Logo

लमजुङका लेकमा जडिबुटीको अवैध संकलन

लमजुङका उच्च पहाडी भेगहरुमा जडिबुटी अवैध संकलन भइरहेको पाइएको छ । मुलुकभर कोरोना भाइरस संक्रमणको जोखिमसँगै जारी लकडाउनका बेला लमजुङका उच्च लेकहरुमा जडिबुटी संकलनका लागि विभिन्न जिल्लाबाट समेत पुग्ने गरेको पाइएको हो ।विशेष गरी मस्र्याङदी गाउँपालिका अन्तर्गत उच्च लेकहरुमा जडिबुटी संकलकहरु पुगेका हुन् । यतिबेला उच्च लेकहरुमा यार्सागुम्बा संकलनको समय भएकोले जिल्ला भित्र र जिल्ला बाहिरबाट समेत यार्सा संकलकहरु उच्च लेकमा पुगेका हुन । जडिबुटी संकलन गर्ने सम्भावित क्षेत्रहरुमा केहि दिन अघि गस्ती गरिएपनि रोकथामका निम्ति कठिन भएको मस्र्याङदी गाउँपालिकाले जनाएको छ ।
स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुको समूहले गाउँपालिकाको बराह पोखरी लगायतका क्षेत्रमा गस्ती गरेपनि त्यो भन्दा पनि उच्च भेगहरुमा संकलकहरु पुगेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार भौगोलिक विकटता र खुल्ला सिमानाका कारण जिल्ला भित्र र बाहिरी जिल्लाबाट समेत संकलकहरु उच्च लेकमा पुगेका छन् । कोरोना भाइरस संक्रमणको जटिल अवस्थामा बिना अनुमति संकलकहरु लेकसम्म पुग्ने गरेपनि हालको अवस्थामा नियन्त्रण गर्न कठिन भएको अध्यक्ष गुरुङको भनाई छ । आगामी वर्षबाट भने गाउँपालिकाले नै सिष्टम बनाएर जडिबुटी संकलनलाई वैध बनाउने र राजस्व संकलनलाई बढावा दिने तयारी गरेको अध्यक्ष गुरुङले बताए । डिभिजन वन कार्यालय लमजुङका अनुसार यस वर्ष कोरोनाको संक्रमणका कारण जडिबुटी संकलन गर्न पुर्जी वितरण भएको छैन ।
यद्यपी बिना पुर्जी संकलकहरु उच्च लेकतर्फ पुगेको पाइएको हो । भौगोलिक विकटताका कारण नियमन गर्न कठिन भएको डिभिजन वन कार्यालयका प्रमुख मोहन काफ्लेको भनाई छ । उच्च लेकहरुमा सामान्य व्यक्ति पुग्नै कठिन र अन्य श्रोत साधनको समेत अभाव हुँदा प्रभावकारी नियमन गर्न नसकिएको कार्यालय प्रमुख काफ्लेले बताए । तर, जडिबुटीको अवैध संकलनबारे आएको सूचनालाई आधार मानेर आवश्यक अनुगमन र कारवाहिको प्रक्रिया अघि बढाउने उनले बताए । कानुनतः जडिबुटी संकलनका लागि अनुमति लिनुपर्ने हुन्छ । तर, यस वर्ष कोरोना संक्रमण जोखिम र जारी लकडाउनका कारण कोहि कसैलाई पनि जडिबुटी संकलनका लागि अनुमति दिइएको छैन ।
 जिल्ला विकासको प्रमुख आधार मध्ये जडिबुटीलाई पनि मुख्य आधार मानिएको छ । जिल्लाका उच्च लेकमा पाइने जडिबुटीबाट मात्रै पनि वार्षिक लाखौँ रुपैयाँ राजस्व संण्कलन हुने गरेको छ । तर, महत्वपूर्ण जडिबुटीको अवैध संकलन हुन थालेपछि राजस्व संकलन कमी आउनुको साथै अवैध क्रियाकलापले प्रश्रय पाउने सरोकारवालाहरु बताउँछन् । लमजुङमा यार्सागुम्बा, सतुवा, वन लसुन, टिमुर लगायतका दर्जनौ बहुमूल्य जडिबुटी पाइन्छन् । यो समयमा भने यार्सागुम्बा संकलनको समय भएको डिभिजन कार्यालयले जनाएको छ । श्रोतका अनुसार अवैध जडिबुटी संकलनसँगै उच्च लेकहरुमा अवैध शिकार पनि हुने गरेको छ । आगामी वर्षहरुमा भने अवैध जडिबुटी संकलन, चोरी निकासी रोक्न स्थानीय सरकारसँग थप समन्वय गरिने डिभिजन वन कार्यालय लमजुङले जनाएको छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्