फुटबल प्यारापिट निर्माण सुरु «

फुटबल प्यारापिट निर्माण सुरु

पोखरा-कोरोना भाइरसका कारण देशमा लकडाउन जारीसँगै पोखरा–१९ स्थित गोष्तेघाटमा फुटबल प्यारापिट निर्माणकार्य सुरु भएको छ ।
पोखराको वैकल्पिक फुटबल मैदानको रूपमा विकसित गर्ने उद्देश्यले हाल लकडाउनकै अवस्थामा पनि निर्माण सामग्री एवं मजदुरहरूको व्यवस्था गरी पुनः प्यारापिट निर्माणकार्यलाई निरन्तरता दिएको गोष्तेघाट खेल मैदान निर्माण समितिका अध्यक्ष सुरेन्द्र मानसिंह भण्डारीले बताए । उनका अनुसार हालै प्यारापिटको ढलान गर्ने काम सकिएको छ । करिब ८ सय सिट क्षमताको भीआईपी प्यारापिट निर्माणकार्य सकिएसँगै खेलाडी चेन्जिङ रुम र एट्याच वाथरुम दुई-दुई वटा निर्माण हुने अध्यक्ष भण्डारीले बताए । राष्ट्रिय खेलकुद परिषद्बाट विनियोजित भएको ९० लाखको लागतमा उक्त परियोजना निर्माण कार्य जारी छ । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको राजधानी पोखरामा अधिकांश खेल हुने भएकाले गर्दा उक्त फुटबल मैदानसमेत तयारी अवस्थामा राख्नका लागि आफूहरूले लकडाउनकै अवस्थामा पनि निर्माणलाई जोड दिएको अध्यक्ष भण्डारीले बताए ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिश ताम्राकारले राखेपको सहयोगमा ३५ मिटर लम्बाइको कंक्रिट स्टक्चरमा भीआईपी प्यारापिट निर्माण हुने बताए । करिब एक हजार सिट क्षमताको प्यारापिट, प्यारापिटमुनिको भागमा चेन्जिङ रुम, ट्वाइलेट वाथरुम भीआईपी रुमसमेत निर्माण हुने उनले जनाए । आउँदो वर्षका लागि समेत बजेट माग गरिएको ई. ताम्राकारको भनाइ छ ।
नवआर्दश सामुदायिक विकास समाज पोखरा–१६ लामाचौरको सक्रियतामा पोखरा–१९ मा पर्ने सेतीनदी किनाराको गोष्तेघाटमा अन्तराष्ट्रियस्तरको ६५ वाई १ सय ५ मिटरको फुटबल मैदान निर्माण भएसँगै स्थानीयस्तरमा फुटबल खेलको विकास हुने सचिव बुद्धि खत्री क्षेत्रीले बताए । उनका अनुसार उक्त मैदान निर्माणकार्य २०७१ सालदेखि सुरु गरिएको हो । करिब ३ करोडको लगानी भई उक्त हरियो दुबोसहितको फुटबल मैदान तयार भएको बताएका सचिव खत्रीले कार्यालय भवन, इण्डोर हल, फुटबल प्रशिक्षणको वैकल्पिक मैदान, तटबन्धनसहितका बाँकी काम अझै फिनिसिङ गर्न ३ करोड बजेट आवश्यक भएको उनले बताए ।
गोष्तेघाटमा करिब ८७ रोपनी सार्वजनिक जग्गा रहे पनि समितिले करिब ६६ रोपनी जग्गालाई खेल मैदानको रूपमा प्रयोग गरेको छ । यसअघि पोखरा महानगरले विनियोजन गरेको ५० लाखको लागतमा स्थानीय दुबो रोप्ने तथा केही भागमा जमिनको भाग सम्याउने काममा खर्च भएको सचिव खत्रीले बताए । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको पहलमा यसपालि उक्त बजेट विनियोजन भएको समितिले जनाएको छ ।
गण्डकी प्रदेशका सांसद तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोइराला र जिल्ला खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष सुमन देवकोटाले उक्त मैदान निर्माणका लागि मन्त्रालयमा फाइल अघि बढाएका कारण गोष्तेघाटमा फुटबल मैदान निर्माण भएको सचिव खत्रीले जनाए । राखेपबाट हालसम्म उक्त प्रोजेक्टमा २ करोड ८० लाख, स्थानीय स्रोतबाट करिब ३० लाख, सांसद विकास कोषबाट १५ लाख, पोखरा महानगरपालिकाबाट ६४ लाख, केयर नेपालबाट ५५ हजार सहयोग प्राप्त भएको उनले जनाए ।
गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री कुमार खड्का, पूर्वसांसद शारदा पौडेल र चूडामणि जंगलीबाट सांसद विकास कोषको रकमबाट १५ लाख उक्त मैदान निर्माणका लागि सहयोग प्राप्त भएको थियो । समितिका अध्यक्ष भण्डारीले सबैको साथ र सहयोगले उक्त मैदान निर्माण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्