संक्रमण बढेपछि कोरोना बिमा स्थगित

कोरोनाको संक्रमण बढ्दै गएपछि बिमा कम्पनीहरूले कोरोना बिमा लेखको बिक्री स्थगित गरेका छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि कम्पनीहरूले धान्न नसक्ने भन्दै कम्पनीहरूले तत्कालका लागि थप पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन् । कम्पनीहरूको यसबारे लिखित जानकारी दिएपछि बिमा समितिले समेत शुक्रबारबाट थप पोलिसी बिक्री नगर्न निर्देशन दिइसकेको छ ।
नेपाल बिमक संघका महासचिव तथा सगरमाथ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीको क्षमताले नभ्याउने भएपछि थप पोलिसी नवेच्ने निर्णय गरेको बताए । “कम्पनीहरूको जोखिम लिनसक्ने क्षमतामा कोरोना बिमालेख बिक्री गरिसकेका छौं,” उनले भने, “अब थप जोखिम लिन नसक्ने भएकाले तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका हौं ।” नेपाल पुर्नबिमा कम्पनी र निर्जीवन कम्पनीहरूले संयुक्त रुपमा लघुबिमा पुलमार्फत कोरोना बिमा लेख जारी गरिएको हो । अहिले बिक्री भएको बिमालेखको दायित्व नै कम्पनीको पुँजीअनुसार पुगिसकेको छ ।
कोरोना बिमाबारे सरकारले बजेटमा उल्लेख गरेपनि त्यसबारे स्पष्ट नहुँदा समस्या भएको बताइएको छ । “सरकारले बजेटमै कोरोना बिमालाई प्रोत्साहन गर्ने कार्यक्रम त ल्याएको छ” क्षेत्रीले भने, “यसको ठोस कार्यक्रमबारे समिति नै अनभिज्ञ देखिएकाले तत्कालका लागि बन्द गर्ने निर्णयमा पुगेका हौं ।” सरकारको नीति स्पष्ट भएपछि मात्र खोल्ने नखोल्ने बारे निर्णय लिने उनले बताए ।
सरकारले आगामी बर्षको बजेटमा सामूहिक कोरोना बिमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने स्पष्ट उल्लेख गरेको छ । कोरोना बिमामा थप व्यवस्था गर्ने पनि भनेको छ । पुर्नबिमा नभएको यस पोलिसीको दावी भुक्तानीबारे सरकारले स्पष्ट नभनेको महासचिव क्षेत्रीले बताए । बिमा समितिले गत बैशाख ४ गते कोरोना बिमा गर्नका लागि बिमा कम्पनीहरूलाई निर्देशन दिएको थियो । कम्पनीहरूले भने बैशाख ७ गतेदेखि बिमा पोलिसी जारी गर्न थालेको थिए ।
नयाँ योजना भएकाले यसमा सर्वसाधारणको आकर्षण थियो । विभिन्न संघसस्थाहरूमा सामूहिक कोरोना बिमातर्फ आकर्षित भएका थिए । समितिका अनुसार हालसम्म तीन लाखभन्दा बढीले कोरोना बिमा गराइसकेका छन्। जसबापत १६ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क उठाइसकिएको छ । हालसम्म दाबी भने परेको छैन ।
एक लाख र ५० हजार बिमांक रकमको यस बिमालेखको प्रिमियम तीन सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म तोकिएको छ । बिमा गरेको व्यक्तिलाई पिसिआर परिक्षणबाट कोरोना संक्रमण भएको पुष्टी भएमा बिमांक रकम बराबरको दावी भुक्तानी पाइने व्यवस्था गरिएको छ ।