अम्रिसोबाट जीवन उकासिँदै «

अम्रिसोबाट जीवन उकासिँदै

पाल्पाको पूर्वी भेगमा परम्परादेखि खोरिया फाडेर आफ्नो जीविकोपार्जन गर्दै आएकाहरूको जीवनस्तर अहिले अम्रिसोले उकासिदिएको छ । खोरिया फाँडेर तीन महिनाका लागि साँझबिहान खान पुराउने निस्दी–३ झिरुबास, मित्यालका बासिन्दा अहिले व्यावसायिक अम्रिसो खेतीमा व्यस्त बनेका छन् । स्थानीय काउले डाँडा वनमा कवुलियति वन कार्यक्रम लागू गरेर स्थानीयले अम्रिसो उत्पादन गर्दै आएका छन् । उनीहरूले अम्रिसोको कुचो, डाँठ र बिरुवा बिक्री गरेर वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् ।
तीन महिना खोरिया फाडेर खाने परिवारलाई अम्रिसोले अब्बल माध्यम् बनेको यहाँका किसानको भनाई छ । परम्परादेखि नै मगर समुदायको बसोबास रहेको यो क्षेत्रमा उनीहरूले जीविकाका लागि वर्षौंदेखि सयौं हेक्टर जमिनमा खोरिया (खेती गर्नलायक जग्गा) बनाई मकै, पिँडालु, अदुवा र बेसार लगाउने गर्थे ।
यहाँका पाँच वटा समूहमा १ सय १९ घरका परिवार आबद्ध भएर अम्रिसोको गोडमेल, रेखदेख र स्याहारसुसार गर्दछन् । पहिले खोरिया खन्ने क्षेत्रमा आ–आफ्नो प्लट बनाएर अम्रिसो, कागती, तेजपत्ता, टिमुरजस्ता जडिबुटीसमेत लगाएका छन् । यस्तै व्यक्तिगत जग्गामा समेत यहाँका स्थानीयले अम्रिसो खेती गरेको झिरुबास खादरका अनिल सोमैले बताइन् ।
छ वर्षअघि कवुलियती वन कार्यक्रम सञ्चालन भएपछि यहाँका बासिन्दाले अम्रिसो, टिमुर, कागतीबाट फाइदा लिँदै आएका छन् । कवुलियती वनले उनीहरूको वार्षिक आम्दानी बढाएर बचत गर्ने बानीको विकाससमेत गराएको छ । “खोरिया फाँड्दा तीन महिना पनि गुजारा गर्न हम्मेहम्मे थियो,” स्थानीय खिममाया सुनारीले भनिन्, “अहिले घरखर्च चलाएर समूहमा बचत पनि गरेकी छु ।”
२ सय ४७ हेक्टरमा अम्रिसो लगाएपछि यहाँका बासिन्दाको १० गुणा बढी आम्दानी बढेको छ । पहिले खोरिया फाँडेर बस्दा तीन महिना खान पुग्ने यहाँका बासिन्दालाई कबुलियती वन समूहमार्फत बाख्रापालन, भैंसीपालनमा समेत सहयोग पुगेको काउलेडाँडा कवुलियती वन समूहका पूर्वअध्यक्ष दमनसिंह पाटाले बताए । “कवुलियती वनले मानिसको जीवनमै आधारभूत परिवर्तन गराएको छ,” उनले भने, “समूहमा काम गर्ने शैलीमा विकास भएको छ, बचत गर्ने बानीको विकास भएको छ ।” आफूले वार्षक ८ सयदेखि १२ सय किलोसम्म अम्रिसो बिक्री गर्ने गरेको उनले बताए । यहाँ अम्रिसो प्रतिकिलो ४० देखि ९० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । “गत वर्ष प्रतिकिलो ९५ रुपैयाँसम्म अम्रिसो बिक्री भयो,” उनले भने, “यो वर्ष भाउ परेको छैन, त्यसैले किसानले अझै अम्रिसो काटेका छैनन् ।” सोमैका अनुसार अम्रिसोको डाठ प्रतिकिलो तीनदेखि पाँच र बिरुवा प्रतिगोटा एक देखि तीन रुपियाँसम्ममा बिक्री हुन्छ ।
झिरुबास काउलेडाँडाका स्थानीयले गत वर्ष दुई करोड रुपैयाँ बराबरको अम्रिसो, अम्रिसोको बिरुवा र डाँठ बिक्री गरेका थिए । यो वर्ष भाउ आएपछि अम्रिसो काटेर भिœयाउने अम्रिसोका व्यापारी यामबहादुर सोमैले बताए ।

प्रतिक्रिया दिनुहोस्