३१९ सहकारी स्थानीय तहलाई हस्तान्तरण

डिभिजन सहकारी कार्यालय धादिङले ३ सय १९ वटा प्रारम्भिक सहकारी संस्था १३ स्थानीय तहलाई हस्तान्तरण गरेको छ । कार्यालयले शनिबार र आइतबार स्थानीय तहका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सहकारी शाखाका अधिकृतहरूका लागि अभिमुखीकरण तालिम दिएर ती सहकारी संस्था हस्तान्तरण गरिएको हो । प्रारम्भिक सहकारी संस्थाको नियमन गर्ने र दर्तासहित सहकारी ऐनले व्यवस्था गरेअनुसार कामकाग गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिइएको हो ।
स्थानीय तहका अध्यक्ष-प्रमुखहरूलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको सहकारीसम्बन्धी सफ्टवेयर (कोपामिस) र जिल्लाभरको संस्थागत तथ्यांक भएको सिडी, सम्बन्धित पालिकाको सहकारी संस्थाको विवरण, संस्था दर्तासम्बन्धी आवश्यक कागजातका नमूना, लेखापरीक्षण तथा साधारणसभासम्बन्धी फाइलसमेत हस्तान्तरण ग रिएको छ । स्थानीय तहका पदाधिकारी र अधिकृतहरूका लागि अभिमुखीकरण कार्यक्रममा प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत÷अधिकृत सहभागी रहेको सहकारी डिभिजन कार्यालयका निमित्त प्रमुख महेश्वर ढकालले बताए ।
कार्यक्रममा सहकारी विभागका उपरजिष्टार नारायण अर्यालले सहकारिता, सहकारी संस्थाका विशेषता र स्थानीय विकासमा सहकारीको महत्वका वषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी सहकारी नियमन प्रबन्ध, स्थानीय तहमा मौजुदा संस्थाहरू र हस्तान्तरण गरिने तथा राख्नुपर्ने अभिलेखसम्बन्धी कार्यपत्र सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव रघुनाथ विष्टले प्रस्तुत गरेका थिए ।
धादिङमा ६ वटा संघ र ४ सय १५ प्रारम्भिक सहकारी संस्था छन् । तीमध्ये १ सय १२ वटा (संघ र प्रारम्भिक संस्था) को कार्यक्षेत्र एक पालिका तथा एक स्थानीय तहभन्दा बढी रहेकाले प्रदेशको कार्य क्षेत्रभित्र पर्ने भन्दै केही समयपछि हस्तान्तरण गरिने निमित्त प्रमुख ढकालले बताए । डिभिजन सहकारी कार्यालयको चलअचल सम्पत्ति कसलाई कहिले हस्तान्तरण गर्ने भन्ने विषयमा कुनै परिपत्र नआएको र चैत २८ गतेभित्र हस्तान्तरण गर्न आएको परिपत्रअनुसार स्थानीय सरकारलाई सहकारीसम्बन्धी सम्पूर्ण विवरण हस्तान्तरण गरेको उनले जानकारी दिए ।
धादिङमा ०७४ असार मसान्तसम्म ४ सय १५ प्रारम्भिक सहकारी संस्थामा ८५ हजार ४ सय ४० महिला, ५४ हजार ७ सय ६१ पुरुष गरी १ लाख ४० हजार २ सय १ जना सहकारीमा आबद्ध भइसकेका छन् । ४ हजार ६१ जना सञ्चालकमध्ये १ हजार ६ सय ७३ जना महिला रहेका छन् । ७ सय २ जना कर्मचारीमध्ये ३ सय ८१ जना महिला छन् । ६४ करोड ९१ लाख ७९ हजार शेयर पुँजी, २ अर्ब ६८ करोड ७६ लाख ७८ हजार वचत, १ अर्ब ४ करोड, १८ लाख २३ हजार ऋण लिई ४ अर्ब २६ करोड ४१ लाख ७ हजार ऋण लगानी भएको डिभिजन सहकारी कार्यालयको तथ्यांक छ ।
–राजेन्द्र बस्नेत