सांसद मनाङ्गेविरुद्ध रेडकर्नर नोटिस जारी «

सांसद मनाङ्गेविरुद्ध रेडकर्नर नोटिस जारी

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई फरार रहेका प्रदेश सभा सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङ विरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले शुक्रबार मनांगेविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो । गत माघ २ गते सर्वोच्च अदालतले मनांगेलाई ज्यान मार्ने अभियोगमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चको फैसलापछि मनाङ्गे फरार छन् । रेडकर्नर नोटिस जारी भएसँगै मनाङ्गे विश्वका १ सय ९२ मुलुकका प्रहरीको खोजी सूचीमा परेका छन् । मनाङ्गे मंसिर १० गते सम्पन्न प्रदेश सभातर्फ मनाङ निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए । नेपाल प्रहरीको इन्टरपोल शाखा प्रमुख एसपी किरण बज्राचार्यले मनाङ्गेको खोजी गर्न रेडकर्नर नोटिस जारी गरिएको बताइन् । रेडकर्नर नोटिस सँगै प्रहरीले भारत, हङकङ, मलेसिया, थाइल्याण्ड लगायत मुलुकका प्रहरीलाई मनाङ्गेलाई पक्राउका लागि सहयोग गरिदिन आग्रह गरेको छ ।
२०६१ सालमा गुन्डा नाइके मिलन चक्रेमाथी खुकुरी हानी हत्या प्रयास गरेको अभियोगमा मनाङ्गेमाथी ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएकोमा जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद सजायको फैसला सुनाएको थियो । यो मुद्दा त्यसपछि पुनरावेदन अदालत पाटन पुग्यो । तर मनाङ्गे त्यहाँबाट थप ३ वर्ष सहित ५ वर्ष कैद सजायसहित दोषी ठहर भए । तर मनांगे बाहेकका गणेश लामा लगायत अन्य आरोपितलाई सफाइ दिने जिल्ला र पुनरावेदन अदालतको फैसला पुनरावलोकन माग गर्दै यो विषय सर्वोच्च अदालत पुग्यो । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डरीको इजलाशले पुनरावेदन अदालतकै फैसला अनुसार मनाङगेलाई दोषी ठहर र अन्य आरोपितलाई सफाई हुने फैसला गरेपछि मनाङगे फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्