वीरगन्ज महानगरको प्रकोप व्यवस्थापन कोषमा डेढ करोड «

वीरगन्ज महानगरको प्रकोप व्यवस्थापन कोषमा डेढ करोड

वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना भाइरस विरुद्धको कोषमा सहयोग आउने क्रम जारी रहेको छ । मंगलबारसम्म उक्त कोषमा एक करोड ५६ लाख ७५ हजार जम्मा भैसकेको छ । महानगरले अहिलेसम्म जम्मा भएको रकम मंगलबार सार्वजनिक गरेको छ । मंगलबार मात्रै बैंक, स्थानीय तह, सामाजिक संस्था, सामुदायिक विद्यालयहरुले सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।
पटेर्वासुगौली गाउँपालिकाले २५ लाख उपलब्ध गराएको छ । जेठ ६ गते वीरगन्जको नगर सभागृहमा पर्साका प्रमुख राजनीतिक दलका नेतृत्व, १४ वटा पालिकाका प्रमुख र प्रदेश सभा सदस्यहरुको उपस्थितिमा भएको बैठकले पर्साका सबै पालिकाबाट ५ करोड र उद्योग वाणिज्य संघ लगायत उद्योगी ब्यवसायीबाट ५ करोड गरी जम्मा १० करोडको प्रकोप कोष स्थापना गर्ने निर्णय भएको थियो ।
मंगलबार ग्लोबल आइएमई बैंक वीरगंज शाखाको तर्फबाट एक लाख, पीसी मिडिया नेटर्वकबाट संचालित रेडियो सान्भी ९६.४ मेगाहर्जको तर्फबाट २५ हजार, महाविर मन्दिर समितिको तर्फबाट १ लाख एघार हजार, राजेश पाण्डेयबाट ५ हजार एक सय, राजेश्वर पाण्डेबाट ४ हजार पाँच हजार र अनिल वरनवालबाट ५ हजार दुईसय पचास प्रकोप कोषमा जम्मा गर्ने गरी नगर प्रमुख विजय कुमार सरावगीलाई चेक हस्तान्तरण गरेका छन् ।
यसअघि सोमबार पाठशाला वीरगन्जले ५० हजार, आशाकिरण संस्थाले २५ हजार, नेशनल एकेडेमीले २५ हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्