रेमिट्यान्स आप्रवाहमा बृद्धि

चालू आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाहमा सुधार आएको छ । चालू आवको पुस महिनामा नकारात्मक रहेको विप्रेषण आप्रवाह माघमा सुधार आएको हो ।
माघसम्ममा विप्रेषण आप्रवाह १.७ प्रतिशतले वृद्धि भई ४०१ अर्ब ३५ करोड पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आयमा भने ३.० प्रतिशतले कमी आई ४६० अर्ब ८५ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८.३ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरका आधारमा आर्थिक वर्ष ०७४-७५ को सात महिनामा कुल वस्तु निर्यात १९.२ प्रतिशत र कुल वस्तु आयात २४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वस्तु निर्यात १९.६ प्रतिशत र वस्तु आयात ५८.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भ्रमण आय ३२ प्रतिशत र विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण आय २७.६ प्रतिशत र विप्रेषण आप्रवाह ३.१ प्रतिशतले बढेको थियो ।
अघिल्लो आर्थिक वर्षको सात महिनामा अमेरिकी डलर ९ करोड ७६ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ३७ करोडले घाटामा गएको छ । त्यसैगरी, शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो सात महिनामा अमेरिकी डलर ३४ करोड ३४ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा अमेरिकी डलर १७ करोड ८७ लाखले घाटामा छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ६.७ प्रतिशतले घटेको थियो ।
चालू खाता एवम् शोधनान्तर स्थिति अघिल्लो वर्षको सात महिनामा १० अर्ब ६६ करोडले घाटामा रहेको चालू खाता यो सात महिनामा १४१ अर्ब ६ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा रहेको हो । त्यसैगरी, अघिल्लो वर्षको सात महिनामा ३६ अर्ब ९५ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा १८ अर्ब २८ करोड रुपैयाँले घाटामा छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १० अर्ब ६४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ९ अर्ब २५ करोड र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ६० करोड रुपैयाँ थियो ।
०७४ माघ मसान्तसम्ममा सरकारी ढुकुटीमा (स्थानीय तहको खातामा जम्मा भएको रकम ८४ अर्ब ३५ करोडसमेत गरी ३०१ अर्ब ६४ करोड रुपैयाँ मौज्दात छ ।
आर्थिक वर्ष ०७४-७५ को सात महिनामा विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ९.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०७४ माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १३.५ प्रतिशतले बढेको छ ।
०७३ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३ प्रतिशत रहेकोमा ०७४ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ प्रतिशत कायम भएको छ । समीक्षा अवधिमा खाद्य वस्तुहरूको मूल्यमा भएको वृद्धिका कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा बढी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।