नेपाल भ्रमण वर्षको तयारी «

नेपाल भ्रमण वर्षको तयारी

नवनियुक्त पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पदबहाली गरेलगत्तै दुई निर्णय गरेका छन्, पहिलो सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक भित्र्या उने र सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने । सन् २०१७ को पर्यटक आगमनको स्तर हेर्दा पर्यटनमन्त्री अधिकारीले राखेको वार्षिक १५ लाख पर्यटकको लक्ष्य न महत्वा कांक्षी हो, न त असम्भव नै । अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको आफ्नै विशिष्ट पहिचान छ । यहाँको पर्यटन सम्भाव्यताको निकै सानो अंश मात्र नेपालले उपयोगमा ल्याउन सकेकोमा सायदै दुईमत होला । सही ढंगले बजारीकरण र व्यवस्थापन गर्ने हो भने नेपालमा वार्षिक १५ लाख मात्र होइन, २० लाखसम्म पर्यटक आउन सक्छन् । पर्यटकीय सुविधाहरूमा अझ विस्तार गर्न सकिए यो संख्या अझ बढ्न पनि सक्छ । पर्यटन बजार विस्तारका लागि नेपालले गर्नुपर्ने पहल कमजोर भएकै कारण आजका मितिसम्म पनि वार्षिक १० लाख पर्यटक संख्या पु¥याउन नसकिएको हो । बढी पर्यटक भित्र्या उनका लागि नाराले मात्र हुँदैन, त्यसका लागि पूर्वाधारसँगै सेवाको स्तरमा पनि सुधार हुनु आवश्यक छ । ‘गोरो-सेतो छाला’ भएका विदेशी देख्नेबित्तिकै जसरी हुन्छ, बढीभन्दा बढी ठगिहालूँ भन्ने मान्यताले पर्यटकीय क्षेत्रमा व्यवहार गरिन्जेल नेपालको पर्यटनको स्तर वृद्धि हुन्छ भनेर कल्पनासमेत नगरे हुन्छ । नेपालमा संख्यात्मक आधारमा पर्यटक त बढ्दै गएका छन्, तर गुणस्तरीय पर्यटकको संख्या पनि उत्तिकै घट्दै गइरहेको छ ।
कुनै पनि नयाँ पर्यटकीय अभियानहरू घोषणा गर्नुपूर्व विगतदेखि हालसम्म सञ्चालन गरिएका अभियानहरू किन लक्ष्यअनुसार सफल हुन सकेनन् भनेर तहगत विश्लेषण गरिनु जरुरी छ । वार्षिक ५ लाख पर्यटक पु¥याउने उद्देश्यसहित मनाइएको ‘भिजिट नेपाल इयर–१९९८’ देखि यसै वर्ष गैरआवासीय नेपाली संघले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गरिरहेको ‘अतिथि देवो भवः’ सम्म आइपुग्दा जहिल्यै संख्यात्मक रूपमा पर्यटक बढाउने कुरामा मात्र जोड दिइयो । पर्यटकहरूको संख्यात्मक वृद्धि जति आवश्यक छ, गुणात्मक वृद्धिले पनि उत्तिकै महत्व राख्छ । दशकौंदेखि सस्ता (ब्याक–प्याकर) पर्यटकको स्वर्गका रूपमा अन्तर्राष्ट्रिय पर्यटन बजारमा ख्याति कमाएको नेपालमा जतिसुकै पर्यटक संख्या बढे पनि त्यसले गार्हस्थ्य उत्पादनमा योगदान बढाउन सक्दैन ।
नेपालको पर्यटन विकासमा अहिलेसम्म निजी क्षेत्रले नै एकल रूपमा नेतृत्व लिँदै आइरहेको छ । सार्वजनिक–निजी साझेदारीमा स्थापना भएको नेपाल पर्यटन बोर्डको भूमिका नै पछिल्लो समयमा प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा पर्यटनमन्त्री अधिकारीले राखेको वार्षिक १५ लाख पर्यटकको लक्ष्य पूरा गर्न केही आधारभूत सुधार गर्नैपर्ने हुन्छ । सुधारको पहिलो कदम विमानस्थलहरूको स्तरोन्नति र क्षमता विस्तारबाट आरम्भ गरिनुपर्छ । अहिलेकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल र प्रमुख पर्यटकीय गन्तव्यका साँघुरा विमानस्थलबाट अधिक पर्यटक ल्याउने लक्ष्य हासिल हुन सक्दैन । सुधारको दोस्रो पक्ष पर्यटकीय गन्तव्यहरूमा आवश्यक पूर्वाधार विस्तार हुनैपर्छ । भूकम्पले भत्काएका सांस्कृतिक सम्पदाहरू अझै पुनर्निर्माण त भएका छैनन् नै, त्यसले बिगारेका कतिपय ट्रेकिङ ट्रेलहरू अझै पनि मर्मत–सम्भार भएका छैनन् । सुधारको अर्को महत्वपूर्ण कडी हो— आतिथ्य सत्कारसम्बन्धी नेपालीहरूको व्यवहारमा सुधार । देशैभरि पर्यटकप्रति गरिने व्यवहारमा सुधार गर्न कठिन हुने भए पनि कम्तीमा मुख्य पर्यटन गन्तव्यहरूमा पर्यटकलाई साँच्ची नै ‘अतिथि देवो भवः’को मर्मअनुसार स्वागत, सत्कार र अन्य आतिथ्यका व्यवहार गरिनु आवश्यक छ । यी सबै सुधारपछि अनि बल्ल नेपाल भ्रमण वर्ष मनाउने योजनाको सान्दर्भिकता रहन्छ ।

प्रतिक्रिया दिनुहोस्