पर्यटन प्रवद्र्धन गर्न ‘नो भेइकल जोन’

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा यही चैत ९ गते शुक्रबारदेखि सवारीसाधन निशेषित क्षेत्र (नो भेइकल जोन) हुने भएको छ । शुक्रबार र शनिबार अपरान्ह ५ बजेदेखि राति १ बजेसम्म पोखराको हल्लनचोक देखि बाराही घाटसम्मको क्षेत्रलाई पहिलो चरणमा नो भेइकल जोन गर्ने तयारी भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अगुवाइमा विभिन्न पर्यटन सम्वद्ध संघ संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन हुने अन्तिम तयारी तिव्र पारिएको वडा नम्बर ६ का वडाध्यक्ष एवं कार्यक्रम संयोजक जगतबहादुर पहारीले बताए । ट्राफिक व्यवस्थापन, ट्राफिकसम्बन्धी विभिन्न सिग्नलहरु राख्ने, उक्त समयमा सडकमा हिँड्ने पर्यटकहरुलाई मनोरन्जन दिलाउन विभिन्न सांगीतिक कार्यक्रमहरु प्रस्तुत गर्ने विषयमा समन्वय गर्दै गरेको अध्यक्ष पहारीले बताए । उनले भने, “विकृति विसंगति हटाउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेकोेले यस अभियानलाई सफल पार्न अधिकांश पर्यटनसँग सम्बद्ध संघसंस्थाले सघाउने प्रतिबद्धता जनाइसकेका छन् । ”
नो भेइकल जोनको रुपमा रहेको क्षेत्रमा अत्यावश्क सेवा सञ्चालनको लागि र स्थानीयको आवश्यकता हेरी प्रवेश दिने विषयमा समेत आफूहरुले तयारी गरेको उनले जनाए । उनले भने, “यसपालिबाट हामी सबैसँग छलफल गरी यस कार्यक्रमलाई अघि बढाउने कुरा गरेकोले अब यो अभियान जारी रहन्छ ।”
वडा सदस्य विष्णुबहादुर भट्टराई सुरक्षा व्यवस्थापन, फोहोरमैला व्यवस्थापनमा अर्का वडा सदस्य हरिकृष्ण पहारी, सांस्कृतिक संयोजकमा वडा सदस्यद्वय राममाया विश्वकर्मा र पुष्पा पहारीलाई जिम्मेवारी दिइएको छ ।
नो भेइकल जोनका लागि आवश्यक सुरक्षा व्यवस्थादेखि आवश्यक साइन बोर्डहरु राख्ने अन्तिम तयारी भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डीएसपी) नविन कार्कीले बताए । पार्किङ गर्ने स्थलदेखि नो भेइकल जोन क्षेत्रमा तत्काल सिसी क्यामरा जडान गरिने र त्यसलाई बैदाम प्रहरीको कन्ट्रोल रुमले निगरानी गर्ने उनले जनाए । उनले भने, “पोखरा पर्यटकीय स्थल हो, यहाँको पर्यटन गतिविधि बढाउन थालिएको अभियानलाई सफल पार्न हामी सुरक्षाको दृष्टिले तयारी अवस्थामा रहेका छांैं । ”
नेपाल पर्यटन बोर्डले उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम ल्याउने तयारी गरेको छ । पर्यटन बोर्ड प्रदेश नम्बर ४ को कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले एक साताको ग्यापमा विभिन्न नेपाली सांस्कृतिक परम्परा झल्किने गीतसंगीत पस्कने तयारी गरेको बताए । गन्धर्व जातिको मौलिक बाजा सारंगीमार्फत पहिलो शुक्रबारबाट सुरु हुने भएको उनले बताए ।
सामुदायिक सेवा केन्द्र बैदामको आयोजनामा हालै भएको एक भेलाले यही चैत ९ गते शुक्रबारदेखि हप्तामा शुक्रबार र शनिबार गरी दुई दिनको लागि मात्र लकेसाइडको सीमित क्षेत्रबाट हाल नो भेईकल जोन लागू गर्ने निर्णय गरेको थियो । उक्त अभियानलाई दिगो रूपमा सफल पार्न पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारीको संयोजकत्वमा समिति गठन भएको केन्द्रका अध्यक्ष भिम पराजुलीले बताए । ७ वर्षअघि पर्यटन व्यवसायी सूर्य भुजेलको संयोजकत्वमा करिब ६ महिना नो भेइकल जोन सञ्चालन भए पनि विभिन्न कारणले बीचमै स्थगित भएको थियो ।