
ती सबै गुनासो सम्बोधन पछि कुल १ लाख ६ हजार ४६५ पुनर्निर्माण लाभग्राही र ६७ हजार ६८१ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणमा गुनासो सम्बोधन कार्य निकै चुनौतीपूर्ण रहेको बताए । उनले भने, “लाभग्राही हुन नसकेका कुनै गुनासोकर्तालाई अझै लाभग्राहीमा पर्नुपर्छ भन्ने लागेमा पुनरावेदन समितिमा निवदेन दिन सक्नु हुनेछ ।”
प्राधिकरणले गरेको सुरुवाती सर्वेक्षणबाट किटान गरेको लाभग्राही सूचीमा नाम नपरेको भन्दै गुनासा आउन थालेपछि पहिलो चरणमा अति प्रभावित १४ जिल्लामा २०७४ असार मसान्तसम्ममा गुनासो दर्ताखुल्ला गरिएको थियो । ती गुनासोको केन्द्रमा विश्लेषण गरी लाभग्राही एवं गैरलाभग्राही कायम गरिएको पनि प्राधिकरणले जनायो ।
२०७३ फागुनमा बसेको प्राधिकरण निर्देशक समिति बैठकले गैरलाभग्राहीहरुको पनि एकपटक स्थलगत परीक्षण गर्नु पर्ने निर्णय गरेपछि २०७४ साउनदेखि २०७४ कार्तिक २१ सम्म अति प्रभावित १४ जिल्लामा ३३२ इञ्जिनियर तथा त्यत्तिकै संख्यामा समाजिक परिचालकसहितको टोली खटाई छुट तथा पुनः जाँच सर्वेक्षण २०७४ संचालन गरिएको थियो । त्यसक्रममा व्यापक संख्यामा नयाँ गुनासो दर्ता भएपछि सर्वेक्षण कार्य तोकिएको समयमा सम्पन्न हुन सकेन ।
सर्वेक्षण अन्तर्गत१ लाख २९ हजार ४१० गुनासोकर्ताको सर्वेक्षण सम्पन्न भएको थियो । संघीय संसदको निर्वाचनका कारण २०७४ कात्तिक अन्तिम सातामा सर्वेक्षण स्थगित भयो र निर्वाचनपछि स्थानीय तहका जनप्रतिनिधिहरुको आग्रहमा पुनः २०७४ मंसिर मसान्तसम्म अन्तिम पटक गुनासो दर्ता गर्ने समयसीमा निर्धारण भयो । जसअनुसार भूकम्प प्रभावित १८ जिल्लासमेत गरीथप १ लाख २ हजार गुनासो दर्ता भए ।

प्रतिक्रिया दिनुहोस्