Logo

गोरखा अस्पतालमा भेन्टिलेटरसहितको आईसियू सेवा सुरु

गोरखा अस्पतालमा भेन्टिलेटर सहितको आईसियू सेवा सुरु भएको छ । अस्पतालमा भेन्टिलेटर सहित आईसियू सेवाका लागि सबै उपकरण जडान गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
कोरोना संक्रमणका गम्भिर बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । जिल्लामा त्यसखालको संक्रमण भएका बिरामीलाई उपचार सेवा दिन सक्ने गरि गोरखा अस्पतालमा दुई बेडको आईसियू सञ्चालनमा ल्याएको उनको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकार मार्फत उपलब्ध गराएको १ करोड रुपैयाँबाट आबश्यक उपकरण खरिद गरी आइसियू सेवा सुरु गरेको सूचना अधिकारी ढकालले बताए ।
गत चैतमै वजेट पठाइए पनि प्रदेशको सामाजिक विकास मन्त्रालय, कोष तथा लेखा नियन्त्रक कार्यालय हुँदै अस्पतालको खातामा वजेट प्राप्त हुन ढिलाई भएकाले आइसियू सेवा सञ्चालनमा पनि केही ढिलाई भएको अस्पताल विकास समितिले जनाएको छ ।
कोरोना संक्रमणलाई लक्षित गरि स्थापना गरिएको आईसियू कक्षबाट पछिसम्म जिल्लाका बिरामीले सेवा लिन सक्ने भएका छन् । ५० बेडमा स्तरोन्नति भएको लामो समयसम्म पनि गोरखा अस्पतालमा त्यस अनुसारको स्रोत साधन भने जुट्न सकेको छैन ।
भूकम्पका कारण पुरानो भवन भत्किएपछि हाल नयाँ भवन निर्माणको काम चलिरहेको छ । उक्त भवन निर्माण पूरा भएपछि भने दुई बेडको आइसियू सहित अस्पताल स्रोत साधनका हिसावले सुविधा सम्पन्न बन्ने अपेक्षा गरिएको छ । गोरखा अस्पताल हाल प्रदेश सरकार अन्तर्गत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्