बजार खुल्दा सुनको मूल्य १० हजार बढ्यो «

बजार खुल्दा सुनको मूल्य १० हजार बढ्यो

कोरोना भाइरसले सुनचाँदी व्यवसायमा १५ अर्बको नोक्सान

लकडाउनको ७६ दिनपछि आइतबार सुनचाँदीको मूल्य निर्धारण गरिएको छ । बजार खुला हुँदा सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपैयाँ बढेर ८७ हजार ४ सय रुपैयाँ पुगेको छ । बजार बन्द हुँदा सुनको मूल्य प्रतितोला ७७ हजार थियो । बजेटमा भन्सार दर बढेको र अन्तराष्ट्रिय बजारमा मूल्य बढेकाले बजार खुल्दा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत भन्सारदर वृद्धि गरेकाले सुनको मूल्य बढ्न गएको हो । सरकारको भन्सार दरले प्रतिदश ग्राम सुनको दुई हजार रुपैयाँ बढाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लामो समयदेखि बन्द रहेको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि सुरु गरेको हो । सुनको मूल्य निर्धारण गरे पनि पसलहरू पूर्ण रुपमा खुल्न सकेका छैनन् । बाहिरी जिल्लामा फाट्टफुट्ट खुले पनि न्यूरोडका सुन पसल अझै खुल्न सकेका छैनन् । सबै तिरबाट माग आएपछि आइतबारदेखि सुनको मूल्य निर्धारण गरिएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिए । बजेटमा भन्सार दर बढेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले बजार खुल्दा सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँ बढ्न गएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश १ हजार ८ सय डलर पुग्ने अनुमान गरिएको उल्लेख गर्दै उनले भने, “यसले गर्दा स्थानीय बजारमा सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ पुग्न सक्छ ।” यस अघि सुनको मूल्य प्रतिऔंश एक हजार ७ सय ५५ रुपैयाँ पुगेको थियो । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश एक हजार ६ सय ८५ रहेको छ । कोरोना भाइरससँगै चीन र अमेरिकाबीचको व्यापार युद्धका कारण सुनको मूल्य अझै बढ्नसक्ने व्यवसायीले अनुमान गरेका छन् ।
कोरोनाभाइरसको कारणले गर्दा सुनको मूल्यमा अस्थिरता आएको व्यवसायीको भनाइ छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि गत ११ चैत देखि सरकारले लकडाउन गरेको थियो । झन्डै तीन महिनादेखि बजार पसल बन्द हुँदा सुनचाँदी व्यवसायमा झन्डै १५ अर्बको नोक्सान भएको शाक्यले बताए । यसबाट सरकारलाई ६० करोड रुपैयाँ बराबरको राजस्व समेत गुमेको छ । कोरोना भाइरसको प्रभावले सुनचाँदीको कारोबार लामो समयसम्म नहुने हुँदा व्यवसाय सञ्चालन गर्न धेरै नै कठिन हुने व्यवसायीको भनाई छ ।
अर्थमन्त्री डा. युराज खतिवडाले आफ्नो कार्यकालमा तीन पटक सुनमा भन्सारदर बढाएका छन् । आर्थिक वर्ष २०७६ जेठ १५ मा प्रति दशग्राममा ४ हजार २ सय रुपैयाँबाट बढाएर ५ हजार रुपैयाँ पु¥याएको थियो । ७६ सालमै प्रतितोला १ हजार ५ सय रुपैयाँ बढाएर ६ हजार ५ सय पुगेको थियो । यस्तै, आगामी आर्थिक वर्षको बजेटमार्फत २ हजार बढेर प्रतिदशग्राम ८ हजार ५ सय पुगेको छ । सरकारले बजेटमार्फत बढाएको भन्सार दरले सुनको मूल्यमा प्रतितोलामा २ हजार ३ सय ३३ रुपैयाँ बढ्न गएको व्यवसायीको भनाई छ ।
यसअघि लकडाउनकै बीचमा एक दिन खुल्दा सुनको मूल्य ९ हजार रुपैयाँ बढेर तोलाको ८६ हजार ८० रुपैयाँ पुगेको थियो । त्यसपछि आइतबार खुलेको बजारमा सुनको मूल्य तोलामा १३ सय २० रुपैयाँले बढेको छ । लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य ९ सय २५ रुपैयाँ तोकेको छ। लकडाउनको अवधिमा चाँदीको मूल्य तोलामा दुई सय पाँच रुपैयाँ बढेको छ । महासंघका अनुसार मुलुकभर २० हजार भन्दा बढी सुनचाँदी व्यवसायी रहेका छन । लामो समय देखि व्यवसाय बन्दहुँदा व्यवसायीलाई प्रत्यक्ष असर परेको छ । सरकारले कोरोनो भाइरसको कारणले देशमा आर्थिक क्रियाकलाप ठप्प भएका कारण जनाउँदै यसअघि दैनिक २० केजी आयात गर्न पाउने व्यवस्थाबाट घटाएर अहिले १० केजीमा झारेको छ ।

प्रतिक्रिया दिनुहोस्